खेलकुद

लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथन : नेपाली धावककै वर्चस्व

इकागज |
चैत २४, २०८० शनिबार १७:२४ बजे

काठमाडौँ- गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा शनिबार सम्पन्न अन्तर्राष्ट्रिय पिस म्याराथनमा नेपाली धावकले वर्चस्व कायम गरेका छन् ।

चीन, पाकिस्तान र श्रीलंकाका धावकहरूको समेत सहभागिता रहेको म्याराथनको पुरुषतर्फको उपाधि नेपालका तीर्थ पुनले जितेका हुन् ।


पुनले निर्धारित ४२ दशमलव एक सय ९५ किलोमिटरको दूरी दुई घण्टा २० मिनेट ४९ सेकेन्डमा पूरा गर्दै स्वर्ण जिते । उनले नगद पाँच लाख रुपैयाँ समेत प्राप्त गरे ।

निर्धारित दूरी दुई घण्टा २१ मिनेट ११ सेकेन्डमा पार गर्दै नेपाली सेनाका खड्कबहादुर खड्काले रजतसहित तीन लाख पुरस्कार प्राप्त गरे ।

कर्णालीका दुर्गाबहादुर बुढाले दुई घण्टा २२ मिनेट ४६ सेकेन्डमा दूरी पार गर्दै कास्यसहित दुई लाख पाए ।

अन्तर्राष्ट्रिय म्याराथनअन्तर्गत महिलातर्फको २१ किलोमिटरको हाफ म्याराथनको उपाधि सन्तोषी श्रेष्ठले जितिन् ।

श्रेष्ठले निर्धारित दूरी एक घण्टा १८ मिनेट ४५ सेकेन्डमा पूरा गरिन् । नेपाली सेनाकी पूर्णराज्यलक्ष्मी न्यौपानेले एक घण्टा १९ मिनेट २१ सेकेन्डमा दूरी पार गर्दै दोस्रो र एपिएफकी पुष्पा भण्डारीले एक घण्टा २५ मिनेट १४ सेकेन्डमा तेस्रो भए ।

विजेता श्रेष्ठले दुई लाख, न्यौपानेले एक लाख ६० हजार तथा भण्डारीले  एक लाख २० हजार नगद हात पारे ।

 


Author

थप समाचार
x