खेलकुद

दिलीप क्षेत्री: नेपाली बुफोन

प्रविणबिक्रम कट्‍वाल |
कात्तिक १, २०७७ शनिबार १०:० बजे

काठमाडौं । अन्तर्राष्ट्रिय फुटबलमा खासै उपलब्धि हासिल नगरेका तर खेलमा बलियो ‘क्रेज’ भएका मुलुकहरुमा एउटा चाखलाग्दो समानता छ । विदेशका ठूला खेलाडीसँग आफ्ना घरेलु स्टाहरूको तुलना गर्ने हाम्राे परिपाटी छ । तुलना कसले गरिदिन्छ भन्दा फ्यान (प्रशंसक ) ले अनि कतिपय अवस्थामा मिडियाले । तुलना खेल स्तरका आधारमा नभई शैलीका आधारमा। अझ भनौं अरु धेरै कारणहरुले पनि। त्यसमध्ये हो लामो समयसम्मको योगदानका आधार ।

अब कुरा गरौं गोलकिपर दिलीप क्षेत्रीको । ०५७ देखि ०७६ सालसम्म निरन्तर घरेलु फुटबलमा आरसिटीको गोलपोस्ट सम्हालेका दिलीप रुपन्देही जिल्लाका उत्पादन हुन् । उनले ०६० सालदेखि आरसिटी दोस्रो श्रेणीमा घटुवा नभएसम्म नेपालको उपल्लो दर्जाको लिगहरु सहिद स्मारक ए डिभिजन तथा राष्ट्रिय लिगमा सधै पहिलो रोजाईको गोलकिपरका रुपमा खेले ।


दिलीपलाई उनका साथीभाई तथा समर्थकहरुले नेपाली 'बुफोन'का नामले बोलाउँछन् । त्यसो त बुफोनलाई दिलीप आफ्नो आइडल पनि मान्छन्। यो तुलना खेल स्तरका आधारमा नभई लामो समयसम्म खेलेका आधारमा हो। महान इटालियन गोलरक्षक बुफोनका बारेमा धेरै लेखिरहनु/भनिरहनु आवश्यक छैन्। सन् १९९५ मा पार्माबाट इटालियन 'सिरी ए' बाट आफ्नो खेल जीवन सुरु गरेका बुफोन अहिले ४२ वर्षको उमेरमा पनि सक्रिय खेल जीवनमै छन् । त्यस्तै दिलीपले पनि आरसिटीका लागी ४० वर्षको उमेरसम्म खेले ।

दिलीपको फुटबल करियर गृहनगर बुटवलबाटै सुरु भयो । ‘साधरणतय बच्चाहरु मिडफिल्ड, स्ट्राइकर अथवा डिफेन्डर बन्न चाहन्छन् । तर मलाई चाही गोलकिपर नै बन्नु थियो । मेरो उचाई अनि खेल कौशलले गर्दा पनि होला मलाई आफूभन्दा सिनियरहरुले आफ्नो टिममा छान्थे,’ दिलीपले बाल्यकाल सम्झिँए । स्कुले जीवन नसकिँदै दिलीपले जिल्ला स्तरीय प्रतियोगिताहरु खेल्न थाले । उनलाई जिल्लाकै विभिन्न क्लबहरुबाट खेल्न 'अफर' आउथ्यो । स्कूल स्तरिय प्रतियोगितादेखि जिल्लास्तरिय क्लबसम्मको यात्राका लागि उनलाई सहयोग गर्ने थिए स्थानीय फुटबल प्रशिक्षक दयाराम सापकोटा । नेपाल जस्तो मुलुकमा प्रतिभा पहिचान गर्ने संस्थागत स्काउटिङ सिस्टम हुँदैन । उनै दयारामले दिलीपको पहिचान गरे र व्यवसायिक फुटबलमा बढुवा हुन मद्दत गरे । अनि काठमाडौं केन्द्रीत नेपालको उपल्लो लिग खेल्नका लागि आरसिटीका कप्तान मधु क्षेत्रीले सहयोग गरे । संयोग कस्तो रह्यो भने उनै मधुपछि आरसिटीको कप्तानी दिलीपकै काँधमा आयो । र, उनी करिब १० वर्षसम्म आरसिटीको कप्तान रहे । दिलीप आरसिटीमा कहिले पनि दोस्रो रोजाइको गोलकिपर बन्नु परेन । धेरै गोलकिपरले सधैं दोस्रो रोजाईको भएर बस्नुपर्ने अथवा पहिलो रोजाईमा पर्न क्लब नै परिवर्तन गर्नुपर्ने अवस्थामा दिलीपको यो उपलब्धि आफैमा एउटा महत्वपूर्ण रह्यो । 

लामो समयसम्म घरेलु फुटबलमा जमेर पनि राष्ट्रिय टोलीमा नपर्ने थोरै खेलाडी मध्येका  दिलीप एक हुन् । उमेर समूहमा भने एकपटक उनले नेपालको प्रतिनिधित्व गर्ने मौका पाएका थिए । पहिलो रोजाईका विकास मल्ललाई सञ्चो नभएपछि प्रशिक्षक कृष्ण थापाले दिलीपलाई मौका दिएका थिए । त्यो खेल नै दिलीपले मुलुकका लागि खेलेको पहिलो र अन्तिम खेल बन्यो ।

‘मैले अनुशासित भएर मेहेनत गरे । क्लब अनि गुरुहरुले विश्वास गर्नुभयो त्यसकारण लामो समयसम्म पहिलो रोजाईको गोलकिपर भएर खेल्न पाएँ । त्यत्रो ठूलो क्लबलाई लिड गर्ने मौका पनि पाएँ । पछाडि फर्केर हेर्दा ठूलै उपलब्धि हासिल गरे जस्तो लाग्छ,’ दिलीपले भने । यत्तिको लामो समयसम्म खेल्न कसरी सम्भव भयो त ? दिलीप भन्छन् 'फिजिकल फिटनेस र खानपिनको अनुशासन ।' उनी भन्छन् 'त्यसै पनि गोलकिपरहरु अरु खेलाडी भन्दा लामो समयसम्म खेल्न सक्छन् । तर चनाखो भने हुनुपर्छ । मैले आफ्नो फिटनेसलाई विशेष ध्यान दिएँ । खानपानमा अनुशासित भएँ । आफु सिजनमा पनि सिजनकै बेलामा जस्तो फिट भएर बस्नुपर्छ । प्रतियोगिताको बेलामा अनुशासित हुने अनि अरुबेला जथाभावी खाने, फिटनेस वर्कआउट नगर्ने भयो भने खेलाडी लामो समयसम्म टिक्दैन ।’

दिलीप लामो समयसम्म घरेलु फुटबलमा जमेर पनि राष्ट्रिय टोलीमा नपर्ने थोरै खेलाडी मध्येका एक हुन् । उमेर समूहमा भने एकपटक उनले नेपालको प्रतिनिधित्व गर्ने मौका पाएका थिए । पाकिस्तानमा सन् २००४ मा भएको सागमा उनले एक खेल खेले । समूह चरणमा पहिलो खेल भूटानसँग थियो । पहिलो रोजाईका विकास मल्ललाई सञ्चो नभएपछि प्रशिक्षक कृष्ण थापाले दिलीपलाई मौका दिएका थिए । त्यो खेल नै दिलीपले मुलुकका लागि खेलेको पहिलो र अन्तिम खेल बन्यो । ‘त्यतिबेला राष्ट्रिय सिनियर टोलीमा पहिलो रोजाईमा उपेन्द्रमान सिंह हुनुहुन्थयो । अनि विकास मल्ल र रितेश थापा जस्ता राम्रा गोलकिपर वेटिङमा । त्यसकारण त्यो समयमा मैले मौका नपाउनु स्वभाविक नै थियो,’ उनले सुनाए ‘सायद म राष्ट्रिय जर्सी लगाउने स्तरको पनि थिइन होला । मैले यसलाई अन्यथा मान्नु हुँदैन । तथापी देशका लागि खेल्न पाएको भए आफ्नो करियर अझ पूर्ण भएको जस्तो लाग्थ्यो होला ।’

मध्यम स्तर परिवार जन्मिएका उनका बुवा सरकारी विद्यालयका शिक्षक र आमा गृहणी । परिवारमा यसअघि कसैको पनि फुटबलसँग नाता थिएन । तर पनि दिलीपलाई फुटबल खेल्न रोकतोक कसैबाट भएन । ‘छोरा कुलतमा छैन भन्ने भएपछि कुनै रोकतोक भएन । पछि पत्रिकामा मेरो नाम, फोटो आउन थालेपछि बुवा-आमा दङ्ग पर्न थाल्नुभयो । मेरो लागी त्यो महत्वपुर्ण उपलब्धि थियो,’ उनले भने, ‘खेलेर कमाएको पैसाले घर चलाउनुपर्ने बाध्यता नभएपछि म ढुक्कसँग फुटबलमा रमाएँ। त्यसै पनि नेपालमा खेलेर घर चलाउन गाह्रो छ । लिग हुँदा क्लबले तीन महिना अनुबन्धन गर्ने हो । बाँकी समयमा आम्दानी हुने टुंगो हुँदैन,’ उनले दुखेसो पोखे 'यस्तो तरिकाले खेलाडीको दिगो कमाई हुँदैन । त्यसैले खेलेर घर चलाउन सजिलो छैन् ।' मोफसलमा हुने प्रतियोगिताहरुले खेलाडीलाई आर्थिक रुपमा केही सहज बनाएको उनी बताउँछन् । तर नेपाली फुटबल व्यवसायिक नभएको उनी दाबी गर्छन् । ‘मोफसलमा वर्षको २० वटा प्रतियोगिता खेलिएला तर खेल्दा पाइने पारिश्रमिक एउटै हुँदैन । कुनैमा प्रति खेल पाँच हजार होला, कुनैमा २० हजार । यसरी फुटबल व्यवसायिक हुँदैन,’ दिलीपले भने । मोफसलका प्रतियोगिताहरुले नेपाली फुटबलमा दिगोपन नल्याउने उनको दाबी छ ।

'नेपालमा गोलकिपरहरुको कमी छ । त्यसकारण गोलकिपर उत्पादनमा लाग्‍छु । साथै आरसिटीमा गोलकिपिङ प्रशिक्षकका रुपमा आवद्ध हुने ।' तर उनले अहिलेसम्म कोचिङ् कोर्स भने गरिसकेका छैनन् । ‘खेल्दाखेल्दै यो उमेरसम्म आइपुगियो । अब कोचिङ लाइसेन्स लिन्छु । बाँकी जीवन प्रशिक्षणमै बिताउँछु,’उनले भने । पाको खेलाडीका रुपमा युवाहरुलाई उनले सुझाव दिए 'अनुशासित भएर प्रशिक्षण गर्ने अनि फिटनेसमा ध्यान दिने । किरण चेमजोङ र रोहित चन्द हाम्रो युवा खेलाडीहरुका लागि उदाहरण हुन् ।

‘मोफसलका प्रतियोगितामा खेलाडीलाई भ्याइनभ्याई नै हुन्छ । कतिपय खेलाडीहरुले हतारमा मोटरसाइकलबाट र्ओलेर राम्रोसँग वार्मअप नै नगरी खेल्नुपर्ने हुन्छ । यसरी त खेलाडी नराम्रोसँग घाइते हुने सम्भावना रहन्छ । यस्तो तरिकाले फुटबल व्यवसायिक हुँदैन ।’ नेपाली फुटबललाई व्यवसायिक बनाउने हो भने लिगलाई कमसेकम ६ महिनाको बनाउने र ग्रासरुटमा बलियो लगानी गर्नुपर्ने आवश्यकता रहेको उनी बताउँछन् । ‘क्लबले वर्षभरी नै खेलाडीलाई पाल्न सक्दैन । उनीहरुको स्रोत छैन् । त्यसकारण लिगलाई लामो समयसम्म सञ्चालन गरेर क्लबलाई पनि टिक्न सक्ने बनाउनुपर्छ । क्लब टिके मात्र खेलाडी बाँच्‍ने हो, अनि फुटबल व्यवसायिक बन्ने बाटोतर्फ जाने हो ।’ ग्रासरुट फुटबल विकास गर्न एकेडेमीले ८-९ वर्षको उमेरबाटै प्रशिक्षण सुरु गर्नुपर्ने उनको सुझाव छ । ‘हामी १२-१३ वर्षका किशोरबाट मात्रै तालिम सुरु गर्छौं । बलको टच कसरी लिने भनेर सिकाउन नै समय गइसकेको हुन्छ । फुटबलमा राम्रो गर्ने देशहरुले ८-९ वर्षको उमेरबाटै तालिम सुरु गर्ने, उनीहरुका लागि प्रतियोगिता गर्नेलगायतका काम गर्छन् । हामी पनि त्यसैगरी अघि बढ्नुपर्छ ।'

अबको योजना के त ? दिलीपले जवाफ दिए 'नेपालमा गोलकिपरहरुको कमी छ । त्यसकारण गोलकिपर उत्पादनमा लाग्‍छु । साथै आरसिटीमा गोलकिपिङ प्रशिक्षकका रुपमा आवद्ध हुने ।' तर उनले अहिलेसम्म कोचिङ् कोर्स भने गरिसकेका छैनन् । ‘खेल्दाखेल्दै यो उमेरसम्म आइपुगियो । अब कोचिङ लाइसेन्स लिन्छु । बाँकी जीवन प्रशिक्षणमै बिताउँछु,’उनले भने । पाको खेलाडीका रुपमा युवाहरुलाई उनले सुझाव दिए 'अनुशासित भएर प्रशिक्षण गर्ने अनि फिटनेसमा ध्यान दिने । किरण चेमजोङ र रोहित चन्द हाम्रो युवा खेलाडीहरुका लागि उदाहरण हुन् । अफ सिजनमा पनि उनीहरु फिटनेसमा मेहेनत गर्छन् । सायद नेपाल बाहिरका राम्रा लिगहरु खेलेको अनुभवले पनि होला उनीहरु बाँकी खेलाडी भन्दा फरक देखिन्छन् ।' उनलाई राष्ट्रिय टोलीको गोलकिपरमा किरणपछि को भन्ने प्रश्नले पिरोल्छ । ‘नेपाल नेशनल टीमको फ्यानको हिसाबले सोच्दा किरणपछि को आउला भन्ने लाग्छ । उ जत्तिको राम्रो खेलाडी आउँदो पुस्तामा देखेको छैन मैले ।'

दुर्भाग्यबस दिलीपले क्लब स्तरमा महत्वपूर्ण उपाधी जित्न सकेनन् २०६६ को बुढासुब्बा कप बाहेक । तर उनलाई गुनासो छैन । ‘यत्तिका वर्ष आफूलाई मनपर्ने पेशा अगाल्न पाएँ । नाम कमाएँ । फुटबल पैसाका लागि मात्र खेलिदैँन । अनि उपाधि मात्रै पनि सबथोक होइन’ उनले भने । दिलीपका लागि आरसिटी नै प्यारो रह्यो । त्यसैले होला सधैं उपाधि जित्ने सम्भावना बोक्ने क्लबहरु थ्री स्टार र मनाङबाट प्रस्ताव आउँदासमेत उनले आरसिटी छाडेनन् । विदेशी लिगहरुमा उनी प्रिमियर लिग सबैभन्दा धेरै पछ्याउछन् । म्यानचेस्टर यूनाईटेड उनको मनपर्ने क्लब हो । त्यसबाहेक बुफोनले खेल्ने खेल पनि उनी छुटाउँदैनन् । यूरोपियन टोलीमा उनी इटालीको खेल मन पराउँछन् भने दक्षिण अमेरिकामा अर्जेन्टिना ।

दिलीपका एक छोरा र एक छोरी छन् । के छोरा/छोरी फुटबल खेलाडी बनुन् भन्ने उनको इच्छा छ त ? उनी भन्छन् ‘त्यो त उनीहरुकै इच्छामा भर पर्छ । मैले उनीहरु फुटबलर नै बनुन् भन्ने इच्छा राखेको छैन् ।’ नेपालमा खेलेर परिवार धान्न सकिने अवस्था भए सायद दिलीपले छोराछोरी फुटबलर नै बनुन् भन्ने सोच्‍थे की ? दुई दशक खेलाडी भएर नेपाली फुटबललाई योगदान गरेका दिलीपले आफ्नै घरमा नयाँ पुस्ताका गोलकिपर भेटे भने अर्को इतिहास सुरुवात हुनेछ । एउटा गोलकिपरले आफ्नो 'ग्लब्स' सन्तानलाई हस्तान्तरण गर्न पाउँदा कति खुशी हुँदो हो ।
 


Author

प्रविणबिक्रम कट्‍वाल

समसामायिक विषयमा कलम चलाउने कटवाल खेलकुद ब्यूरो चिफ हुन्।


थप समाचार
x