समाज

काठमाडौँ–पूर्व बस एउटै व्यवस्थापनमा सञ्चालन हुने

इकागज |
फागुन २७, २०८० आइतबार १२:५३ बजे

फाइल फोटो

काठमाडौँ - काठमाडौँबाट मुलुकको पूर्वी क्षेत्रमा जाने सार्वजनिक सवारीसाधन एउटै व्यवस्थापनमा सञ्चालन सुरु गरेका छन् । यसअघि छुट्टाछुट्टै कम्पनी र छुट्टाछुट्टै व्यवस्थापनमा सञ्चालन हुँदै आएका पूर्व क्षेत्रका सार्वजनिक सवारीसाधन पछिल्लो समय ‘पूर्व यातायात व्यवस्थापन प्रालि’मार्फत सञ्चालन हुन थालेका हुन् । 

पूर्वबाट काठमाडौँ आउने सवारीसाधन ‘झापा संयुक्त यातायात व्यवस्थापन’ बाट सञ्चालन हुँदै आएका छन् । पूर्व यातायात व्यवस्थापन प्रालिका सल्लाहकार श्री श्रेष्ठले पछिल्लो समय धराशायी बन्दै गएको नेपालको सार्वजनिक यातायात क्षेत्रलाई व्यवस्थित ढङ्गले सञ्चालन गर्नका लागि आजदेखि एउटै व्यवस्थापनको सुरुआत गरिएको जानकारी दिए । 


एउटै व्यवस्थापनमा सञ्चालन भएसँगै अब काठमाडौँबाट काँकडभिट्टा, भद्रपुर, तेह्रथुम, खाँदबारी, ताप्लेजुङ, भोजपुर, इलाम, पशुपतिनगर, धरान, विराटनगर, रङ्गेली, बुधबारे, बनियानी, गाईघाट, लहानलगायतमा सम्बन्धित क्षेत्रका टिकट काउण्टरमार्फत सञ्चालन हुनेछन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घअन्तर्गत देशभरका तीस भन्दाबढी प्रालिमार्फत छुट्टाछुट्टै रुपमा सञ्चालन हुँदै आएका बस एउटै व्यवस्थापनमा सञ्चालन हुन थालेपछि यात्रुलाई सहज भएको छ । हाल काठमाडौँबाट पूर्वमा घोडाघोडी यातायात, विनायक, प्राइम, मितेरी, गोल्डेन गुगल, बिराट, स्वयम्भू नेशनल, मेची एयर, अग्नि, रकेट, बिहानी, बुलेट, महालक्ष्मी, मेट्रो कोसी, रक्षक, सुप्रिमलगायत कम्पनीका बस सञ्चालन हुँदै आएका छन् ।

संयुक्त व्यवस्थापनका लागि आवश्यक मार्गनिर्देशन, राय तथा सुझाव प्रदान गर्नका लागि पूर्व यातायात व्यवस्थापन प्रालिले यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौला र अग्रज यातायात व्यवसायी श्रीप्रसाद मैनाली सम्मिलित पाँच सदस्यीय समिति बनाएको छ ।

पूर्व यातायात व्यवस्थापन प्रालिका सञ्चालक राजेन्द्र थापाले व्यवसायीबीच रहेको अस्वस्थ प्रतिस्पर्धा कम गर्दै दुर्घटना रोक्नका लागि उक्त व्यवस्थापनले सहयोग पुग्ने बताए । उक्त व्यवस्थापनले व्यवसायीको लगानीलाई सुरक्षित गर्दै व्यवसायलाई संरक्षण  र सम्बर्द्धन गर्ने उल्लेख गरे।

यसअघि काठमाडौँ महानगरपालिकाले महानगरभित्र जथाभावी रुपमा सञ्चालनमा आएका टिकट काउण्टरलाई व्यवस्थित गरी ट्राफिक व्यवस्थापनलाई चुस्त, दुरुस्त र यात्रीमैत्री बनाउन उपत्यका बाहिर सञ्चालित यात्रुबाहक बसले अनिवार्य रुपमा कामपामा दर्ता गराउनुपर्ने निर्णय गरेको थियो ।

महानगरले उक्त निर्णयलाई बेवास्ता गरेर आफूखुसी टिकट बुकिङ कार्यालय तथा काउण्टर खोलेको पाइएमा हटाउने बताएपछि यातायात कम्पनीहरुले एउटै व्यवस्थापन बनाएर सञ्चालन सुरु गरेका हुन् ।
रासस


Author

थप समाचार
x