खेलकुद

नेपाली फुटबलका अनुत्तरित प्रश्नहरू

सञ्जीव शाह |
बैशाख २४, २०७९ शनिबार १४:३७ बजे

काठमाडौँ – नेपाली फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको व्यवहारप्रति असन्तुष्टि जनाउँदै १० जना खेलाडीले एएफसी एसियन कप २०२३ छनोटका लागि चलिरहेको बन्द प्रशिक्षण छाडे ।

बन्द प्रशिक्षण छाड्नेमा रोहित चन्द, विमल घर्तीमगर, विशाल श्रेष्ठ, विशाल राई, दिनेश राजवंशी, सुमन लामा, तेज तामाङ, अनन्त तामाङ, अन्जन विष्ट र सुजल श्रेष्ठ रहेका छन् ।


तर यसको प्रभाव भने नेपाली टिमको बन्द प्रशिक्षणमा खासै देखिदैन किनभने १० जना खेलाडीले बन्द प्रशिक्षण छाड्ने वित्तिकै मुख्य प्रशिक्षक अलमुताइरीले बी र सी डिभिजन खेल्ने खेलाडीसहित नयाँ १७ खेलाडीलाई बन्द प्रशिक्षणमा डाके ।

अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष कर्मा छिरिङ शेर्पाले पनि प्रशिक्षकको निर्णयमा हस्तक्षेप गर्न नमिल्ने बताउदै गर्दा अलमुताइरीले बन्द प्रशिक्षण छाडेका खेलाडीले एएफसी एसियन कपको छनोट खेल्न नपाउने स्पष्ट पारे ।

नेपालले एसियन कपको तेस्रो चरणको छनोट कुवेतमा जुन ८ देखि १४ तारिखसम्म खेल्दै छ । नेपालले पहिलो खेल जोर्डनविरुद्ध जुन ८, दोस्रो खेल कुवेतविरुद्ध जुन ११ र इन्डोनेसियाविरुद्ध जुन १४ मा खेल्ने तालिका रहेको छ ।

त्यसअघि नेपालले कतारमा अफगानिस्तानविरुद्ध मे २५ र २९ मा दुई मैत्रीपूर्ण खेल्ने तालिका रहेको छ ।

नेपाली फुटबल टिमको विवाद बाहिर आउनुभन्दा अघि नै अलमुताइरीले नेपाल एसियन कपका लागि छनोट नहुने खुलेरै दावी गरेका थिए ।

अब प्रश्न के उठ्छ भने अनुभवी खेलाडीको अनुपस्थितिमा युवा खेलाडीले भरिएको नेपाली टिमले एसियन कप छनोट तथा अफगानिस्तानविरुद्धको खेलमा उत्कृष्ट प्रदर्शन गर्न सक्छ? यो एउटा अनुत्तरित प्रश्न हो ।

यदि नयाँ खेलाडीहरूले एसियन कप छनोटमा उत्कृष्ट प्रदर्शन गरेको खण्डमा के उनीहरूले नेपाली टिममा निरन्तर मौका पाउँछन् ?, यो प्रश्नको उत्तर पनि अहिले पाइने अवस्था छैन । किनभने छनोट सुरु हुन अझै एक महिना बाँकी छ ।

यदि उनीहरूले टिममा निरन्तरता पाएको खण्डमा बन्द प्रशिक्षण छाडेका खेलाडीहरूको फुटबल भविष्य कस्तो होला ? भन्ने प्रश्न पनि यहाँ उठ्छ ।

साथै, यदि नयाँ खेलाडीहरूले एसियन कपमा बिर्सनलायक प्रदर्शन गरेको खण्डमा के अलमुताइरीले उनीहरूलाई बाहिर राख्दै अहिले बन्द प्रशिक्षण छाडेका खेलाडीहरूलाई पुन: टिममा समेट्छन् ? यसको उत्तर पनि अहिले प्राप्त गर्न सजिलो छैन ।

त्यतिमात्र नभएर बन्द प्रशिक्षण छाडेका खेलाडीहरूले अलमुताइरीको प्रशिक्षणमा खेल्न नसक्ने बताइरहँदा उनीहरूले मौका पाएको खण्डमा टिममा फर्किन्छन् वा फर्किदैनन् भन्ने पनि एउटा ठूलै प्रश्न हो ।

कैयौं प्रश्नहरू मध्ये एउटा अर्को प्रश्न भनेको के हो भने एन्फाको छानविन गरेर अलमुताइरीलाई दोषी पाएको खण्डमा कारवाही गर्न सक्छ वा प्रशिक्षकलाई बर्खास्त गर्ने हिम्मत देखाउला ? यो पनि प्रश्न कै रुपमा रहेको छ ।

अर्को प्रश्न भनेको के बन्द प्रशिक्षणमा रहेका खेलाडीहरूलाई दोषी पाएको खण्डमा एन्फाले कारबाही गर्ला ? वा थप केही खेलका लागि मैदान बाहिरै राख्ला ? यसलाई पनि प्रश्न कै रुपमा राखौँ ।

यी प्रश्नहरूको उत्तर तत्काल पाउन गाह्रो छ किनभने एसियन कप छनोट अहिले हुन् बाँकी नै छ र अलमुताइरी बन्द प्रशिक्षणमा व्यस्त छन् ।

बन्द प्रशिक्षणबाट बाहिरिएका खेलाडीहरू घटनाको छानविनका लागि कहिले एन्फा, कहिले युवा तथा खेलकुद मन्त्रालय अनि कहिले राष्ट्रिय खेलकुद परिषद् धाइरहेका छन् । र उनीहरूपनि अधिकांश प्रश्नमा अनुत्तरित नै छन् ।

अर्कोतर्फ एन्फा नेतृत्व एन्फाकै निर्वाचन तथा स्थानीय तहको निर्वाचनका लागि घरदैलो कार्यक्रममा व्यस्त छन् र उनीहरूसँग विवाद समाधान गर्ने र माथि उल्लेखित प्रश्नहरूको जवाफ दिने समय छैन् ।

त्यसैले ती सबै प्रश्नहरूको उत्तर समय र घटनाक्रम अनुसार प्राप्त हुने नै छन् भन्ने अपेक्षा गर्न सकिन्छ ।

 


Author

सञ्जीव शाह

सञ्जीव शाह इकागजका स्पोर्टस् ब्यूरो चिफ हुन् ।


थप समाचार
x