समाज

‘लागूऔषध प्रयोग र ओसारपसार विश्वकै चुनौती’

इकागज |
असोज १, २०७८ शुक्रबार १७:३७ बजे

फाइल फोटो

काठमाडौँ - प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले लागूऔषधको अबैध ओसारपसार र प्रयोग विश्वकै साझा चुनौती भएको बताएका छन् । उनले लागूऔषध उत्पादन, खरिद बिक्री, सञ्चय, ओसारपसार र उपभोगको वृद्धि हुँदै जानुले समस्या बढाइरहेको उल्लेख गर्दै कुलतमा फसेका युवालाई राष्ट्र निर्माणको बाटोमा ल्याउनु सबैको सामाजिक दायित्व रहेको बताए । 

आसरा सुधार केन्द्र रानीबारीको २५ औँ वार्षिकोत्सव तथा रजतजयन्ती समारोहमा प्रहरी महानिरीक्षक थापाले लागूऔषध सेवनकर्ताको उपचार र पुनःस्थापनाको जिम्मेवारी नेपाल प्रहरीको कार्यक्षेत्रभन्दा बाहिर रहे पनि नेपाल प्रहरी श्रीमती सङ्घद्वारा सञ्चालित केन्द्रले स्थापनाकालदेखि नै पुनःस्थापन कार्यक्रम अघि बढाएकोमा प्रशंसा गरे । लागूऔषध दुव्र्यसनमा फसेका मानिसलाई नयाँ जीवन दिन केन्द्र सफल भएको उनले बताए ।


केन्द्रकी अध्यक्ष सिर्जना थापाले सोही केन्द्रमा उपचाररत सदस्यलाई शारीरिक व्यायम तथा प्रशिक्षण प्रदान गर्न बनाइएको व्यायमशालाको उदघाटन गरे । सो अवसरमा केन्द्रका परामर्शदाता तथा बाह्य प्रशिक्षक, आसरा सुधार केन्द्र पानवारी धरान र महिला आसरा सुधार केन्द्र तिलगङ्गालाई प्रशंसापत्र प्रदान गरिएको थियो । उनले नेपाल पुलिस स्कुल सामाखुशीमा अध्ययनरत दुई विद्यार्थीलाई एक वर्षको मासिक छात्रवृत्ति प्रदान गरेका थिए । 

समारोहमा केन्द्रकी पूर्व अध्यक्ष सीमा अर्याल, पूर्व प्रहरी नायव महानिरीक्षक विमला थापा र केन्द्रकी पूर्व सचिव रम्भा लामालाई सम्मान गरिएको थियो । रासस 
 


Author

थप समाचार
x