समाज

सप्तरीकाे पहिलाे हाेमस्टे थप व्यवस्थित बनाइँदै

इकागज |
भदौ ६, २०७८ आइतबार ८:३९ बजे

सप्तरी - सप्तरीको पहिलो र प्रदेश नं २ को दोस्रो घरबास (होमस्टे) रहेको कञ्चनरूप नगरपालिकामा पर्यटन विकाससम्बन्धी आधारभूत तालिम सम्पन्न भएको छ । स्थानीयवासीलाई होमस्टे सञ्चालन र विभिन्न किसिमका परिकार बनाउन सहयोग पु-याउने उद्देश्यले दिइएको चारदिने तालिम सम्पन्न भएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय तारागाउँ विकास समिति मध्यबानेश्वर काठमाडौँद्वारा दिइएको तालिममा ३५ जनाको सहभागिता रहेको थियो ।

होमस्टेका लागि अपनाउनुपर्ने मापदण्ड, पाहुनालाई स्वागत गर्ने तरिका, स्थानीय उत्पादित वस्तुका परिकार, अग्र्यानिक खाना, बासको व्यवस्था, नेपाली र थारू संस्कृति, आधुनिक परिकारका बारेमा तालिम प्रदान गरिएको प्रमुख प्रशिक्षक लीलाप्रसाद तिमिल्सिनाले बताए । तालिममा टङ्कप्रसाद चापागाईँ, मनोज बस्नेत, रामप्रसाद कँडेलले छुट्टाछुट्टै विषयमा तालिम प्रदान गरे ।


कञ्चनरूप नगरपालिका–६ जमुवामा पर्यटकका लागि आठवटा होमस्टे सञ्चालनमा छ । यहाँ आउनेहरूका लागि विसं २०७५ वैशाखदेखि खाना र बासको व्यवस्था रहेको छ । जैविक विविधतासँगै पारिवारिक वातावरणमा ग्रामीण जीवनशैलीको स्वाद चाख्न होमस्टे आउने पर्यटकलाई कसरी स्वागत तथा सत्कार गर्ने, उनीहरूलाई कस्ता परिकार खुवाउने र होमस्टेको सरसफाइ कसरी गर्नेलगायतका विषयवस्तुको तालिम पाएर होमस्टेले प्रदान गर्ने सेवा थप प्रभावकारी बन्ने पूर्वपिप्रा धरमपुर घोघनपुर मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष बच्चुलाल चौधरीले विश्वास व्यक्त गरे ।

तालिम समापनका अवसरमा प्रमाणपत्र वितरण गर्नुहुँदै कञ्चनरूप नगरपालिका प्रमुख वसन्तकुमार मिश्रले पर्यटनको अभिन्न अङ्ग मानिने होमस्टेको माध्यमबाट प्राकृतिक र सांस्कृतिकरूपले सम्पन्न जमुवामा ढलानको सडक निर्माण गर्ने प्रतिबद्धता जनाए। ग्रामीण क्षेत्रमा पर्यटन प्रवद्र्धन गर्दै स्थानीय जनतालाई पर्यटन व्यवसायमा सहभागी गराई जीवनस्तरमा समेत ठुलो सुधार ल्याउन नगरपालिकाले बजेट विनियोजन गर्ने उनकाे भनाइ छ ।

ग्रामीण पर्यटनमा रमाउने पर्यटकलाई सुलभ, सरल र सहज वातावरणमा स्थानीय परिकार, कला, संस्कृति पस्किँदै आफ्नो कला, संस्कृति, रीतिरिवाज र इतिहासका बारेमा नयाँ पुस्तालाई सिकाउनुपर्ने नगरप्रमुख मिश्रले बताए ।

आत्मनिर्भर बनाई स्वदेशमै आयआर्जन गर्न र सक्षम बनाउन तालिमले ठूलो सहयोग पुगेको प्रशिक्षार्थीहरू महेन्द्र चौधरी र हीराकुमार बिसीले बताउँछन् । थारू सामुदायिक होमस्टे र थारू सङ्ग्राहलयको स्थापना, निर्माण र विकासमा योगदान पु-याएको भन्दै कोशी टप्पु वन्यजन्तु आरक्षका तत्कालीन प्रमुख संरक्षण अधिकृत रामदेव चौधरी, डिभिजन वन कार्यालय सप्तरीका प्रमुख सन्तोषकुमार झा, आइडिएस नेपालका टिमलिडर छोटेलाल चौधरी, जैविक विविधता संरक्षणविज्ञ नन्दलाल माझी र पत्रकार मनोहर पोखरेललाई कार्यक्रममा सम्मानित गरियो ।

होमस्टेका अध्यक्ष विष्णुदेव चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा सप्तरी जिल्लाभरि सर्वोत्कृष्ट नगरपालिका घोषित भएकामा नगरप्रमुख मिश्र र प्रमुख प्रशासकीय अधिकत नवराज खड्कालाई सम्मान गरिएको थियो । थारू सामुदायिक होमस्टे र पूर्वपिप्रा धरमपुर घोघनपुर मध्यवर्ती उपभोक्ता समितिले सम्मान प्रदान गरेको हो ।

स्थानीय थारू अगुवाहरुले समुदायको ऐतिहासिक रहनसहन, रीतिरिवाज, कला, संस्कृति र जनजीवनलाई जीवन्त राख्न तथा जमुवालाई पर्यटकीय केन्द्र बनाउने उद्देश्यले ०७५ वैशाखमा थारू सामुदायिक होमस्टे सञ्चालनमा ल्याएका हुन् । सोही ठाउँमा २०७७ कात्तिकमा थारू सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण भएको छ ।

आफ्नो कला, संस्कृति, भाषा, वेषभूषा अमूल्य सम्पत्ति भएको र यसको संरक्षणमा आफैँ लाग्नुपर्छ भन्ने सोचले होमस्टेपछि थारू सांस्कृतिक सङ्ग्राहलय सञ्चालनको तयारी भइरहेको होमस्टेका अध्यक्ष विष्णुदेव चौधरीले बताए ।

होमस्टे क्षेत्र नजिकै अर्ना, हात्ती, साइबेरियन चराहरू पाइने कोशीटप्पु वन्यजन्तु आरक्ष, चन्द्रशम्सेर राणाले बनाएको नेपालकै जेठो चन्द्र नहर, प्रसिद्ध धार्मिकस्थल चतरा र बराह क्षेत्र, त्रियुगा र सप्तकोशी नदी, सामुदायिक वन, चुरे क्षेत्र, कमल दहलगायत प्रसिद्ध धार्मिकस्थल रहेकाले होमस्टे र सङ्ग्रहालयलाई आयआर्जनको आधार बनाएर सांस्कृतिक हबका रूपमा विकास गर्न खोजिएको बच्चुलाल चौधरी बताउँछन् ।रासस


Author

थप समाचार
x