विचार

सन्दर्भ : नोना कोइरालाको १६औं स्मृति दिवस

‘नोना कोइराला’ अर्थात राजनीतिको परिभाषा बदल्ने व्यक्तित्व

दुर्गा आचार्य |
माघ १४, २०८० आइतबार ८:५८ बजे

नोना कोइराला अर्थात नेपाली प्रजातान्त्रिक आन्दोलनकी साहसिक व्यक्तित्व, ममताकी खानी, विराटनगरस्थित कोइराला निवासको मियो, क्रान्तिकारी महिला । उनको नाम लिँदा आज पनि हरेक प्रजातन्त्रवादीहरूको शिर झुक्ने गर्छ । आज नेपाली महिलाहरूले राजनीति या सामाजिक क्षेत्रमा जुन अवसर प्राप्त गरेका छन त्यसको मुख्य श्रेय जान्छ नोना कोइरालालाई । 

नोना कोइरालाको निधन लगत्तै तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले भावविह्वल हुँदै भने “कोइराला निवासको बत्ती निभ्यो, त्यो रिक्तता कसले पूरा गर्ने ?” नोना कोइराला नेपाली राजनीतिभित्रको त्यो नाम हो जसले मात्र त्याग र निष्ठाको प्रतिनिधित्व गर्छ । राजनीति केवल प्राप्तिका लागि मात्र गरिन्छ भन्ने समकालीन नेपाली नेताहरूले नोना कोइरालाबाट धेरै कुरा सिक्नु जरुरी देखिन्छ । नोनाले विशेष गरि काम गरेको तीन वटा प्रमुख क्षेत्र छन् । १. राजनीतिक, २. सामाजिक र धार्मिक, ३. सभ्य, अनुशासित र संस्कारयुक्त परिवारको संचालन।


नोनाको राजनीतिक जीवनको सुरूवात २००३ सालको मजदुर आन्दोलनदेखि भएको हो । त्यतिबेला उनले मजदुर आन्दोलनका घाइतेहरूलाई औषधि उपचार र भोजन व्यवस्थापनको जिम्मा लिएकी थिइन् । निरकुंश राणा शासन विरुद्ध २००७ सालमा काँग्रेसले संचालन गरेको सशस्त्र मुक्ति आन्दोलनमा नोनाले हतियार व्यवस्थापन, सरसफाइ र वितरणको जिम्मेवारी लिइन् । कतिपय हतियार त उनले आफ्नो शरीरमा लुकाएर मुक्ति सेना समक्ष पुर्‍याउने गर्थिन् । 

२००७ सालको क्रान्तिमा मुक्ति योद्धाका कमाण्डरका रुपमा आफ्ना छोराहरू वीपी कोइराला, मातृका कोइराला, केशव कोइराला, तारिणी कोइराला र गिरिजाप्रसाद कोइराला जान लाग्दा बुहारीहरूलाई बोलाएर आमा दिव्या कोइरालाले “मेरा छोराहरू लडाईंमा जाँदैछन् उनीहरू मर्न पनि सक्छन्, यदि उनीहरू मरि नै हालेपनि तिमीहरूले आँसु नझारेस” भन्नुभयो (नेपाली राजनीतिमा नोना कोइराला–इन्दिरा प्रसाई) । सासुको यही वचनले नोना कोइरालालाई थप कठोर एंव साहसिक बनाएको थियो । त्यसैले हरेक निरंकुशता विरुद्धको आन्दोलनमा सधैं अग्रमोर्चामा देखिइन् । 

प्रजातन्त्र प्राप्तिपछि नोनासमेतको अगुवाइमा विराटनगरमा “नारी जागृति” संस्था स्थापना भयो । यही संस्थाबाट नारीहरूलाई पढ्न लेख्न र सामाजिक रुपले अगाडि बढाउने अभियानमा लागिन् । आज त्यो संस्था आदर्श बालिका विद्यालयमा परिणत भएको छ । २०१५ सालको प्रथम आम चुनावमा वीपीले कहाँबाट टिकट लिने भनेर सोध्दा नोनाले सांसद वा मन्त्री बन्न राजनीति गरेको छैन म पार्टी मै काम गर्छु भनेर टिकट लिन अस्वीकार गरिन् । २०१७ को शाही ‘कु’पछि नोना पुनः प्रजातन्त्र प्राप्तिको आन्दोलनमा होमिइन् । 

पाटनको शान्त भवन अस्पतालमा १० वर्षीय बिरामी छोरा शेखर (डा.शेखर कोइराला) लाई डाक्टरको जिम्मा लगाएर शाही ‘कु’ का विरुद्ध सडकमा उत्रिन् । आन्दोलनका लागि भूमिगत रहेकी नोनाले २०१७ फागुन १२ गते धादिङ्गबाट आएका तामांग समुदायका महिलाको विरोध जुलुसको नेतृत्व गरिन् र सुरक्षाकर्मीले घेरा हालेर उनलाई त्यहाँबाटै पक्राउ गर्‍यो  । त्यसपछि उनलाई शैलजा आचार्यहरूलाई थुनिएको थानामा लगियो । पटि उनलाई १ वर्ष कैद र पाँच सय रूपैयाँ जरिवानाको फैसला सुनायो ।

जेल बसाई लगतै उनलाई विराटनगर जाने क्रममा २०१९ सालमा बम ओसारेको आरोपमा पुनः गिरफ्तार गर्यो । २०२१ मा जेलबाट नोना वीपी कोइरालासँगै निस्केर २०२४ मा प्रवास गइन् । प्रवासमा रहँदा भारतको  पटना, फरविसगञ्ज, बनारस लगायतका स्थानमा रहेका कार्यकर्ताको भरणपोषणको समेत जिम्मेवारी वहन गरिन् । आममाफी पाएसँगै सबै कार्यकर्तालाई नेपाल पठाइसकेर गिरिजाप्रसाद कोइराला, वसन्त भट्टराई, दुर्गा सुवेदी, गोपाल राई लगायतसँग १३ वर्षको प्रवास बसाइपछि उनी स्वदेश फर्किन् । 

प्रवासमा रहँदा पनि नोनाले हतियार संकलन गर्ने र व्यवस्थापन गर्ने काम गरिन् ।  वीपी कोइरालाले एकपटक गिरिजाप्रसादलाई “हतियार संग्रह गर्ने त्यस्ता जोखिमपूर्ण ठाउँमा तँ आफैं जाँदैनस्, खाली नोनालाई मात्र पठाउँछस्” भनेर भनेका थिए ।

जनमत संग्रहको समयमा गिरीजाप्रसाद कोइरालाको नेतृत्वमा निस्किएको देशव्यापी पैदल यात्रा टोलीमा नोना मात्र महिला सदस्य थिइन् । यसै क्रममा नोनाले ६५ भन्दा बढी जिल्ला भ्रमण गरेकी थिइन् । २०३९ मा पति केशव कोइरालाको निधन भएपछि पनि उनले आफ्नो राजनीतिक यात्रा रोकिन । आफूलाई कमजोर महसुस गरिन् ।

प्रजातन्त्र प्राप्तिको आन्दोलनका क्रममा नोनाको आफ्ना पति केशवसँग १० वर्ष भेट भएन । नोना जेलमा हुँदा केशव प्रवासमा, केशव जेलमा हुँदा नोना प्रवासमा थिए । चिठीपत्रद्धारा मात्रै उनीहरूबीच सम्पर्क हुन्थ्यो । २०४६ सालको आन्दोलनमा नोनालाई पम्प्लेट, पोष्टर, झण्डाको जिम्मेवारी दिएको थियो । यही थाहा पाएर २०४६ फागुन ५ गते नोनालाई विराटनगरस्थित कोइराला निवासबाट पक्राउ गर्‍यो  ।

जनआन्दोलन पश्चात् उनले कहिल्यै पनि लाभको पदमा जाने तर्फ सोचिनन् । जब कृष्णप्रसाद भट्टराई दोस्रो पटक प्रधानमन्त्री बने उनले नोनालाई बालुवाटारबाट फोन गरेर भने “म भोलि राजा कहाँ जाँदैछु, मन्त्रीमा तपाईँको पनि नाम राखेको छु कुन मन्त्रालय लिने इच्छा छ ?” “मलाई अपर हाउसबाट लिन खोज्नुभएको होला, बिन्ती छ मलाई मन्त्री नबनाउनुहोला मेरो नाम नदिनुहोस् । शरीरमा एक थोपा रगत रहेसम्म पार्टीमा काम गर्छु, म मन्त्री बन्दिन” नोनाले भट्टराईलाई जवाफ दिइन् । त्यतिले नोनालाई मन बुझेन कतै मन्त्री बनाइदिने पो होकि भनेर त्यसको ३ दिनपछि काठमाण्डौं आइन् र भट्टराईलाई भेटेरै मन्त्री बन्न अस्वीकार गरिन् । राजनीति भनेको केवल सत्ता र शक्ति मात्रै होइन त्याग पनि हो भन्ने चरितार्थ प्रमाणित गरिदिइन् । अर्थात राजनीतिको परिभाषा नै बदल्ने प्रयास गरिन् । 

विराटनगरस्थित कोइराला निवासलाई एउटा संस्कार युक्त बनाउने काममा अहोरात्र खटिइन् । पिताजी कृष्णप्रसाद कोइरालाले स्थापित गरेको परम्परा, अनुशासन र सँस्कारलाई बचाउँदै कोइराला परिवारको संस्कार र विरासत जोगाइराखिन् । 

२००३ सालको भवानीपुर देखि २०५७ सालसम्मको पार्टी महाधिवेशन नोनाले भाग लिइन् । २०४८ साल देखि २०६२ सालसम्म पार्टीको केन्द्रीय सदस्यका रुपमा रहेकी नोनालाई २०५५ सालमा नेपाली काँग्रेसको महिला विभाग प्रमुखको जिम्मेवारी दिइयो । नेपाल महिला संघको प्रथम महाधिवेशन नोनाले नै सम्पन्न गरिन् । महिला संघको दोस्रो महाधिवेशनको जिम्मेवारी पनि उनलाई नै तोकिएको थियो तर त्यो अगावै उनको निधन भयो ।

राष्ट्रिय सभामा महिलालाई आरक्षण, पार्टीको महाधिवेशन र महासमितिमा हरेक क्षेत्रबाट १ जना महिला अनिवार्य, हरेक प्राविमा १ महिला शिक्षकको दरबन्दी लगायतका विषयमा उनले सधैं आवाज उठाउँदै आइन् । सम्पूर्ण महिलाको प्रेरणाको स्रोत बनिन् । आज महिलाले जुन-जुन क्षेत्रमा जे जति अवसर प्राप्त गरेका छन्, त्यसको जननी नोना नै हो । “मनमा शुद्धता र कर्ममा विश्वास भए आफै सफल भइन्छ” भन्ने नोनाको अनुभव थियो । नोनाले नेपालको प्रजातान्त्रिक आन्दोलन र पार्टी संगठनका निम्ति पुर्‍याएको योगदानको बदलामा उनलाई जुन पद दिएपनि अपुरै रहन्छ ।

२०६२/६३ को जनआन्दोलनमा समेत अग्रमोर्चामा रहेर काम गरिन् । युवाका निम्ति अदम्य साहस बनेर उभिइन् । सबैले सम्मान गर्ने नोना आमा भनेर रहिन् । पछिल्ला दिनमा कोइराला परिवारको जिम्मेवार र परिपक्व अभिभावक, कोइराला निवासको खम्बा र आफ्ना देवर गिरिजाप्रसाद कोइरालाको सर्वाधिक आड भरोसा र प्रेरणाकी स्रोतको रुपमा रहेकी नोनाको २०६३ माघ १४ गते निधन भएपछि गिरिजाप्रसादले भने जस्तै कोइराला परिवारको दियो सदाका लागि निभ्न पुग्यो ।

विभिन्न कालखण्डमा भएका निरंकुशताविरोधी प्रजातान्त्रिक आन्दोलन, राजनीतिक, सामाजिक, धार्मिक, महिला चेतना र सशक्तीकरणका क्षेत्रमा नोना कोइरालाले जुन संघर्षको लडाइँ लडिन् त्यो सधैं अविस्मरणीय रहिरहनेछ । 'नोना कोइराला' नेपाली राजनीतिको चम्किलो इतिहास र पछिल्लो पुस्ताका लागि पथप्रदशक प्रेरणा हो ।


Author

थप समाचार
x