समाज

महादेवको मूर्ति बनाउन रौतहट लगियो कालीगण्डकीको शिला

इकागज |
माघ २५, २०८० बिहीबार १७:१२ बजे

पर्वत- दामोदरकुण्ड र मुक्तिनाथबाट उत्पत्ति भई बहने पवित्र कालीगण्डकी नदी किनारका शिलाको महत्व दिन प्रतिदिन बढ्दै गएको छ । शालिग्राम शिला पाइने विश्वकै एक मात्र नदी कालीगण्डकी नदी किनारबाट मूर्ति निर्माण तथा शिला पूजनका लागि लैजाने क्रम बढ्दै गएको हो । 

भारतको अयोध्या र चितवनको माडीपछि रौतहट जिल्लाको गढीमाई नगरपालिका-७ धर्मपुरामा निर्माणाधीन शिव मन्दिरमा मूर्ति बनाउने प्रयोजनका लागि शिला लगिएको छ । पर्वतको जलजला गाउँपालिका-३ पर्वत बेनीस्थित कालीगण्डकी किनारबाट धर्मपुरामा रहेको हिन्दूहरूको धार्मिक स्थल गरिबनाथ शिव मन्दिरमा निर्माण गरिने गरिबनाथ शिव महादेवको मूर्ति बनाउन पूजाआजा गरी बुधबार शिला लगिएको हो । केही दिनअघि मन्दिर निर्माण समितिका पदाधिकारीहरू र कालीगण्डकी नदीका अध्येता कुलराज चालिसेसहितको टोलीले पर्वत बेनीको जुगेधारास्थित कालीगण्डकी नदी किनारमा ८ देखि १० टन तौल भएको उक्त शिलाको पहिचान गरेको थियो । पहिचान गरिएको शिलाको बुधबार बिहान पूजाआजा गरी दिउँसो ट्रकमा राखेर पठाइएको छ । 


क्रेनको सहयोगले नदीबाट निकालेर ट्रकमा राखेर पठाइएको पर्वतको जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले बताए । शिला पठाउन गाउँपालिकाले आवश्यक निर्णयसहित सघाएको थियो । स्थानीय समुदायको समेत सहभागितामा धुमधामका साथ शिलाको बिदाइ गरिएको थियो । गढीमाई नगरपालिकाले यही माघ २१ गते शिला पठाई सहयोग गरिदिन पालिकालाई पत्र पठाएको थियो । मुस्ताङको दामोदर कुण्डबाट उत्पत्ति भएर प्रसिद्ध धार्मिक स्थल गलेश्वर हुँदै बग्ने कालीगण्डकी नदीको शिला प्रयोग गरेर शिव महादेवको मूर्ति बनाउँदा धार्मिक पर्यटनको प्रवर्द्धन हुने र कालीगण्डकी नदीको थप प्रचारप्रसार हुने अध्यक्ष आचार्यले बताए । 

शिलाले रौतहट, गलेश्वर, मुक्तिनाथबीच धार्मिक र सांस्कृतिक सम्बन्धलाई जोड्नुका साथै धार्मिक पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने पालिका अध्यक्ष आचार्यले बताए । उनले भने, ‘कालीगण्डकी नदीको शिला रौतहटस्थित निर्माणाधीन गरिबनाथ मन्दिरमा लैजानुले कालीगण्डकी नदीको धार्मिक र सांस्कृतिक महत्वलाई उजागर र प्रचारप्रसार गर्न थप सहयोग मिल्ने छ ।’ 

शिला लैजान आएका गढीमाई नगरपालिका-७ का स्थानीय सुरजभान कुसवाहाले भने, ‘अहिले गढीमाईको धर्मपुरमा शिव मन्दिर निर्माणाधीन छ । मुस्ताङको दामोदर कुण्डबाट उत्पत्ति भएर प्रसिद्ध धार्मिक स्थल गलेश्वर हुँदै बग्ने कालीगण्डकी नदीको शिला प्रयोग गरेर शिव महादेवको मूर्ति बनाउन आवश्यक भएकाले शिला लैजान लागेका हौँ । यहाँको शिलाबाट मूर्ति बनेपछि हाम्रो धार्मिक स्थलको महत्व बढ्ने विश्वास गरेका छौं ।’

हिन्दू धार्मिक मान्यताअनुसार शालिग्राम पाइने भएकाले कालीगण्डकी आफैँमा पवित्र नदी मानिन्छ । त्यसमा पनि कालीगण्डकी किनारमा ऋषिहरू पुलह, कपिल र जडभरतले तपस्या गरी सिद्धि प्राप्त गरेको पौराणिक मान्यता भएकाले यस क्षेत्रको शिला धार्मिक हिसाबले महत्वपूर्ण हुने धार्मिक व्यक्तिहरूको भनाइ छ । कालीगण्डकी नदीको निरन्तर जलप्रवाहले पवित्र बनेका शिलाबाट मूर्ति बनाउन राम्रो हुने विश्वास गरिएको छ ।

कालीगण्डकीबाट लगिने शिलालाई उत्सवको रूपमा गढीमाई नगरपालिका परिक्रमा गरी मन्दिरमा लगिने भएको छ । यसअघि कालीगण्डकी नदीकै किनारबाट दुई वटा शिला भारतको हिन्दूहरूको प्रसिद्ध धार्मिक स्थल अयोध्यामा निर्माणाधीन श्रीराम जन्मभूमि मन्दिरमा लगिएको थियो । 

शालिग्रामलाई हिन्दू धर्मावलम्बीले विष्णुको अवतारका रूपमा पुज्ने गर्छन् । नेपालका प्रमुख हिमनदीमध्ये कालीगण्डकी पनि एक हो । हिन्दूहरूको पवित्र तीर्थ स्थल दामोदरकुण्ड क्षेत्रबाट उत्पत्ति भई आउने गण्डकी र मुक्तिनाथबाट उत्पत्ति भएको कागखोला कागबेनी भन्ने स्थानमा भेट भएपछि यसलाई कालीगण्डकी भनिएको हो । रासस 


Author

थप समाचार
x