खेलकुद

म्यानचेस्टर युनाइटेड र चेल्सी एफए कपको सेमिफाइनलमा

इकागज |
चैत ५, २०८० सोमबार १०:४८ बजे

काठमाडौँ- म्यानचेस्टर युनाइटेड र चेल्सी एफए कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

आइतबार राति भएको क्वार्टरफाइनल खेल जित्दै युनाइटेड र चेल्सी प्रतियोगिताको अन्तिम ४ मा प्रवेश गरेका हुन् ।


युनाइटेडले क्वार्टरफाइनलमा लिभरपुललाई ४-३ गोलअन्तरले पराजित गर्‍यो । निर्धारित ९० मिनेटमा दुवै टोलीले २-२ गोलको बराबरी खेलेपछि थप गरिएको ३० मिनेटमा युनाइटेडले २ तथा लिभरपुलले १ गोल थपेको थियो ।

युनाइटेडको जितमा अमाद डियालो, मार्कस रासफोर्ड, एन्टोनी र स्कट म्याकटोमिनेले एक-एक गोल गरे । लिभरपुलका लागि अलेक्सिस म्याक अलिस्टर, मोहमद सालाह र हार्भी इलियोटले एक-एक गोल फर्काए ।

यता चेल्सीले लेस्टर सिटीलाई ४-२ गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गर्‍यो । चेल्सीको जितमा मार्क कुकुरेला, कोल पाल्मर, कार्नी चुकवुएमेका र नोनी माडुएकेले एक-एक गोल गरे ।

लेस्टरका लागि स्टेफी माभिडिडीले एक गोल गर्दा चेल्सीका अलेक्स डिसासीले एक आत्मघाती गोल गरे ।


Author

थप समाचार
x