खेलकुद

बंगलादेशको राष्ट्रिय महिला फुटबल टिम नेपालमा

इकागज |
भदौ २१, २०७८ सोमबार १४:२ बजे

काठमाडौँ - नेपालसँगको मैत्रीपूर्ण खेलका लागि बंगलादेशको राष्ट्रिय महिला फुटबल टिम सोमबार नेपाल आइपुगको छ । बंगलादेशी टोलीलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष शिक्षित पराजुली, एन्फा महिला कमिटिका पदाधिकारीलगायतले स्वागत गरेका थिए ।

बंगलादेशले नेपालसँग दुई मैत्रीपूर्ण खेल खेल्नेछ । नेपाल र बंगलादेशबीचको खेल सेप्टेम्बर ९ र १२ तारिकमा दशरथ रंगशालामा हुनेछ । उज्वेकिस्तानमा आयोजना हुने एएफसी महिला एसियन कप–२०२२ छनोट अघि नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।


छनोटका लागि मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले २३ सदस्यीय नेपाली टिमको घोषणा गरिसकेको छ । छनोटमा नेपाल समूह ’एफ’ मा रहेको छ । नेपालको समूहमा फिलिपिन्स र हङकङ रहेको छ । छनोट खेल उज्वेकिस्तानको जेएआर स्टेडियममा हुनेछ ।

नेपालले फिलिपिन्ससँग खेल्दै छनोटको सुरुवात गर्नेछ । नेपाल र फिलिपिन्सबीचको खेल सेप्टेम्बर १८ मा हुनेछ । समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एसियन कप खेल्नेछ । एसियन कप जनवरी २० देखि फेब्रुअरी ६ सम्म हुनेछ । 


Author

थप समाचार
x