समाज

बैतडीमा कोदालो प्रहार : एकको मृत्यु, दुई कर्मचारीको हेलिकप्टरबाट उद्धार

इकागज |
चैत ८, २०८० बिहीबार १८:५९ बजे

फाइल तस्बिर

बैतडी- बैतडीमा कोदालो प्रहारबाट गम्भीर घाइते भएकामध्ये एक जनाको मृत्यु भएको छ । दुई घाइतेको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ ।

जिल्लाको डिलाशैनी गाउँपालिका-७ धामीगाउँका ६२ वर्षीय किसनसिंह धामीको कोदालो प्रहारबाट उनकी ५६ वर्षीया श्रीमती पार्वती धामीको मृत्यु भएको हो । कोदालो प्रहारबाट गम्भीर घाइते भएकी पार्वतीको उपचारका लागि स्थानीय स्वास्थ्य चौकीमा पुर्याउँदा मृत्यु भएको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए । 


यस्तै गम्भीर घाइते भएका दशरथचन्द नगरपालिका-९ घर भएर डिलाशैनी गाउँपालिका उद्यम विकास शाखा प्रमुखका रूपमा कार्यरत २९ वर्षीय सुभाष कलौनी र डिलाशैनी गाउँपालिकामा कार्यालय सहयोगीका रूपमा कार्यरत २६ वर्षीय देवराज भट्टलाई हेलिकप्टरबाट उद्धार गरिएको छ । कलौनी र भट्टलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी थप उपचारका लागि कोहलपुर मेडिकल कलेज लगिएको प्रहरीले जनाएको छ । 

आज बिहान ९ बजे किसनले आफ्नी श्रीमतीलाई कोदालो प्रहार गरेको र त्यसपछि उनकै घरमा डेरा गरी बसेका कलौनी र भट्टमाथि पनि कोदालो प्रहार गरेको जनाइएको छ । किसनले कोदालो प्रहार किन गरे भन्नेबारे खुल्न सकेको छैन । कोदालो प्रहार गर्ने किसनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

घटनाबारे अनुसन्धान गर्न  जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक खेमविक्रम केसी नेतृत्वको टोली घटनास्थलतर्फ गएको छ । रासस


Author

थप समाचार
x