समाज

पर्याप्‍त कर्मचारी र स्थान अभावमा सास्ती

हट्यो पासपोर्टको लाइन, राष्‍ट्रिय परिचयपत्र लिन सेवाग्राही बिहान ३ बजेदेखि लाइनमा

अतिन आचार्य |
मंसिर २३, २०७८ बिहीबार ७:५१ बजे

काठमाडौँ- जिल्ला प्रशासन कार्यालय काठमाडौँको प्राङ्गणमा बुधबार मध्यान्ह १२ बजे सप्‍तरीका नरेन्द्र यादव भेटिए । उनले कठयाङ्ग्रिदो चिसोमा बिहानै ३ बजे कार्यालय परिसर पुगेको सुनाए ।

उनी नागरिकता, पासपोर्ट वा कुनै सार्वजनिक मुद्दाको तारिख धाउन आएका थिएनन् । यादव ई-पासपोर्टका लागि राष्‍ट्रिय परिचयपत्र बनाउन कार्यालयमा गएका हुन् । लाइनमा बसेको १० घण्टा भइसक्दा पनि पालो नआएको उनले गुनासो गरे ।


पछिल्लो समय राहदानी विभागले ई-पासपोर्ट प्राप्त गर्न राष्‍ट्रिय परिचयपत्र अनिवार्य गरेको छ । राष्‍ट्रिय परिचयपत्र यादवसँग नभएकाले पासपोर्टका लागि उनी त्यहाँ गएका थिए ।

यादवले लाइनमा बस्दा पनि सहजै पालो पाएका थिएनन् । जिल्लाबाट राष्‍ट्रिय परिचयपत्र दिने व्यवस्था गरेको भए चिसोमा काठमाडौँसम्म आएर दुखः नपाइने उनको भनाइ छ । उनी कतार जानुपर्ने भएकाले यहीँ महिनामा पासपोर्ट बनाउन आएका हुन् । परिचयपत्र समयमा नपाएमा नरेन्द्रको यो महिनामा कतार जाने बाटो बन्द हुन्छ ।

त्यसैगरी महोत्तरीबाट आएका बलराम मगरको पनि नरेन्द्रको जस्तै समस्या छ । दुई दिनदेखि लगातार आए पनि परिचयपत्रको लागि फारम दर्ता हुन नसकेको उनले बताए । सरकारले जिल्लामा व्यवस्था गरेको भए भीड गरेर नबस्‍ने उनले सुनाए । 

दुई दिनसम्म राष्‍ट्रिय परिचयपत्रको आवेदन दर्ता हुन सकेन

'राहदानी बनाउन राष्‍ट्रिय परिचयपत्र जरुरी हुन्छ भन्‍ने थाहा भए अगाडि बनाउथे,' उनले भने,' जिल्लामा पनि परिचयपत्र बनाउनका लागि कुनै पनि सरकारी कर्मचारी पुगेका छैनन् ।'

राहदानी विभागले एमआरपी पासपोर्ट वितरणका लागि टोकन बन्द गरिसकेको छ । केहीदिन अघिसम्म एमआरपी पासपोर्ट प्राप्त गर्न रातको २ बजेदेखि सेवाग्राहीहरू लाइन बसेका दृष्‍टान्त ताजै छन् । अहिले पनि टोकन प्राप्‍त गर्नेले मात्र एमआरपी पासपोर्ट बनाइरहेका छन् । पासपोर्ट जस्तै ई-पासपोर्ट जारी भएपछि राष्‍ट्रिय परिचयपत्र प्राप्त गर्न नागरिकहरू लाइनमा बस्‍न थालेका छन् ।

राष्‍ट्रिय परिचयपत्रका लागि काठमाडौँ ,ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयबाट आवेदन दिने गरेका छ्न् । हाल उपत्यका बाहिरका नागरिकहरूले ई-पासपोर्ट बनाउन काठमाडौँ आउनुपर्ने बाध्यता छ ।

ई-पासपोर्ट लागू भएपछि राष्‍ट्रिय परिचयपत्र बनाउनेहरूको भीड बढ्न थालेको प्रशासनले जनाएको छ । काठमाडौँका मात्र नभई बाहिरका मानिसहरू आएकाले बढी भीडभाड भएको हुन सक्ने प्रशासनले प्रस्ट पारेको छ । सरकारले विद्युतीय राहदानीमा फड्को मार्‍यो तर,तत्काल केन्द्रलाई मात्र लक्षित गरी पासपोर्ट वितरण गर्दा नागरिकले सास्ती पाएका छन् ।

प्रशासनले सहजीकरण मात्र गर्ने भएकाले राष्‍ट्रिय परिचयपत्रको जिम्मा नहुने सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बताए । कम्प्युटर अप्रेटरको संख्या कम भएकाले फारम भर्न ढिलाइ भएको उनको भनाइ छ । उनकाअनुसार दैनिक चार सयदेखि पाँचसय सेवाग्राही आउने गरेका छन् । बढी भीडभाड भएकाले टोकनको व्यवस्था गर्न थालिएको छ ।

ई-पासपोर्ट जिल्लामा पुगेपछि लाइन बस्‍ने झन्झट हट्ने

राहदानी विभागको इन्ड्रोलमेन्ट सबै जिल्लामा नभएसम्म केही समयका लागि राष्‍ट्रिय परिचयपत्र बनाउन समस्या हुने राष्‍ट्रिय परिचयपत्र तथा पञ्‍जिकरण विभागका महानिर्देशक तिर्थराज भट्टराईले बताए । उनकाअनुसार विभागको इन्ड्रोलमेन्ट सबै जिल्लामा नेटवर्किङ सिस्टम र डाटा इन्ट्री नभएकाले काठमाडौँमा मानिसको चाप बढेको छ ।

परिचयपत्र बनाउन केन्द्र थपेर लगेको भट्टराईले जानकारी दिए । ललितपुरमा पाँच वटा रहेको उनले जानकारी दिए । 'काठमाडौँमा ४ वटा छ त्यहाँ स्थान अभाव भएकाले स्टेशन थपेर लैजान लागेका छौ,' उनले भने,' राहदानी विभाग नारायणहिटीमा पाँच वटा पुर्‍याउने छौ ।'

सेवाग्राहीको काम छिटो सक्न सिंहदरबारको कर्मचारी मिलाएर पनि काम गरिरहेको भट्टराईले जानकारी दिए । जनशक्ति र सूचना प्रणालीलाई व्यवस्थापन गर्ने काम भइरहेको उनको भनाइ छ । स्टेशन थप्दा कर्मचारी पनि थप गर्ने भएकाले सेवाग्राहीको सास्ती हट्ने उनले दाबी गरे ।

सेवाग्राहीले नारायणहिटी, सिंहदरबार र काठमाडौँ प्रशासनमा जान नपर्ने भट्टराईले बताए । अनलाइनबाट भरेर प्रि इन्ड्रोलमेन्ट गरिसकेर भर्न सकिने उनको भनाइ छ । टोकन प्राप्‍त भएपछि परिचयपत्र बनाउने स्टेशनमा गएर काम गर्न सकिने उनको जोड छ ।

भट्टराईले दुई सातासम्म सेवाग्राहीलाई अझै पनि गाह्रो हुने बताए । राहदानी विभागले जिल्ला-जिल्लामा छिटो-छिटो स्टेशन केन्द्र बनाए सेवाग्राहीलाई सहज हुने उनले प्रस्ट पारे ।

दुई सातामा उपत्यका बाहिरका जिल्लाबाट आवेदन

राहदानी विभागका निर्देशक शरदराज अरनका अनुसार दुई सातापछि जिल्लाबाट ई-पासपोर्टका लागि आवेदन दिन सकिने गरी काम भइरहेको छ । बढी पासपोर्ट जारी हुने जिल्लाबाट सुरुवात गरिने उनले बताए ।

सुरुवातीमा उपत्यकाका जिल्लाबाट मात्र ई-पासपोर्ट जारी हुने गरी काम गरिरहेको अरनको भनाइ छ । सरकारले ६ महिनाअघि राष्‍ट्रिय परिचयपत्र बनाउनका लागि आग्रह गरेको थियो । पासपोर्ट बनाउनका हतार हुँदा सेवाग्राहीले कार्यालयमा भीड गरिरहेको उनको भनाइ छ ।

'टोकन नभएका सेवाग्राहीलाई आवश्यकताका आधारमा पनि एमआरपी पासपोर्ट वितरण गरिएको छ,' उनले भने । सेवाग्राहीले अनलाइनबाट काम गर्न नसक्दा पनि समस्या भइरहेको हुन सक्ने उनको ठहर छ ।


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x