खेलकुद

‘विराट गोल्डकप’ चैत २६ गतेबाट

लीलावल्लभ घिमिरे |
चैत ५, २०७७ बिहीबार १९:३० बजे

विराटनगर : ‘विराट गोल्डकप’को फुटबलको छैटौं सस्करण विराटनगरको सहिद रंगशालामा चैत २६ गतेबाट सुरु हुने भएको छ । दुई वर्षदेखि हुन नसकेको गोल्डकप यो बर्ष हुन लागेको हो । बिहीबार आयोजना गरिएको पत्रकार सम्मेलनमा आयोजक समितिका संयोजक मनोजविक्रम शाहले प्रतियोगितामा भारतका २ सहित १० टिमको सहभागिता रहेन बताए ।

चैत २६ देखि वैशाख ५ गतेसम्म गोल्डकप प्रतियोगिता हुनेछ । खेल रात्रीकालिन समयमा हुनेछ । प्रदेश-१ सरकारको सहयोगमा मैदानमा रात्रिकालीन खेलकुद गराउने गरी फ्लडलाइट्स जडान भइसकेको छ । प्रतियोगितामा विजेता टोलीले हालसम्मकै सर्वाधिक नगद पुरस्कार राशि १५ लाख १५ हजार रुपैयाँ र उपविजेताले ७ लाख ५१ हजार रुपैयाँ प्राप्त गर्ने छन् । 


त्यस्तै विभिन्‍न ७ विधाका उत्कृष्ठ खेलाडीलाई समान २५-२५ हजार रुपैयाँ, म्यान अफ द म्याचले १५ हजार रुपैयाँ र प्रतियोगिताको सर्वोत्कृष्ट एक जना खेलाडीलाई मोटरसाइकल पुरस्कार प्रदान गरिने ट्रष्टले जनाएको छ । 

प्रिकवाटर, क्‍वाटरफाइनल र सेमिफाइनलबाट बाहिरिने टोलीले क्रमशः ३२ हजार, ५६ हजार र ८० हजार रुपैयाँ सान्तवनास्वरुप प्राप्त गर्नेछन् । प्रतियोगितमा भारतबाट २ टिम, नेपालको ‘ए’ डिभिजन क्लबसहित १० टिमको सहभागिता रहने छ । तत्कालीन राजा महेन्द्रको नामबाट २०१८ सालदेखि ‘महेन्द्र गोल्डकप’ हुँदै आएको थियो । तर, २०६२/०६३ को जनआन्दोलनपछि गोल्डकपको नाम परिवर्तन गर्दै ०६७ सालदेखि ‘विराट गोल्डकप’का नामबाट प्रतियोगिता हुँदै आएको छ ।
 
प्रतियोगिताको पाँचौ संस्करण त्रिभुवन आर्मी क्लबलाई ३ शुन्यले पराजित गर्दै थ्रीस्टार क्लबले उपाधि जितेको थियो । मोफलमा हुने प्रतियोगितामध्ये खप्तड गोल्डकपमा २१ लाख रुपैयाँ नगद पुरस्कारपछि सर्वाधिक पुरस्कार राख्‍ने विराट गोल्डकप दोस्रो हो । 


Author

लीलावल्लभ घिमिरे

घिमिरे इकागजका प्रदेश १ प्रतिनिधि हुन् ।


थप समाचार
x