समाज

पोखरा १३ मा राखिएको स्ट्रीट नम्बर के हो ?

'प्रविधि सँगसँगै हामी हिड्न तयार छौँ'

अतिन आचार्य |
माघ २२, २०८० सोमबार १६:२८ बजे

काठमाडौँ- तपाई पोखरा महानगरपालिका-१३ मा जाँदै हुनुहुन्छ ? आफ्नो गन्तव्य नपाएर र स्थान खोजेर हैरानी हुनुभएको छ ? अब त्यसो भए यो झन्झटबाट तपाईँले मुक्ति पाउनुहुनेछ ।

खोजेको स्थान तथा गन्तव्यमा पुर्‍याउँन वडाले टोल-टोलमा इन्टरनेटको सहायताले पुर्‍याउँन सहायता प्रदान गर्नेछ । इन्टरनेट प्रयोगकर्ताले चाहेको स्थान वा टोलमा गुगल एपमार्फत वा गुगल प्लस,क्युआर स्क्यानबाट चाहेको लोकेशनमा सहजै पुग्न सक्नेछन् ।


पोखरा १३ ले वडाबासी तथा नयाँ मानिसलाई खोजेको स्थानमा पुर्‍याउँन गुगल म्याप, गुगल प्लस कोड र स्ट्रीट गल्लीको व्यवस्था गरेको छ । गुगल प्लस कोडको सहायताबाट खोजेको ठाउँमा यात्री तथा सेवाग्राही सहजै  पुग्न सक्छन् ।  

वडाबासी तथा प्रयोगकर्ता आफूले चाहेको स्थानमा कसरी पुग्छन् ? पोखरा १३ मा गुगल स्ट्रीट कसरी सम्भव भयो ?

गुगलमा गुगल प्लस कोड हानेमा जान चाहेको स्थान र स्ट्रीट देखाउने वडाअध्यक्ष किरण बरालले बताए । प्रविधि सँगसँगै यात्रा गर्न र समयानुकूल चल्न यसको आवश्यकता देखिएकाले यो अवधारणा लागू गरिएको उनको भनाइ छ ।

उनका अनुसार गुगल प्लस कोड हान्नसाथ टोलको नाम तथा भित्री बाटोहरूकासमेत नाम आउँछन् । टोल-टोल र बाटाका नाम आएपछि भने यात्री तथा सेवाग्राहीहरूले खोजेको स्थान सर्च गरेर पुग्न सक्नेछन् ।

मुख्य १ देखि ५२ वटा सम्म स्ट्रीट रहेको बरालले बताए । पहिलो स्ट्रीट गौडामुखबाट सुरु भएर कसेडीमा पुगेर अन्त्य भएको छ ।

वडामा कुल सय वटा स्ट्रीट छन् । स्ट्रीट नम्बर र नामसहित गुगल कोड तथा क्युर आर स्क्यान राखिएको छ । बीपी मार्ग शाखा सडकदेखि ए,बि र सी जस्ता नाम दिएर ४८ गल्लीको नामाकरण गरिएको उनले बताए ।

गुगलमा प्लस कोड हान्नसाथ लोकेशन आउँछ । प्रयोगकर्ताले लोकेशन ट्रयाक गरेर जान सक्छन्, ’ उनले भने,’ गुगल चलाउने वा नक्सा म्यापिङ सम्बन्धी ज्ञान भएकालाई धेरै सहज हुन्छ ।‘

बरालका अनुसार एक स्ट्रीटको एउटा गुगल प्लस कोड ६ वटा नम्बरको हुन्छ । जुन स्ट्रीट जान चाहेको त्यहीँको मात्र गुगल प्लस कोड हान्नुपर्छ । अर्को लोकेशनका लागि भने फरक कोड प्रयोग हुन्छ ।

‘ १६ स्ट्रीट नम्बरमा जानुपर्ने भएमा सम्बन्धित व्यक्तिले १६ नम्बर स्ट्रीटको गुगल प्लस कोड पठाइदिनुपर्ने हुन्छ,’ अध्यक्ष कार्कीले अगाडि थपे,’ जान चाहने मानिसले पनि त्यहीँ कोड हानेर स्ट्रीट १६ को गुगल प्सल कोड हानेर पुग्न सक्छन् ।‘

गुगल प्लस चलाउन नजान्ने सामान्य मानिसका लागि भने क्यु आरको समेत व्यवस्था छ । आफूले जान चाहेको स्ट्रीटको कोडसहित क्युआर स्क्यान गरेपछि खोजेको गन्तव्यमा पुग्न सकिन्छ । प्लस कोड हान्न नजान्नेले क्युआर स्क्यान गरेपछि खोजेको लोकेशनमा पुग्न सकिने बरालले बताए ।

घर कन्सट्रक्सनले वडाको गुगल म्याप निर्माण गर्न करिब एक महिना सम्पन्न गरेको हो । वडाभरि ड्रोन उडाएर नक्सांकन गरेको थियो । वडामा रहेका मार्गहरूको नामसमेत देख्‍न सकिन्छ ।

‘वडाको नाम भेरिफाइ स्थानीय जनप्रतिनिधि तथा टोल विकाससंस्थाका अध्यक्षसँग समन्वय गरी नाम समावेश गरिएको छ,’ उनले भने,’ एक हप्तामा बाटोका नामहरू समावेश गरेका थियौँ । गुगल प्लस र क्युआर कोडका लागि ड्रोनबाट नक्सांकन गरिएको छ ।‘

त्यसैगरी, अध्यक्ष बरालले वडाबासीका निम्ति सहजता प्रदान गर्न इन्टरनेट र प्रविधिको पहुँच बढेसँगै यस्ता अवधारणा लागू गरिएको बताए । प्रविधिको विकाससँगै वडाले विकासका नयाँ-नयाँ अवधारणा लागू गर्न खोजिएको उनले बताए ।

‘वडामा कुनै नयाँ मानिस आएमा लोकेशन थाहा नपाएर झन्झट व्यहोर्ने गरेका हुन्छन्,’ बरालले भने,’ यो व्यवस्था लागू भएपछि लोकेशन थाहा नपाएर समस्या झेल्नु पर्दैन । लोकेशन खोज्न भनेर कोही कसैले आफ्नो अमूल्य समय खेर फाल्नुपर्ने छैन ।‘

बरालले विदेशमा लागू भएको अभ्यास आफूले प्रयोगमा ल्याउन चाहेको बताए । नयाँ कुराहरू अभ्यस्त भएमा सबैलाई सहज हुने उनले दाबी गरे । यो अभियानमा सहयोग पुर्‍याउँन नापी कार्यालय कास्कीको योगदान रहेको उनले सुनाए ।

पहिलो चरणमा स्ट्रीटको नाम राखिएको र दोस्रो चरणमा गुगलमा वडाभरको घर नम्बर राखिने घर कन्स्ट्रक्सन कम्पनीका इन्जिनियर सागर कार्कीले जानकारी दिए । उनका अनुसार यो प्रोजेक्ट निर्माण गर्न कुल लागत ८ लाख रुपैयाँ खर्च भएको छ ।


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x