खेलकुद

एसियन गेम्स: मे पहिलो साता खेलाडी दर्ता हुँदै, राष्ट्रिय खेलकुद औपचारिकतामै सीमित हुने

सञ्जीव शाह |
बैशाख ७, २०७९ बुधबार १२:२१ बजे

काठमाडौँ – नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता जेठ २२ देखि २८ (अर्थात जुन ५ देखि ११ तारिखसम्म) गण्डकी प्रदेशमा आयोजना हुँदैछ। तर त्यस अघि नै नेपाल ओलम्पिक कमिटी (एनओसी ) ले १९ औँ एसियन गेम्सका लागि खेलाडीको नाम पठाउँदैछ । एसियन गेम्सका लागि मे महिनाको पहिलो सातासम्म खेलाडीको दर्ता गरिसक्नु पर्नेछ ।

चीनको हाङझोउमा सेप्टेम्बर १० देखि २५ तारिखसम्म आयोजना हुने १९ औँ एसियन गेम्सका लागि नेपालले मे पहिलो साता खेलाडीको नाम पठाउने एनओसीका महासचिव निलेन्द्र राज श्रेष्ठले इकागजलाई बताए ।


श्रेष्ठका अनुसार मे पहिलो साता खेलाडीको लामो सूची एसियन गेम्सका लागि पठाइने छ, जसमा एउटा खेलबाट अहिलेको अवस्थामा उत्कृष्ट रहेका ४ पुरुष र ४ महिला खेलाडीको नाम पठाइने छ । यसका लागि खेलसंस्थाहरूले अबको ६ दिनभित्र खेलाडी छनोट गरिसक्नु पर्ने हुन्छ । श्रेष्ठका खेलसंस्थाहरूले सहमति जनाइसकेका छन् ।

नेपालले एसियन गेम्सको कति खेलमा सहभागिता जनाउने भन्ने टुंगो राष्ट्रिय खेलकुद परिषद्ले एक/दुई दिनभित्रै लगाउने बताइएको छ । र अहिले पठाइने खेलाडीको सूचीमध्येबाटै एसियन गेम्समा नेपालको सहभागिता जनाउने निश्चित छ ।

'एसियन गेम्सका लागि मे पहिलो साता खेलाडीको लामो सूची पठाइनेछ । उनीहरूले जुन ५ देखि ११ तारिखसम्म आयोजना हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा भने सहभागिता जनाउनुपर्ने हुन्छ,' एनओसीका महासचिव श्रेष्ठले भने, 'उनीहरूमध्ये उत्कृष्ट हुनेलाई नै एसियन गेम्समा पठाइने छ ।'

यसको अर्थ के हुन्छ भने एसियन गेम्सका लागि दर्ता भइसकेका खेलाडीभन्दा अन्य खेलाडीले नवौँ राष्ट्रिय खेलकुदमा उत्कृष्ट प्रदर्शन गरे पनि एसियन गेम्समा सहभागिता भने जनाउन पाउने छैनन् । राष्‍ट्रिय खेलकुद औपचारिकतामै सीमित हुने देखिएको छ । 

‘एसियन गेम्सका लागि उत्कृष्ट खेलाडीको नाम दर्ता हुने भएकाले नवौँ राष्ट्रिय खेलकुदमा उनीहरू भन्दा अन्य खेलाडीले उत्कृष्ट प्रदर्शन गर्छन् भन्ने हामीलाई विश्वास छैन् । यदि अपवादमा त्यस्तो भयो भने पनि उक्त खेलाडीले भने एसियन गेम्स खेल्न पाउने छैनन्,’ श्रेष्ठले बताए ।

लामो समय राखेप नेतृत्व नहुनु, समयमै खेलाडी छनोट गर्न नसक्नुका कारण यस्तो अवस्था आएको श्रेष्ठले बताए । उनका अनुसार नेपालको तयारी राम्रो नभएका कारण एसियन गेम्समा पदक जित्ने सम्भावना न्यून रहेको छ ।


Author

सञ्जीव शाह

सञ्जीव शाह इकागजका स्पोर्टस् ब्यूरो चिफ हुन् ।


थप समाचार
x