खेलकुद

चौथो मञ्जुश्री ट्रेल रेस सम्पन्न, आफ्नै रेकर्ड तोड्दै अर्जुन कुलुङ बने विजेता

इकागज |
चैत २४, २०८० शनिबार २१:२५ बजे

काठमाडौँ- खेल पर्यटनलाई प्रवर्द्धन गर्दै नेपालकै लामो ट्रेल रेस प्रतियोगिता ‘मञ्जुश्री ट्रेल रेस’ अन्तर्गतको चौथो संस्करण सम्पन्न भएको छ । 

प्रतियोगिताका विभिन्न चरणका रेसमध्ये सबैभन्दा लामो एक सय माइलको रेसमा यसअघिको आफ्नै रेकर्ड तोड्दै अर्जुन कुलुङ राई विजेता बनेका छन् ।


उनले २६ घण्टा ५० मिनेट १५  सेकेन्डमा रेस पूरा गर्दै उपाधि जित्न सफल भएको मञ्जुश्री ट्रेल रेसका अध्यक्ष सुवाश थापाले जानकारी दिए । यससँगै कुलुङले सन् २०२२ मा ३१ घन्टा १० मिनेट ५७ सेकेण्डको आफ्नै रेकर्ड तोडेका हुन् ।

यस्तै बेलायतका अलिस्टेयर मेस्सनले २८ घण्टा २८ मिनेट ३५ सेकेण्डमा रेस पूरा गरी उपविजेता बन्दा ३३ घण्टा ५७ मिनेट ४०  सेकेन्डमा रेस पूरा गर्दै विजय मगर तेस्रो भएका छन् ।

सय किलोमिटर रेस १४ घण्टा ४५ मिनेट २० सेकेन्डमा पार गर्दै पुरुषतर्फ मन कुमार रोका मगर विजेता बने । 

यस्तै १६ घण्टा ४६ मिनेट ४८ सेकेन्डमा रेस पूरा गरेर फुर्पासिंह तामाङ दोस्रो र १६ घण्टा ५४ मिनेट १७  सेकेन्डमा रेस पूरा गरेर अविनाश देवकोटा तेस्रो भए ।

५० किलोमिटर रेस ७ घण्टा १७ मिनेट २५ सेकेन्डमा पार गर्दै पुरुषतर्फ हरिलाल सिंह र महिलातर्फ ८ घण्टा २२ मिनेट ५ सेकेन्डमा पार गर्दै प्रिया राई विजेता बने । 

यस रेसमा पुरुषतर्फ निम्साङ लिम्बु र महिलातर्फ रसिला तामाङ क्रमश: ७ घण्टा १८ मिनेट ११ सेकेन्डमा र ९ घण्टा १३ मिनेट ६ सेकेन्डमा रेस पूरा गरेर दोस्रो भएका छन् । 

यस्तै पुरुषतर्फ दिपेश तामाङ र महिलातर्फ छोकी शेर्पाले क्रमश: ८ घण्टा ४ मिनेट ३६ सेकेन्डमा र ९ घण्टा १६ मिनेट ४५ सेकेन्डमा रेस पूरा गरेर तेस्रो भए ।

यस संस्करणमा १०० माइल, १०० किमि र ५० किमिका खेलको पाँचौँ स्थान भित्र आउने खेलाडी स्वत: एसिया ट्रेल मास्टर्समा क्वालिफाइ भएको समेत अध्यक्ष थापाले जानकारी दिए ।  उनका अनुसार यी धावकहरूले मलेसियामा आगामी सेप्टेम्बर १४ मा हुने एटिएम फाइनल रेसमा प्रतिष्पर्धा गर्नेछन् ।

त्यस्तै ३० किलोमिटर रेस ४ घण्टा ४९ मिनेट ४८ सेकेन्डमा पार गर्दै उबिन मल्ल विजेता बने । यस्तै ४ घण्टा ५७ मिनेट २९  सेकेन्डमा रेस पूरा गरेर लुकास सेर्डन उपविजेता बन्दा ४ घण्टा ५७ मिनेट ४५  सेकेन्डमा रेस सम्पन्न गरेर  एण्ड्रियु एलकक तेस्रो भएका छन् । 

यस्तै महिलातर्फ अमेरिकाकी कार्ली एण्ड्रेसन राट्लीले ६ घन्टा ४५ मिनेट २१ सेकेण्डमा रेस पूरा गर्दै महिलातर्फको ३० किलोमिटर रेसको विजेता बनेका छन् ।

बेलायतकी जेन्नी चाप्लिनले ७ घन्टा १९ मिनेट ४८ सेकेण्डमा ३० किमी रेस पूरा गरेर उपविजेता बन्दा अमेरिकाकी एरिका मिक्सले ७ घण्टा २० मिनेट ५० सेकेण्डमा दौड पूरा गरेर तेस्रो बनिन् ।

१० किलोमिटर रेस एक घण्टा २ मिनेट ५ सेकेन्डमा पार गर्दै कुलबहादुर बस्नेत प्रथम भए । यस्तै एक घण्टा २ मिनेट ६ सेकेन्डमा रेस पूरा गरेर रेम बुढा मगर दोस्रो हुँदा एक घण्टा २ मिनेट ८ सेकेन्डमा रेस पूरा गरेर प्रविन लिम्बु तेस्रो भएका छन् । 

अध्यक्ष थापाका अनुसार रेसलाई थप समावेशी बनाउन शनिबार २ किलोमिटरको विशेष रेस समेत सम्पन्न गरिएको छ । जसमा भिन्न रुपले सबल बाल-बालिकाहरूको रेस भएको थियो । 

नेपाल डाउन सिन्ड्रोम सोसाइटीसँगको सहकार्यमा सम्पन्न गरिएको सो रेसमा १३ बालबालिका सहभागी थिए । जसमा सत्यम थापा विजेता बन्दा रुकुस मैनाली उपविजेता र सिर्जना राई तेस्रो बने । 

शुक्रबार बिहान ८ बजे इचंगुनारायण स्थित सिंगल ट्रीमा रहेको हिमालय क्वीन बी रिसोर्टबाट सय माइलको रेस सुरू भएको थियो । 

रेसमा दौडने क्रममा प्रतियोगीले फुल्चोकी, नागर्जुन, शिवपुरी, नगरकोट, चम्पादेवी, भष्मासुर र चन्द्रागिरीलगायतका पहाड चढ्ने, झर्ने गरेका थिए । सो क्रममा उनीहरूले ती सबै पहाड गरी कूल ९ हजार ८ सय मिटरको उचाइ लिएका थिए । उक्त उचाइ समुद्रदेखि सगरमाथाको चुचुरोसम्मको भन्दा बढी भएको थापाले बताए ।

उनका अनुसार रेसअन्तर्गत छोटो दूरीका रेस पनि प्रतियोगिता गरिएका थिए । जसअन्तर्गत एक सय किलोमिटरको रेस झुलेबाट, ५० किलोमिटरको रेस बडिखेलबाट र मञ्जुश्री ट्रेल रेससँग आबद्ध ट्रेलमाण्डुको ३० किलोमिटरको केभीआर स्टेज रेस फर्पिङको डोल्लुबाट सुरू भएको थियो । 

ट्रेलमाण्डुको यो रेस ५ स्टेज रेसको फाइनल रेस हो । शनिबार बिहान कालुपाँडे डाँडाबाट १० किमिको रेस सुरू भइ सिंगल ट्रीमै सकिएको यस रेसमा १०० जना धावक सहभागी भएको अध्यक्ष थापाले जानकारी दिए ।

शुक्रबार र शनिबार सम्पन्न भएको विभिन्न चरणको रेसमा नेपाल सहित १६ मुलुकका ३ सय २४ धावकहरू सहभागी भएका थिए । जसमा ४० जना विदेशी धावक सहभागी भएको आयोजकले जनाएको छ । 

सहभागी धावकमध्ये यस्तै २ सय ८९ जना पुरुष र ३५ जना महिला धावक रहेका थिए । विभिन्न चरण मध्ये सय माइलको रेसमा ४ महिला सहित १८ धावक सहभागी थिए ।

यस संस्करणमा नेपाल, चीन, सिंगापुर, बेलायत, डेनमार्क, इण्डिया, बेलारुस, इण्डोनेसियाका धावकहरू सहभागी भएको  रेसका अध्यक्ष थापाले जानकारी दिए  ।

सय माइल विजेता अर्जुन कुलुङ बाहिरी मुलुकमा हुने रेसभन्दा मञ्जुश्री ट्रेल रेसको महत्व बढ्दै गएको बताउँछन् । त्यही महत्वका कारण नै आफूले दोस्रो पटक पनि रेसमा सहभागी भएको उनले सुनाए ।

उनले भने,'यस रेस एकदमै व्यवस्थित थियो । काठमाडौंमै सम्भव भइरहेको यस रेसले हामीजस्ता रेसलाई शोख र पेसा बनाएर दौडिरहेकाहरूलाई उत्तम प्लेटफर्म र अवसर दिएको छ ।'

उनले सन् २०२२ को आफ्नै रेकर्ड तोड्दा एकदमै खुशी भएको समेत सुनाए ।

आयोजकका अनुसार यस रेस अन्तर्गत प्रत्येक सिजन 'एटिएम फाइनल' सँगै समाप्त गरिएको छ । जसमा अन्तिम विजेतालाई सम्मानित गरिएको छ । 

स्थापनाको आठौँ वर्षमा १२ देखि १५ वटा सम्म एसियाली मुलुकहरूमा ३० खेलको आयोजना हुनेछ । यसमध्येका थाइल्याण्ड, मलेसिया, जापान, भियतनाम र हङकङमा हुने रेस मुख्य रेस हुन् ।

१०० माइल यस लामो रेस नेपालकै सबैभन्दा लामो तथा ठुलो संख्यामा सहभागिता रहने रेस पनि हो । यसमा धावकहरूलाई सहज बनाउनको लागि १९ वटा चेक प्वाईन्ट उपलब्ध गराइएको अध्यक्ष थापाले बताए ।

चेक प्वाइन्टमा धावकहरूलाई आवश्यक पर्ने खानेकुरा, पानी तथा आधारभुत औषधिको पनि व्यवस्था गरिएको थियो । जसका लागि ट्रेलमाण्डुसँग सहकार्य गरिएको उनले बताए ।

विश्व चर्चित धावक लिजी हकर, सेथ ओल्पिन र रोजर हेन्केनले पहिलोपटक सन् २०१५ मा यो रूटको परिकल्पना गरेका थिए । त्यसपश्चात उनीहरूले सन् १०१६ मा यो रूट छिचोले ।

जिमी ओस्त्रोम,  राज प्रधान,  नारायण आचार्य लगायतले पटकपटक गरी ट्रेलको वैकल्पिक रूटहरूसहित नक्साङ्कन गरेका थिए । 

पछिल्लो समयमा ट्रेलमाण्डु र मञ्जुश्री ट्रेल रेसले संस्थागत रुपमै  यो ट्रेललाई अझ परिस्कृत गर्दै मार्किङ तथा जि.पि.यस नक्साङ्कन गरिएको  अध्यक्ष थापाले जानकारी दिए ।

विभिन्न चरणमा विभिन्न व्यक्तित्वको संलग्नतामा १७० किलोमिटर दूरीको यो रूट पूर्ण रूपमा निर्धारण गर्न करिब ३ वर्ष लागेको थियो ।

फ्रान्सस्थित विश्वभरका ट्रेल रेस आयोजकहरूको छाता संस्था इन्टरनेशनल ट्रेल रनिङ एसोसिएसन (आइटिआरए) र विश्वव्यापी रूपमा ट्रेल धावकहरूको स्तर मूल्याङ्कन तथा निर्धारण गर्ने संस्था युटिएमबिको सम्बन्धन प्राप्त भएकाले मञ्जुश्री ट्रेल रेसलाई अन्तर्राष्ट्रिय स्तरमा विशेष महत्वका साथ हेरिने अध्यक्ष थापा बताउँछन् ।

उनले भने,'आइटिआरएको मापदण्ड अनुसारको ‘मञ्जुश्री ट्रेल रेस’ पूरा गर्ने सहभागीले आइटिआरएबाट ६ अंक प्राप्त गर्छन् जुन आइटिआरएमा सम्बन्धित  न्यूनतम योग्यता गणना हुने अन्तर्राष्ट्रिय ट्रेल रेसमा मान्य हुनेछ ।'   

यस रेसमा राष्ट्रिय खेलकुद परिषद अन्तर्गत हालै गठन भएको नेपाल एडभेञ्चर रनिङ महासंघबाट पनि यो रेसलाई विशेष रुपमा हेरिएको तथा सहयोग रहेको थियो ।

अध्यक्ष थापाका अनुसार, १ सय माइलको रेसमा प्रथम,  द्वितीय र तृतीय भएकाहरूले क्रमशः ६० हजार, ४० हजार र २० हजार रुपैयाँ नगद पुरस्कारसँगै मेडल र प्रमाणपत्र पाएका छन् ।

सय किलोमिटर रेसमा प्रथम, द्वितीय र तृतीय भएकाहरूले क्रमशः ४० हजार, २५ हजार र १५ हजार नगद पुरस्कारसँगै मेडल र प्रमाणपत्र पाएका छन् ।

५० किलोमिटर रेसमा प्रथम, द्वितीय र तृतीय भएकाहरूले क्रमशः ३० हजार, १५ हजार र १० हजार रुपैयाँ नगद पुरस्कारसँगै मेडल र प्रमाणपत्र पाएका छन् । 

त्यस्तै ट्रेलमाण्डुको केभिआर १०० स्टेज रेस अन्तर्गत प्रथम, द्वितीय र तृतीय भएकाहरूलाई क्रमशः २० हजार, १० हजार र ५ हजार नगद पुरस्कारसँगै मेडल र प्रमाणपत्र दिइएको छ ।

मनमोहक दृश्यावलोकन, उपत्यकाको ग्रामीण जीवनको अनुभव लिन पाइने यो रेसले अहिले स्वदेशी र विदेशी साहसिक खेल पर्यटकका लागि आकर्षण बनेको छ । 

हिमालय शृङ्खला, काठमाडौँ उपत्यका, जङ्गल, पहाड, गोरेटोका दृश्यावलोकन गर्दै गरिने रेस पछिल्लो समय साहसिक खेल प्रेमीहरूमाझ लोकप्रिय बन्दै गएको छ ।

 

 

 

 


Author

थप समाचार
x