समाज

खराब मौसमका कारण दुई सय बढी विदेशी पर्यटक मन्थलीमा रोकिए

इकागज |
चैत १६, २०८० शुक्रबार २१:२० बजे

फाइल तस्बिर

रामेछाप- विगत तीन दिनदेखि सोलुखुम्बुको लुक्लामा मौसममा आएको खराबीका कारणले मन्थलीमा दुई सयभन्दा बढी विदेशी पर्यटक रोकिएका छन् ।

आज बिहानदेखि नै उडान नभएपछि लुक्ला जाने पर्यटक  हेलिकप्टर चार्टर गरेर सोलुको सुर्केसम्म गएका छन् । कोही पर्यटक मन्थलीबाट सडक मार्ग हुँदै गाडीमा फाप्लु गएको नागरिक उड्डयन प्राधिकरण रामेछापका निमित्त कार्यालय प्रमुख पूजा थापाले बताइन् ।  


'सोलुखुम्बुको लुक्ला विमानस्थलमा भिजिबिलिटी कम हुँदा सीता, तारा र समिट एयरका विमान रामेछापको मन्थलीमै  होल्ड गरिएको छ,' नागरिक उड्डयन प्राधिकरण मन्थलीका वरिष्ठ अधिकृत प्रज्ज्वल गुरागाईंले भने । केही दिनयता मौसममा आएको खराबीको कारण नियमित सहज उडान हुन सकिरहेको छैन । भिजिबिलिटी कम भएपछि अहिले रामेछाप विमानस्थलबाट हेलिकप्टरले चार्टर उडान गरिरहेको हो । 

गुरागाईंका अनुसार ‘यहाँबाट हेलीले सोलुकै सुर्के उडान गरिरहेको छ । दुईसय जनाभन्दा बढी यात्रु मन्थली मै रोकिएका छन् । मन्थलीमा कुनै समस्या छैन तर लुक्लाको मौसमले समस्या भएको कारण जहाज पठाउन सकिएको छैन । आज दिनभर रामेछापको आकाशमा हेलिकप्टरको चार्टर उडान मात्र भएका छन् । 

यही चैत १२ गतेदेखि रामेछाप विमानस्थल (मन्थली–लुक्ला) उडान सुरु भएको थियो । सगरमाथालगायत प्रवेश गर्ने पर्यटक मन्थलीसम्म गाडीमा ल्याएर यहाँबाट उडान हुँदै आएको छ । रासस


Author

थप समाचार
x