खेलकुद

वर्ष २०७९ : निसिमको निधनले खल्लो बनाएको नवौँ राष्ट्रिय खेलकुद

सञ्जीव शाह |
बैशाख १, २०८० शुक्रबार १३:१४ बजे

काठमाडौँ- वि. स. २०७९ को असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा नवौँ राष्ट्रिय खेलकुद सम्पन्न हुँदा सफलता, संघर्ष तथा दुखद खबरले भरिएको थियो । कुल ३६ खेलमा ४ सय ४ पदकका लागि भएको प्रतिस्पर्धा त्रिभुवन आर्मी क्लबले वर्चश्व जमाउँदै च्याम्पियन बन्यो ।

च्याम्पियन आर्मीले १ सय ७२ स्वर्ण, १ सय १० रजत र ८८ कास्यसहित ३ सय ७१ वटा पदक जित्यो । दोस्रो भएको नेपाल एपीएफ क्लबले ६५ स्वर्ण, ७१ रजत र ८१ कास्यसहित जम्मा २ सय १९ पदक जित्दा तेस्रो भएको नेपाल पुलिस क्लबले ६१ स्वर्ण, ६१ रजत र ७३ कास्य हात पारेको थियो । 


पहिलोपटक प्रादेशिक संरचनामा आयोजना भएको राष्ट्रिय खेलकुदमा तीन विभागीय, सात प्रदेश र एनआरएनए गरी ११ टोलीको सहभागिता हुँदा प्रदेशतर्फ आयोजक गण्डकी ३२ स्वर्ण, ३१ रजत र ५७ कास्य गरी कुल १ सय २० पदकसहित पहिलो भएको थियो ।

बागमती प्रदेशले भने २४ स्वर्ण, ४७ रजत र ७४ कास्य हात पार्दा कोशी प्रदेशले १० स्वर्ण, १० रजत र ४३ कास्य जित्यो । सुदूरपश्चिमले समान १० स्वर्ण र १० रजत तथा ४३ कास्य जित्दा एनआरएनले ९ स्वर्ण, ७ रजत र २६ कास्य पायो । लुम्बिनीले ६ स्वर्ण, २२ रजत र ४० कास्य, मधेश प्रदेशले ५ स्वर्ण, ८ रजत तथा २६ कास्य तथा कर्णाली प्रदेशले २ स्वर्ण, ४ रजत तथा १२ कास्य जित्यो ।

राष्ट्रिय खेलकुदमा पुरुषतर्फ ३ हजार ४ सय १४, महिलातर्फ २ हजार ७ सय १३ गरी कुल ६ हजार १ सय २७ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । ७ वर्ष २२ दिन पुग्दा पौडीमा सहभागिता जनाएकी सुदूरपश्चिमकी रीतिका बुमी सबैभन्दा कान्छी खेलाडी रहेकी थिइन् भने कोशी प्रदेशका लागि स्क्वास खेलेका धनबहादुर घले सबैभन्दा बढी उमेरका खेलाडी बने । उनी ६१ वर्ष ४ महिना पुगेका थिए ।

एक साता चलेको प्रतियोगिताका दौरान प्याराग्लाइडिङ खेलाडी निसिम थापाको निधनले भने राष्ट्रिय खेलकुदको रौनकतालाई भने खल्लो बनायो । आर्मीका खेलाडी निसिमको प्रतिस्पर्धाकै क्रममा दुर्घटनामा परी निधन भयो । राष्ट्रिय खेलकुदको ४१ वर्षको इतिहासमा खेलकै क्रममा खेलाडीको निधन भएको यो पहिलो घटना थियो । थापालाई मानार्थ स्वर्ण पदक प्रदान गरियो ।

आर्मीकी पौडी खेलाडी डुवाना लामाले ९ स्वर्ण पदक जितेर चर्चा बटुलेकी थिइन् । एथलेटिक्समा जयरानी थारुले खेलेको ५ वटै प्रतिस्पर्धामा स्वर्ण जितेर राष्ट्रिय खेलकुदमा चर्चित बनिन् । भारोत्तोलनकी तारादेवी पुनले लगातार छैटौँ पटक राष्ट्रिय खेलकुदमा सहभागिता जनाएकी थिइन् । आफ्ना काखे बच्चा बोकेर आएका खेलाडी पनि चर्चित बने ।

राष्ट्रिय खेलकुदको नवौँ संस्करणसम्म आइपुग्दा पहिलोपटक राष्ट्रिय खेलकुदको ट्रफी निर्माण तथा ट्रफी टूर गरिएको थियो । साथै पहिलो पटक विश्व मान्यताअनुरूप क्लिन स्पोर्टसको अवधारणाअनुरूप एन्टी डोपिङ परीक्षण समेत गरियो ।

तर अव्यवस्थित पूर्वाधार, संघ/राष्ट्रिय खेलकुद परिषद्‍ तथा प्रदेशका पदाधिकारीबीचको समन्वय अभाव, समयमा खेल सामाग्री तथा पोसाक उपलब्ध नहुनुले राष्ट्रिय खेलकुद सोचेअनुरुप सफल हुन सकेन ।


Author

सञ्जीव शाह

सञ्जीव शाह इकागजका स्पोर्टस् ब्यूरो चिफ हुन् ।


थप समाचार
x