विचार

राजा त्रिभुवनलाई अमेरिकाले भिसा नदिनुको वास्तविकता

सन्तोष खडेरी |
माघ ७, २०७७ बुधबार ७:९ बजे

राजा त्रिभुवन सन् १९५३ र १९५४ मा गरी दुई पटक उपचारका लागि युरोप पुगेका थिए । पछिल्लो पटकको उपचारका क्रममा जुरिचमा उनको निधन भएको थियो । पछिल्लोपटक युरोप यात्राबाट उनी अमेरिका जाने योजनामा थिए । अमेरिकामा सन् १९५२ मा जारी भएको अध्यागमन कानुनअनुसार बहुपति वा बहुपत्नी रहेकालाई अमेरिकाले भिसा नदिने व्यवस्था गरेको थियो ।

राजाका दुई रानी रहेकाले अमेरिकाले अध्यागमन कानुनअनुसार राजालाई भिसा नदिएकाले उनी अमेरिका जान नपाएको भन्‍ने बताइन्‍छ । त्यतिबेला अन्तर्राष्ट्रिय अखबारमा त्यसबारे प्रशस्त समाचार छापिएको पाइन्‍छ । उनलाई अमेरिकाले भिसा नदिनु र उनी अमेरिका नजानुको वास्तविकता के थियो भन्‍नेमा त्यतिबेला प्रकाशित अखबारका आधारमा यो लेख तयार गरिएको छ । त्यस्तै, तत्कालीन परिस्थितिको नेपालको राजनीतिक अवस्था, राजाका दुवै युरोप भ्रमण र निधनबारे समेत संक्षिप्त रूपमा यसमा चर्चा गरिएको छ ।


युरोप जानुपूर्व भारतमा उनको उपचार यात्रा 
नेपालको शाहवंशीय राजतन्त्रको इतिहासमा सबैभन्दा लामो समय झन्डै साढे चार दशक अवधिसम्म नेपालका राजा रहेका महाराजाधिराज त्रिभुवन समुद्र पार गरेर युरोपको यात्रा गर्ने नेपालका प्रथम राजा हुन् । उनले सन् १९४४ को अन्त्यतिर जुध्दशमशेरको शासनकालमा जुध्दका छोरा बहादुरशमशेरको कडा निगरानीमा पहिलो पटक नेपालभन्दा बाहिर उपनिवेशकालीन भारतको भ्रमण गर्ने अवसर प्राप्त गरेका थिए । पहिलो भारत यात्राको करिब दुई वर्षपछि पद्‌मशमशेरका पालामा राजालाई छातीमा समस्या देखिएपछि उपचारका लागि आफ्‍ना दुई छोरा अधिराजकुमार हिमालय र वसुन्धराका साथ १९४६ डिसेम्बरमा एक महिनाका लागि पुनः कलकत्ता गएका थिए ।

राणा शासनविरुध्द २००७ सालको आन्दोलन चल्दै गर्दा उनले ६ नोभेम्बरमा पहिले काठमाडौंस्थित भारतीय दूतावासमा शरण लिएका थिए । त्यस्तै ११ नोभेम्बरमा उनी भारत निर्वासनमा गएका थिए । त्यतिबेला (११ नोभेम्बर १९५०-१५ फेब्रुअरी १९५१) सम्म करिब चार महिना उनी दिल्लीमा बसेका थिए । २००७ सालको नेपाली क्रान्ति भारतको मध्यस्थतामा सम्झौतामा टुंगिएपछि उनी काठमाडौं फर्किएका थिए । त्यसको केही महिनापछि नै राजाको छातीमा पुनः समस्या देखिन थालिसकेको थियो ।

राजा त्रिभुवनको तस्वीर ।

राणा-कांग्रेस संयुक्त सरकारको विघटनपछि मातृकाप्रसाद कोइरालाको नेतृत्वमा नयाँ सरकार गठन भएलगत्तै उनी उपचारका लागि भारत गएका थिए । मन्त्री महावीरशमशेरका साथ बम्बईमा रहेका छाती रोग विशेषज्ञ अस्ट्रेलियन डाक्टरसँग उनले आफ्‍नो छातीको चेकजाँच गराएका थिए । १९५१ डिसेम्बर अन्त्यमा उनी बम्बईको ताज होटेलमा रहेर तीन दिनसम्म डाक्टरसँग उपचार गराएका थिए । (दी इन्डियन एक्सप्रेस, २९ डिसेम्बर १९५१)

त्यति बेलैबाट सुरु भएको राजाको साधारण उपचार त्यसको करिब डेढ वर्ष सन् १९५३ को मध्यसम्म कलकत्ता र बम्बईमा निरन्तर रूपमा चलिरह्यो । सोही जुन पहिलो साता राजाका फिजिसियन डाक्टरले तनावका कारण यस्तो भएको हुन सक्ने भन्दै राजालाई दुई-तीन महिनासम्म पूर्ण रूपमा आराम गरेमा मात्र स्वास्थ्यलाभ मिल्ने सुझाव दिएका थिए । (दी इन्डियन एक्सप्रेस, ८ जुन १९५३)

संयोग पनि हुन सक्छ, डाक्टरले त्यसो भनेको एक सातापछि राजाले पछिल्लो १० महिनायता आफ्नै प्रत्यक्ष शासनअन्तर्गत गठन गरेको शाही परामर्श दातृ सरकार विघटन गर्दै मातृकाप्रसाद कोइरालालाई पुनः प्रधानमन्त्रीमा नियुक्त गरे । (दी इन्डियन एक्सप्रेस, १६ जुन १९५३)

डाक्टरको सुझावअनुसार प्रत्यक्ष शासन छोडेर दुई-तीन महिना आराम गर्दा समेत उनलाई स्वास्थ्य लाभ मिलेन । त्यतिबेला राम्रो स्वास्थ्य सेवा पाइने भारतका कलकत्ता र बम्बईजस्ता सहर थिए । त्यहाँ निरन्तर उपचार गर्दासमेत उनको स्वास्थ्यमा सुधार आएन र मुटुमा समस्या देखिन थालेपछि डाक्टरहरूले राजालाई थप उपचारका लागि युरोप जान सुझाव दिए ।

सोही सेप्टेम्बर महिनामा हृदयघात भएपछि दुई हप्तासम्म उनी कलकत्तामा रहेर उपचार गराए । त्यस्तै त्यहीँबाट सोही ११ अक्टोबरमा बम्बईबाट उपचारका लागि युरोप जाने कार्यक्रमसमेत तय गरे । यता १७ सेप्टेम्बरमा उनी कलकत्ताबाट नेपाल फर्किए । आफ्‍नो अनुपस्थितिमा काम गर्न तीन सदस्यीय राजकीय परिषद्को गठन गरे । भारतका डाक्टरहरूले त्यतिबेला राजालाई हवाई उडान नगर्न कलकत्ताबाट रेल यात्रा गरी बम्बई जान र त्यहाँबाट पानीजहाजमा विदेश जान सुझाव दिएका थिए । (दी इन्डियन एक्सप्रेस, १८ सेप्टेम्बर, १९५३)

राजा त्रिभुवन पछिल्लो केही समयदेखि बिमारी रहेको र उपचारका लागि केही समय विदेशमा रहनुपर्ने भएकाले, राष्ट्राध्यक्ष राजा मुलुकबाहिर रहुन्जेल मुलुकको दैनिक कामकाज नरोकियोस् भन्‍नका लागि एउटा राजकीय परिषद् गठन गर्नुपर्ने आवश्यकताअनुसार परिषद् गठन गरेको जनाइएको थियो । तीन सदस्यीय राज्य परिषद्‍मा जेठी र कान्‍छी बडामहारानीहरू क्रमशः कान्ति राज्यलक्ष्मी देवी र ईश्वरी राज्यलक्ष्मी देवी त्यस्तै युवराज महेन्द्र वीरविक्रमलाई राखिएको थियो । (नेपाल गजेट, २० सेप्टेम्बर, १९५३)

त्यतिबेलाको अवस्था कस्तो थियो भने उपचारका लागि राजा युरोप जाने कार्यक्रम भारतबाट नै मिलाइएको हुन्थ्यो । राजाको उपचार र यात्राबारे नेपालभन्दा भारत बढी जानकार हुन्थ्यो । नेपालमा त्यसबारे सार्वजनिक जानकारी हुँदैनथ्यो । राजा उपचारका लागि विदेश जाँदैछन् भन्‍ने समाचार पहिले भारतबाट भारतीय प्रेसमा छापिएपछि मात्र त्यही खबरबाट यता नेपालमा जानकारी हुन्थ्यो । नेपालका अखबारले समेत त्यही खबरलाई आधार मानेर यहाँ काठमाडौंमा समाचार सम्प्रेषण गर्थे । (समाज दैनिक, ११ सेप्टेम्बर, १९५४)

राजाको पहिलो युरोप उपचार यात्रा 
२१ सेप्टेम्बरमा राजा युरोपका लागि भन्दै काठमाडौंबाट कलकत्ता उडे । कलकत्ताबाट रेल यात्रा गरी राजा २९ सेप्टेम्बरमा बम्बई पुगे । त्यतिबेला बिमारी अवस्थाका कारण अब राजा त्रिभुवनले सत्ता त्याग गर्छन् र उनका छोरा युवराज महेन्द्र नयाँ राजा हुन सक्छन् भन्‍ने चर्चा समेत चलेको रहेछ । तर पछि नेपालमा राजाको अनुपस्थितिमा कार्य सञ्चालन गर्न राजकीय परिषद् गठन गरिसकेको हुनाले त्रिभुवनले अब गद्दी त्याग गर्दैनन् भनी त्यतिबेलाका सञ्चारमाध्यमले समाचार सम्प्रेषण गरेका थिए । (इन्डियन डेली मेल, २ अक्टोबर, १९५३)

त्यसो त राजा त्रिभुवन उपचारका लागि मुलुकबाहिर गएसँगै अब उनले गद्दी त्याग गरेका हुन् । अब उनी युरोप वा भारततिरै रहन्‍छन् र नेपाल फर्किंदैनन् भन्‍ने हल्ला उनी फर्किएर नआउँदासम्म काठमाडौंमा व्यापक थियो भन्‍ने व्यहोराको सूचना अमेरिकी खुफिया एजेन्सी सीआईएले समेत राखेको रहेछ । यस्तो हल्ला दुई थरीले चलाएका होलान् भन्‍ने अनुमान गर्न सकिन्‍छ । एकथरी जसले त्रिभुवन रहिरहेसम्म मातृकाप्रसादबाहेक आफूहरूलाई सरकार बनाउन दिँदैनन् भन्‍ने राजनीतिक दल पक्षधर । अर्कोथरी तत्कालीन युवराज महेन्द्र पक्षधर । आफूलाई सहज सत्ता नदिएर भाइहरूलाई दिन्‍छन् भन्‍ने आशंकाले यस्तो हल्ला तत्कालीन युवराज महेन्द्रले समेत चलाएको हुन सक्ने अनुमान गर्न सकिन्‍छ किनकि त्यसको सबैभन्दा बढी तात्कालिक लाभ उनलाई नै थियो ।

बम्बईमा राजासँग बिदाइ भेट गर्न १० अक्टोबरमा नेपालका प्रधानमन्त्री मातृकाप्रसाद कोइरालादेखि भारतका प्रधानमन्त्री जवाहरलाल नेहरुसम्म पुगेका थिए । नेहरुले त्यहाँको एम्ब्यासडर होटेलमा संयुक्त रूपमा नेपालका राजा त्रिभुवन र प्रधानमन्त्री नेहरुलाई भेटेका थिए । त्यस्तै नेपालका राजा, प्रधानमन्त्री र भारतका प्रधानमन्त्रीलाई बम्बईका तत्कालीन मुख्यमन्त्री मोरारजी देसाईले आतिथ्य प्रदान गरेका थिए । (दी इन्डियन एक्सप्रेस, ११ अक्टोबर, १९५३)

आफ्‍नो पूर्वनिधारित कार्यक्रमअनुसार उपचारका लागि युरोप प्रस्थान गर्नुपूर्व राजा त्रिभुवनले विज्ञप्ति जारी गरेका थिए । जसमा उनले नेपालका विभिन्‍न राजनीतिक दलका नेताहरूलाई दोषारोपणमा नलागी मिलेर काम गर्न आह्वान गरेका थिए । राजा आफू आफ्‍नो जरुरी स्वास्थ्य उपचारका लागि विदेश जान लागेको बताएका थिए । उनले आफू जति सक्दो चाँडो उपचार सकेर ठीक भएर नेपाल फर्किने विश्वाससमेत व्यक्त गरेका थिए । साथै उनले आफ्‍नो अनुपस्थितिमा नेपाली सेना, कर्मचारीलगायत अन्य सबै सरोकारवाला निकायहरूलाई प्रधानमन्त्री मातृकाप्रसाद कोइराला र नेपाल सरकारलाई सहयोग गर्न आग्रहसमेत गरेका थिए ।

सन् १९५३ मा भारतीय प्रधानमन्त्री नेहरुका साथमा राजा त्रिभुवन भारतमा ।

बम्बईमा राजालाई बिदाइ गर्न भारतस्थित नेपाली राजदूत लेफ्टिनेन्ट जर्नेल विजय शमशेर जबरासमेत उपस्थित भएका थिए । तर विडम्बना राजा फर्किएर नेपाल नआउँदै सोही २९ डिसेम्बरमा राजदूत विजयशमशेरको निधन भयो । (हेर्नुस् बाथटबमा अन्तिम सास फेरेका ती कूटनीतिज्ञ राजाका साथमा उनका भिनाजु राणाकालीन क. ज. एवं उनले गठन गरेको शाही परामर्शदातृ सरकारका सदस्य केशरशमशेर जबरा, उनका कान्‍छा छोरा अधिराजकुमार वसुन्धरा वीरविक्रम, सैनिक सचिव योगविक्रम राणालगायतका नेपाली अधिकारी थिए । यसरी राजा ११ अक्टोबरका दिन बम्बईबाट इटालियन जल परिवहन लोइड ट्राइएस्टोलनको एसएस भिक्टोरिया १११ नामक पानीजहाजमा चढेर स्विट्जरल्यान्डका लागि इटालीको जेनोवा हुँदै त्यसतर्फ प्रस्थान गरेका थिए । (दी इन्डियन एक्सप्रेस, १२ अक्टोबर, १९५३)

भारतको बम्बईदेखि इटालीको जेवनासम्मको पानीजहाजको यात्रामा नै राजालाई मुटुमा पुनः समस्या देखिएको थियो । बम्बईबाट प्रस्थान गरेको १३ दिनपछि २३ अक्टोबरका दिन राजा इटाली पुगेका थिए । इटालीमा राजा पुग्दा उनले यात्रा गरेको इटालियन जल परिवहनले नेपालका राजा त्रिभुवन टी शाहको नाममा यात्रा गरी त्यहाँ आइपुगेको जानकारी गराएको थियो । (इन्डियन डेली मेल, २४ अक्टोबर १९५३)

त्यहाँ पुग्‍नासाथ सोही रात तुरुन्त उनलाई त्यहाँको नेपोल्स सहरमा रहेको ‘इन्टरनेसनल हस्पिटल’मा भर्ना गरिएको थियो । उनको मुटुको समस्या र आन्द्राभुँडीसम्बन्धी आन्तरिक समस्याको आशंकामा अस्पताल पुर्‍याइएको भनिएको थियो । राजाको स्वास्थ्यको चेक जाँचपछि उक्त अस्पतालका निर्देशक रहेका स्विस प्राध्यापक डाक्टर पउल बर्काडले अन्य अस्पतालका परामर्शदाता डाक्टरहरूसँग समेतको छलफलपछि राजामा त्यतिबेला निकै गम्भीर समस्या नदेखिएको बताएका थिए । अस्पतालले स्वास्थ्य बुलेटिन नै जारी गरेर राजाको स्वास्थ्य अवस्था सामान्य र सन्तोषजनक रहेको जनाएको थियो । निर्देशक पउलले अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सलाई दिएको जानकारीअनुसार राजालाई पानीजहाजमा साधारण खालको हृदयघात भएको थियो । राजालाई यस्तो समस्या पहिले पनि देखिएकाले तत्काल यात्रा नगर्न सुझाव दिँदै पउलले हालको अवस्था भने सामान्य रहेको जानकारी गराएका थिए । साथै पउलले समुद्रको यात्रा गरेका कारणले समुद्री बिमारीका कारणसमेत त्यस्तो भएको हुन सक्ने बताएका थिए । (दी इन्डियन एक्सप्रेस, २५ अक्टोबर, १९५३)

२७ अक्टोबरका दिनयता भारतको दिल्लीस्थित नेपाली राजदूतावासले विज्ञप्ति जारी गरी इटालीको इन्टरनेसनल हस्पिटलमा उपचाररत राजा खतरामुक्त रहेको बताउँदै दिँदै स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी गराएको थियो । (इन्डियन डेली मेल, २४ अक्टोबर, १९५३)

नेपोल्सस्थित इन्टरनेसनल हस्पिटलमा करिब एक साताको उपचार पछि ३० अक्टोबरका दिन राजालाई यात्राको अनुमति प्रदान गरी अस्पतालले डिस्चार्ज गरेकोको थियो । डिस्चार्जपछि सोही दिन राजा थप उपचारका लागि रेलद्वारा स्विट्‌रल्यान्डतर्फ प्रस्थान गरेका थिए । (इभिनिङ स्टार, ३० अक्टोबर १९५३) इटालीबाट करिब सवा चार सय किलोमिटरको रेल यात्रा गरेर राजा स्विट्जरल्यान्डको जुरिच पुगेका थिए । उनी त्यहाँ पुग्नासाथ त्यहाँको कुनै सुविधा सम्पन्‍न महँगो अस्पतालमा उपचार गर्ने जनाइएको थियो । (इन्डियन डेली मेल, २ नोभेम्बर, १९५३)

राजा त्यहाँ पुगेपछि उनी जुरिचस्थित क्यान्टन्स अस्पतालमा भर्ना भएका थिए । उनको उपचारमा उक्त अस्पतालका निर्देशकसमेत रहेका प्रसिध्द मुटुरोग विशेषज्ञ प्राध्यापक डा. विल्हेम लोफ्लर संलग्न थिए । त्यस्तै उनलाई त्यहाँ डाक्टरहरूले निरन्तर निगरानीमा राखेर उपचार गरिरहेका थिए । (रिडिङ इगल ११, नोभेम्बर, १९५४)

 सन् २००६ मा ५५ औं प्रजतन्त्र दिवसको अवसरमा प्रकाशित हुलाक टिकट

त्यतिबेला राजा युरोपका फ्रान्स, इटाली र स्विट्जरल्यान्ड गरी तीनवटा मुलुकमा रहे । जसमध्ये फ्रान्ससँग सन् १९४९ मा नै नेपालको कूटनैतिक सम्बन्ध स्थापना भइसकेको थियो । इटाली र स्विट्जरल्यान्डसँग नेपालको औपचारिक कूटनैतिक सम्बन्ध स्थापना भई नसकेको भए पनि ती मुलुकसँग नेपालको पुरानै सम्बन्ध थियो । सन् १९३३ मा इटालीका राजाका तर्फबाट नेपालका तत्कालीन प्रधानमन्त्री महाराज जुध्दशमशेरलाई त्यहाँको सर्वोच्च सम्मानको पदक प्राप्त भएको थियो । त्यस्तै नेपालका तर्फबाट भने अर्को वर्ष १९३४ मा इटालीका राजालाई नेपालको सर्वोच्च सम्मान प्रदान गरेका थिए । स्विट्जरल्यान्डबाट राणाकालमा नै नेपालको खनिजबारे सर्वे गर्न एक स्विस टोली नेपाल आएको थियो । हाम्रो नेपालका दूतावास ती मुलुकमा थिएनन् । त्यहाँ भारतीय दूतावासले राजालाई आवश्यक सहयोग उपलब्ध गराएको थियो ।

भारतका प्रशासक, कूटनीतिज्ञ एवं कानुनविद् बेनेगल नरसिंह राउको महत्वपूर्ण भूमिका भारतको संविधान लेखनमा रहेको थियो । उनै राउको ३० नोभेम्बर १९५३ मा जुरिचमा निधन भयो । अर्को दिन जुरिचमा तिनको अन्तिम संस्कारमा नेपालका राजाका प्रतिनिधिका रूपमा राजासँग जुरिचमा रहेका जनरल केशरशमशेर सहभागी भएका थिए । (दी इन्डियन एक्सप्रेस, २, डिसेम्बर १९५३)

जुरिचबाट इटालीको रोम हुँदै सोही ७ डिसेम्बरका दिन उनी फ्रान्सको पेरिस पुगेका थिए । पेरिसमा भने राजालाई फ्रान्सका तत्कालीन राष्ट्रपति भान्सिन्ट ओरियलले नै आतिथ्य प्रदान गरेका थिए । पेरिस पुगेको दुई दिनपछि नेपालका राजालाई फ्रान्सेली राष्ट्रपति भवनमा नै निम्त्याएर त्यहाँका राष्ट्रपतिले राजाको सम्मानमा दिवाभोजको आयोजनासमेत गरेका थिए । (कोभेन्ट्री इभिनिङ टेलिग्राफ, ९ डिसेम्बर १९५३)

सोही समारोहमा फ्रान्सका राष्ट्रपति ओरियलले नेपालका राजा त्रिभुवनलाई फ्रान्सको सर्वोच्च सम्मान ‘ग्रान्ड काय डला लिजियोड्नेयर पदक’को तक्मासमेत प्रदान गरेका थिए । राजा पेरिसमा रहँदा त्यहाँ फ्रान्सस्थित तत्कालीन भारतीय राजदूत सरदार हरदत सिंह मलिकले राजासँग भेट गरी १० डिसेम्बर १९५३ मा भारतका प्रधानमन्त्री नेहरुलाई राजाको स्वास्थ्य अवस्थाको जानकारीसहितको पत्र पठाएका थिए । त्यो प्राप्त गरेपछि नेहरुले फ्रान्समा राजालाई टेलिग्राम पठाएर राजाको स्वास्थ्य अवस्थामा भइरहेको सुधारप्रति खुसी व्यक्त गर्दै राजाले केही समय दक्षिणी फ्रान्समा आराम गर्दा पूर्ण रूपमा ठीक हुनेमा आफ्‍नो विश्वास व्यक्त गरेका थिए । नेहरुले राजालाई नेपालमा सन्तोषजनक अवस्था नरहेकाले डाक्टरहरूले अनुमति दिनासाथ जति सक्यो चाँडो फर्किएर आउन आग्रह गरेका थिए । (सेलेक्टेड वक्र्स अफ जवाहरलाल नेहरु, दोस्रो संस्करणको २४औं खण्ड)

पेरिसमा केही हप्ता बसेर राजा १९ डिसेम्बरमा फ्रान्सको अर्को क्षेत्र निस पुगेका थिए । युरोप जाँदा पानीजहाजमा गएको र समुद्री यात्रा गर्दा स्वास्थ्यमा झन् अप्ठ्यारो परेपछि यसपटक फर्किंदा भने राजा हवाईजहाजमार्फत फर्किन चाहे । निसमा केही दिन बसेपछि उनी नेपाल फर्किंदा निसबाट पहिले इजिप्टको कायरोमा अवतरण गरे । कायरोमा उनलाई इजिप्टका तत्कालीन राष्ट्रपति मोहम्मद नागुइबले स्वागत गर्दै आतिथ्य प्रदान गरे । यसरी उनी युरोपमा ११ हप्ता रहेर कायरो हुँदै एअर इन्डिया इन्टरनेसनलको विमानबाट ५ जनवरीको बेलुकी भारतको बम्बईमा ओर्लिए । बम्बईमा राजालाई स्वागत गर्न प्रधानमन्त्री मातृकाप्रसाद कोइराला स्वयं बम्बई पुगेका थिए । (दी इन्डियन एक्सप्रेस, ५ र ७ जनवरी १९५४)

बम्बईबाट कलकत्ता हुँदै उनी सोझै काठमाडौं फर्किए । केही महिना काठमाडौंमा रहेपछि राजा १९५४ अप्रिल २९ मा योजना तथा विकासमन्त्री महावीरशमशेरका साथ दिल्ली पुगे । सोही जनवरीमा युरोपबाट फर्किएपछिको उनको पहिलो भारत यात्रा थियो, त्यो । राजा त्रिभुवन दिल्लीमा ओर्लिंदा भारतका प्रधानमन्त्री नेहरु भने श्रीलंकाको भ्रमणमा थिए । उनलाई पालम हवाईअड्डामा भारतीय राष्ट्रपतिका सैनिक सचिव मे.ज. चटर्जी र विदेश मन्त्रालयका शिष्टाचार महापाल आ.ई.एस. चोपडाले स्वागत गरेका थिए ।

दिल्लीमा उनले दिवंगत राजदूत विजयशमशेरकी पत्नी सरलाकुमारीसँग समेत भेट गरी विजयप्रति श्रध्दाञ्जली एवं पत्नीप्रति सान्त्वना व्यक्त गरे । साताव्यापी उनको त्यस दिल्ली यात्रालाई उपचारका लागि भनिएको भए पनि दिल्ली पुगेपछि राजनीतिक चर्चा हुनु सामान्य नै थियो । अघिल्लो वर्षदेखि नै भारतले सन् १९५० को सन्धिको हवाला दिएर नेपालको परराष्ट्र मामिला भारतसँगको सहकार्यमा हुनुपर्छ भनेर नेपालमाथि दबाब बढाइरहेको थियो । नेहरुसँगको राजाको भेटमा पुनः त्यही चर्चा चल्न सक्ने विश्लेषण त्यतिबेलाका मिडियाले गरेका थिए । भारतको त्यस्तो प्रस्तावलाई नेपालका राजा एवं प्रधानमन्त्री कसैले पनि स्वीकार गरेनन् । त्रिभुवनकालसम्म भारतका तर्फबाट अगाडि सारिरहने त्यो योजना महेन्द्रको शासनकालसम्म आइपुग्दा भने तुहिएर गयो । (दी इन्डियन एक्सप्रेस, १ मे, १९५४)

सन् १९५४ को जुन पहिलो साता राजालाई फेरि हृदयाघात भयो । सोही महिनाको अन्त्यमा राजाले आफ्‍नो ४८औं जन्मदिन मनाउँदा उनलाई पछिल्लो हृदयाघातबाट केही आराम मिलेको भए पनि उनी अस्वस्थ नै थिए । उनको ४८औं जन्मदिनको उपलक्ष्यमा मुलुकभरका मन्दिर, गुम्बालगायतमा राजाको स्वास्थ्यलाभको कामनासहितको पूजापाठ एवं जप गरिएको थियो । (दी स्पोक्समेन रिभ्यु, १० जुलाई, १९५४)

राजाको दोस्रो युरोप उपचार यात्रा 
राजा उपचारका लागि पुनः स्विट्जरल्यान्डको जुरिच जाने योजनाका साथ सोही अक्टोबर पहिलो साता कलकत्तातर्फ प्रस्थान गरे । राजाले यसपटक समेत आफूले मुलुक छोड्नुपूर्व आफ्‍नो अनुपस्थितिमा दैनिक कामकारबाही नरोकियोस् भनी त्यसअघिको जस्तै राजकीय परिषद्को गठन गरे । तर त्यसअघि झैँ त्यसमा आफ्‍ना दुवै बडामहारानीहरूलाई नराखी तीन जना छोराहरू क्रमशः महेन्द्र, हिमालय र बसुन्धरालाई राखेर तीन सदस्यीय परिषद् गठन गरे । राजकीय परिषद्को छाप युवराज महेन्द्रसँगै थियो । त्यस्तै कुनै पनि निर्णय लिन दुईजनाको बहुमत हुनुपर्छ भन्‍ने थियो । परिषद्ले गर्ने काम प्रधानमन्त्रीको सहमतिमा गर्ने, त्यस्तै मन्त्रीहरू थप्‍न-हटाउन अधिकार दिइएको भए पनि वैदेशिक मामिलाबारे कुनै अधिकार थिएन । (नेपाल गजेट, १ अक्टोबर, १९५४) त्यतिबेला राजा मुलुकमा नभएकाले पनि चीनसँग सम्बन्ध स्थापना गर्न ढिलाइ भएको हो भन्‍ने बुझिन्‍छ ।

सन् १९४८ डिसेम्बरमा तत्कालीन अमेरिकी राजदूत लोय हेण्डरसनले ओहदाको प्रमाणपत्र पेश गर्दा औपचारिक पोशाकमा गद्दी बैठकमा खिचिएको राजा त्रिभुवनको तस्वीर ।

राजाको सवारी चलाउन उनका साथमा प्रधानमन्त्री मातृकाप्रसाद कोइरालासमेत भारत गएका थिए त्यस्तै राजाको साथमा यसपटक उनका दुवै बडामहारानीहरूसमेत थिए । सोही १५ अक्टोबरमा कलकत्तामा नेपालका राजा र प्रधानमन्त्रीसँग भारतका प्रधानमन्त्रीले संयुक्तरूपमा भेटवार्ता गरे । राजालाई एकथरीले उपचारका लागि अमेरिका जान सुझाव दिएका थिए तर पहिले जुरिच जाने र त्यहीँका डाक्टरको थप सल्लाहमा मात्र अगाडि बढ्ने भन्‍ने थियो । अमेरिका बारेको सबै घटनाक्रम यसै आलेखमा अगाडि चर्चा गरिनेछ ।

अघिल्लो पटक पानीजहाजमा जाँदा समस्या परेकाले राजाले पानीजहाज प्रयोग गर्न छोडिसकेका थिए । सन् १९५४ को ३० अक्टोबरमा राजा आफ्‍ना दुबै बडामहारानीहरू, कान्‍छा छोरा वसुन्धरा, सैनिक सचिव योगविक्रम राणालगायतका अन्य सहयोगीहरूका साथ बम्बईबाट एअर इन्डिया इन्टरनेसनलको विमानमा दोस्रोपटक युरोपका लागि कायरोतर्फ प्रस्थान गरे । समाचारमा उल्लेख गरिएअनुसार रनवेमा रहेको विमानसम्म राजाको झोलालगायतका सामग्रीका साथ दुई अक्सिजन सिलिन्डरसमेत छोड्नका लागि गाडी पुगेका थियो । (इन्डियन डेली मेल, ७ नोभेम्बर, १९५४)

राजा बम्बईबाट, कायरो त्यहाँबाट इटालीको रोम त्यस्तै रोमबाट ६ नोभेम्बरमा हवाईयात्रा गरेर स्विट्जरल्यान्डको जुरिच पुगेका थिए । त्यहाँ नेपालको दूतावास नरहेकाले भारतीय दूतावासका अधिकारीहरू आफैँ विमानस्थल पुगेर रनवेबाट राजालाई सीधा डाउनटाउन होटेलसम्म पुर्‍याएका थिए । त्यहाँस्थित भारतीय दूतावासका प्रवक्ताले नै राजा कलेजो र मुटुको रोगको उपचारका लागि जुरिच आइपुगेको जानकारी गराए । त्यसो त अक्टोबर पहिलो साता राजा भारत पुगेलगत्तै उनी उपचारका लागि अमेरिका जाने चर्चा सुरु भइसकेको थियो ।

प्रवक्तासँग त्यसबारे जानकारी खोज्दा आफूलाई त्यसबारे जानकारी नभएको बताए । सञ्चारकर्मीले राजाको टोलीसँग प्रतिक्रिया लिन खोज्दा टोलीका कुनै पनि सदस्यले कुनै जानकारी दिएनन् । (इभिनिङ स्टार, ७ नोभेम्बर, १९५४) राजा जुरिच पुगेको अर्को दिन ७ नोभेम्बरमा अघिल्लो वर्ष उपचार गरेको क्यान्टन्स अस्पतालमा भर्ना गरिएको थियो । (दी क्यालेग्री हेराल्ड, ८ नोभेम्बर, १९५४)

हिरक जयन्तीको अवसरमा राजा त्रिभुवनकि रानी कान्तिराज्य लक्ष्मीदेवीको नाममा प्रकाशित हुलाक टिकट

त्यतिबेला भारत र बेलायतमा गरी दुईवटा मुलुकमा नेपालको राजदूतावास त्यस्तै बर्मा र तिब्बतमा गरी दुईवटा मुलुकमा कन्सुलेट जनरल कार्यालय मात्र थियो । फ्रान्स र अमेरिकाको समेत जिम्मेवारी हेर्ने गरी लन्डनमा भएको राजदूतावास त्यतिबेला राजदूतविहीन थियो । राणाकालमा नै नियुक्त भएका शंकरशमशेर जबरालाई राजाले नेपाल छोड्नुपूर्व नै सरकारविरुध्द विज्ञप्ति जारी गरेकाले पाँच वर्षे कार्यकाल सकिएको भन्दै सोही सेप्टेम्बर पहिलो साता फिर्ता बोलाइएको थियो । (समाज दैनिक, १६ सेप्टेम्बर, १९५४) २००७ सालको समयमा राणाले घोषणा गरेका नाबालक राजा ज्ञानेन्द्रलाई बेलायतबाट मान्यता दिलाउन शंकरशमशेरले गरेको प्रयासलाई दरबारले रुचाएको थिएन । शंकरको ठाउँमा नयाँ राजदूत नियुक्त नगरिएकाले त्यहाँ राजदूत थिएनन् ।

राजाको अमेरिका भ्रमणको चर्चा, विवाद र वास्तविकता
सन् १९४७ मा वाणिज्य तथा मैत्री सन्धिबाट सुरु भएको नेपाल-अमेरिका सम्बन्ध फेब्रुअरी १९४८ बाट मिनिस्टर तहको राजदूत र १९५२ बाट राजदूत स्तरको सम्बन्धमा स्तरोन्‍नति भइसकेको थियो । सन् १९४८ देखि १९५२ सम्म लगातार पाँच वर्षसम्म तत्कालीन अमेरिकी राष्ट्रपति ह्यारी एस ट्रुमेनले राजा त्रिभुवनलाई सम्बोधन गरेर विजया दशमीको अवसरमा शुभकामना सन्देश पठाइरहेका थिए । सन् १९५३ मा मात्रै राजालाई हृदयाघात हुँदा ट्रुमेनपछिका नयाँ राष्ट्रपति आइजनआवरले स्वास्थ्यलाभको शुभकामना सन्देश पठाएका थिए ।

सन् १९५२ मा जारी भएको अमेरिकाको अध्यागमन र राष्ट्रियतासम्बन्धी कानुनको खण्ड २१२ मा एकसाथ दुई पत्नी वा पति भएका व्यक्तिलाई भिसा नदिने व्यवस्था गरिएको थियो । अखबारमा छापिएका समाचारका अलावा केही अधिकारकर्मीहरूले राजाका दुइटी रानी भएकाले सन् १९५२ मा जारी भएको अमेरिकी अध्यागमन कानुनले राजालाई अमेरिका जान वर्जित गर्ने विषय लगातार उठाइरहेका थिए । जुरिचबाट राजा थप उपचारका लागि अमेरिका जान चाहेका छन् भन्‍ने खबर सार्वजनिक भएसँगै त्यस्तो चर्चा हुन थालेको थियो । शीतयुध्द प्रारम्भ भइसकेको समयमा अमेरिकाइतरका सञ्चार माध्यमहरूमा समेत अध्यागमन कानुनअनुसार राजाको भ्रमण हुन नसक्ने समाचार प्रकाशित भइरहेको थियो । त्यसमा उनीहरूको अर्कोतर्क नेपाल अमेरिकाको लागि त्यस्तो महत्वपूर्ण साझेदार नभएकाले नेपालका राजालाई अमेरिकाले स्वागत गर्दैन भन्‍ने थियो ।

राजा नेपालबाट भर्खरै भारत पुगेका बेला नेपाली दूतावासका अधिकारीहरूलाई हवाला दिएर अमेरिकी अखबार ‘इभिङ स्टार’ले ११ अक्टोबर, १९५४ को अंकमा ‘नेपालका राजाले दुई रानीका साथ छिट्टै अमेरिकाको भ्रमण गर्न सक्छन् ।’ शीर्षकमा समाचार छापेको थियो । उक्त समाचारका अनुसार राजा अहिले स्विट्जरल्यान्ड जान भारतमा छन् । छिट्टै उनी त्यहाँ पुगेपछि उपचारका लागि अमेरिका जाने वा नजाने भन्‍ने त्यहाँका डाक्टरहरूको सल्लाहमा भर पर्नेछ । उनको कमजोर स्वास्थ्य अवस्थाका कारण थप उपचारका लागि डाक्टरले अनुमति दिएमा उनको अमेरिकाको भ्रमण हुनेछ र त्यो व्यक्तिगत भ्रमण हुनेछ । उनले नेपालको परम्पराअनुसार एकैदिन विवाह गरेकाले उनका साथमा दुई रानी छन् भन्‍ने उल्लेख गरिएको छ । (इभिङ स्टार, ११ अक्टोबर, १९५४) तर त्यसमा बहुविवाह र अमेरिकाको अध्यागमन कानुनबारे कतै केही चर्चा गरिएको छैन । राजा कायरोदेखि इटालीको यात्राकै क्रममा भएको समयमा सोही अखबारको ४ नोभेम्बरको अंकमा त्रिभुवन अमेरिका आउने योजनामा राजाको दुईवटी रानीका कारण त्यहाँको अध्यागमन कानुनका कारण अवरोध भएपछि अमेरिकी अधिकारीहरूले नेपालका राजालाई अमेरिकामा स्वागत गर्न अन्य उपायबारे छलफल गरिरहेका छन् भन्‍ने समाचार प्रकाशित गरेको थियो । (इभिङ स्टार, ४ नोभेम्बर, १९५४)

त्यस्तै ३० नोभेम्बर १९५४ मा प्रकाशित अर्को समाचारमा एक पत्नी भएको व्यक्तिलाई मात्र प्रवेशाज्ञा दिने अमेरिकी कानुनका कारण राजा त्रिभुवनको अमेरिका भ्रमण हाललाई स्थगित गरेको तर सबै व्यवस्था मिलेमा छिट्टै हुन सक्ने उल्लेख थियो । उक्त समाचारमा राजाका सैनिक सचिव लेफ्टिनेन्ट जनरल योगविक्रम राणाको प्रतिक्रिया पनि समावेश गरिएको थियो । जसमा राणाले राजा कहिल्यै विधुर र निःसन्तान हुन नपरोस् भनेर दुईवटी रानीसँग एकसाथ विवाह गरेको बताएका थिए । त्यस्तै उनले राजा रानीबाहेक एकल यात्रा नगर्ने त्यस्तै दुईमध्ये एउटी रानीलाई छाडेर अर्की रानीलाई मात्र साथमा लैजान सक्दैनन् भनी बताएका थिए । (इभिङ स्टार, ३० नोभेम्बर, १९५४)

त्यतिबेलाका अन्य केही अखबारहरूले विदेश मन्त्रालयका पूर्व एवं बहालवाला कूटनीतिज्ञको नाम उल्लेख नगरी उनीहरूको हवालाबाट राजाको सहज अमेरिका भ्रमण हुन सक्ने विभिन्‍न उपायबारे व्याख्या विश्लेषणसहितका खबर सम्प्रेषण गरेका थिए ।

केहीले अमेरिकी विदेश मन्त्रालयलाई विशेष आग्रह गर्दा विदेशमन्त्री जोन फोस्टर डलेसले आफूसँग भएको अधिकार प्रयोग गरी अतिथिका लागि त्यो कानुन नलाग्ने व्यवस्था गर्न सक्छन् भन्‍ने विषय उल्लेख गरेका थिए । त्यस्तै केहीले विदेश मन्त्रालयसँग आग्रह गर्दा अमेरिकी महान्यायाधिवक्ताले आफ्‍नो अधिकार प्रयोग गर्दा अर्को कुनै मुलुकको राष्ट्रप्रमुख अतिथिका रूपमा आउँदा त्यो विशेष अवस्था देखाएर उनको हकमा त्यो कानुन निरस्त गर्न सक्छन् भन्‍ने उल्लेख गरेका थिए । त्यस्तै केहीले राजासँग ‘कूटनैतिक राहदानी’ भएको खण्डमा उक्त कानुनले असर नगर्ने बताएका थिए । केहीले भने राजाको औपचारिक भ्रमणमा उक्त कानुनले अवरोध नगर्ने त्यस्तै अनौपचारिक भ्रमण भए पनि राष्ट्र प्रमुखको भ्रमण भएकाले अवरोध नगर्ने भनी छापेका थिए ।

उक्त विषयले मिडियामा निकै चर्चा पाएको थियो तर त्यतिन्जेलसम्म कुनै पनि बहालवाला अमेरिकी अधिकारीको औपचारिक जानकारी भने सार्वजनिक भइसकेको थिएन । राजा जुरिचमा भएको, उनी जुरिचबाट जान चाहेकाले त्यो जुरिचस्थित अमेरिकी कन्सुलेट जनरलसँग मुख्य सरोकार भएको विषय थियो । त्यहाँस्थित कन्सुलेट जनरल होवार्ड डोनभनले एक विज्ञप्ति जारी गर्दै १ डिसेम्बरका दिन अध्यागमनसम्बन्धी कानुनमा रहेको बहुविवाहको प्रावधान पाहुनाका लागि लागू नहुने भएकाले त्यसबाट राजाको भ्रमण प्रभावित नहुने बताए ।

सोही दिन राजाका सैनिक सचिव लेफ्टिनेन्ट जनरल योगविक्रम राणाले केही समस्याका कारण राजाको अमेरिका यात्रा स्थगित भएको थियो भन्‍ने बताएका थिए । त्यस्तै अवरोध हटेको जानकारी पाउँदा राजा प्रसन्‍न हुनेसमेत बताएका थिए । साथै अब जुरिचको अस्पतालबाट राजाको डिस्चार्जलाई पर्खने र त्यसपछि अमेरिकाका लागि तयारी गर्ने बताएका थिए । (डेली न्युज, २ डिसेम्बर, १९५४)

सन् १९५१ अगष्टमा दिल्लीको पालम हवाईअड्डामा भारतीय प्रधानमन्त्री नेहरुका साथमा राजा त्रिभुवन त्यस्तै पछाडिका उनका रानीहरु ।

जुरिचस्थित कन्सुलेट जनरलको विज्ञप्तिको अर्को दिन २ डिसेम्बरमा वासिङ्टनस्थित अमेरिकी विदेश मन्त्रालय (स्टेट डिपार्टमेन्ट) ले समेत विज्ञप्ति जारी गर्दै नेपालका राजा आफ्‍ना दुईवटी रानीका साथ अमेरिका यात्रा गर्न स्वतन्त्र रहेको, त्यसमा कुनै अवरोध नरहेको जानकारी गरायो । जुरिचमा रहेका राजा आफ्‍ना रानीहरूका साथ व्यक्तिगत भ्रमणमा अमेरिका आउन चाहेकोमा पछिल्ला दिनका विभिन्‍न अखबारहरूमा राजालाई अप्ठ्यारो पर्ने व्यहोराका झुटो समाचार प्रकाशित भएकामा आपत्ति जनाएको थियो । त्यस्तै सन् १९५२ को अमेरिकी अध्यागमन कानुन अमेरिकाको भ्रमण गर्ने अतिथिका लागि लागू नहुने त्यो आप्रवासीका रूपमा अमेरिका आउनेका लागि मात्र लागू हुने समेत प्रस्ट पारे । राजाका सैनिक सचिवको अघिल्लो दिनको भनाइ उल्लेख गर्दै डिपार्टमेन्टले राजा जुरिचको अस्पतालबाट डिस्चार्ज नहुन्जेलसम्मका लागि अमेरिकाको यात्रा स्थगित गरेको भए पनि उनी छिट्टै अमेरिका आउने विश्वास व्यक्त गरेको थियो । आफ्‍ना दुईवटी रानीका साथ राजा अमेरिका आउँदा अमेरिकाको कुनै पनि आचारसंहिताले प्रभावित नगर्ने भन्दै कुनै पनि समयमा राजा अमेरिकाको जुनसुकै क्षेत्रमा भ्रमण गर्न सक्नेसमेत प्रस्ट पारेको थियो । (इभिनिङ स्टार, २ डिसेम्बर, १९५४)

त्यसपछिका समाचारहरूमा नेपालका राजा दुईवटी रानीका साथ अमेरिकाको यात्रा गर्न कुनै पनि समस्या नरहेको र अब स्वतन्त्र रूपमा यात्रा गर्न सक्ने उल्लेख गरेका थिए । अमेरिकाले राजालाई भ्रमण गर्न कुनै अवरोध नभएको जानकारी गराउनासाथ राजा तत्काल अमेरिका किन गएनन् त ? यसबारे विचार गर्दा उनलाई थप तीन हप्ता जुरिचको अस्पतालमै उपचार गराउन त्यहाँका डाक्टरहरूले सुझाव दिएकाले उनी तत्काल गएनन् भनी भन्‍न सकिन्‍छ । जुरिचको अस्पतालबाट डिसेम्बर अन्त्यमा डिस्चार्ज भएका राजा अमेरिका गएनन् र उनी फ्रान्सको निस पुगे । सचिव राणाले पुनः हाललाई राजाको अमेरिका भ्रमण अनिश्चित कालसम्मका लागि स्थगित भएको र आरामका लागि निस रवाना हुने जानकारी दिएका थिए । राजा अब अमेरिका जाने वा नजाने त्यस्तै कहिले जाने भन्‍नेबारे आफूले केही बताउन नसक्नेसमेत बताएका थिए । (इन्डियन डेली मेल, २ डिसेम्बर, १९५४)
राजालाई अमेरिकाको भ्रमण गराउन नेपालका तर्फबाट कुनै सार्थक पहल हुनुको सट्टा समाचारमा प्रकाशित तिनै खबरको आधारमा रहेर नेपाली टोलीले धारणा बनाइरहेको थियो भन्‍ने बुझिन्‍छ । राजाको टोलीमा परराष्ट्रका कोही पनि प्रतिनिधि नभएझैँ देखिन्‍छ । उनका सैनिक सचिव राणाबाहेक अरू कसैको सक्रियता वा धारणा सार्वजनिक भएको देखिँदैन ।

माथि नै उल्लेख भइसक्यो, त्यतिबेला अमेरिकासमेत हेर्ने जिम्मेवारीमा रहेका राजदूत त्यहाँ थिएनन् । त्यस्तै राजाको भ्रमणको बन्दोबस्त त्यहाँस्थित भारतीय दूतावासको सहयोग समन्वयमा भइरहेको थियो । त्यहाँ चलिरहेको उपचारको मामिलामा नेपाली अधिकारीहरू पूर्ण रूपमा भारतीयमा निर्भर थिए भन्‍ने देखिन्‍छ । सोही वर्षको बर्खामा आएको भीषण बाढी-पहिरोले नेपालमा ठूलो क्षति पुगेको थियो । सुरुआतदेखि नै आर्थिक-प्राविधिक सहयोगमार्फत नेपालमा आफ्‍नो बलियो उपस्थिति बनाएको अमेरिकाले त्यो बाढीपहिरोपछि पनि गहुँलगायतको ठूलो परिणामको सहयोग उपलब्ध गराएको थियो । त्यस्तै केही महिनाअघि मात्र अमेरिकाले नेपालका शिक्षकलाई तालिम उपलब्ध गराउने अर्को महत्वपूर्ण सम्झौता गरेको थियो । यसरी नेपालमा अमेरिकी प्रभाव बढेकामा भारत त्यति प्रसन्‍न थिएन ।

सन् १९५४ जनवरी पहिलो साता युरोपमा उपचार गरि इजिप्ट हुँदै नेपाल फर्केका राजा त्रिभुवननगर इजिप्टका राष्ट्रपति मोहम्मद नागुइबका साथ इजिप्टको राजधानी कायरोमा ।

राजाको व्यक्तिगत अमेरिका भ्रमण भए पनि त्यसबाट नेपाल अमेरिका सम्बन्धमा मित्रता झन् गाढा हुने भयले पनि होला, भारतले राजाको अमेरिका यात्रालाई त्यति रुचाएन भनी भन्‍न सकिन्‍छ । अमेरिकी अध्यागमन कानुन र बहुविवाहलगायतका विषयलाई जोडेर राजाको अपमान हुने ढंगका तर्क अगाडि सारेर भारतीयहरू त्यो भ्रमण नहोस् भन्‍ने चाहन्थे कि भन्‍ने समेत देखिन्‍छ । राजाको यात्राबारे टिप्पणी गर्ने भारतीयले अमेरिका भ्रमणबारे सार्वजनिक रूपमा एक शब्द पनि नबोल्नुले भारतीय अवरोध भन्‍ने तर्कलाई बल पुर्‍याउँछ ।

अमेरिका भ्रमणमा जाने अतिथिका लागि बहुविवाहका कारण प्रभावित नभएको भन्‍ने अरू अघिल्लो र पछिल्लो वर्षका दुई उदाहरण छन् । अमेरिकाका लागि समेत नेपालका राजदूत रहेका शंकरशमशेर जबरा सन् १९५३ मा नवनिर्वाचित अमेरिकी राष्ट्रपति ड्वाइट डी. आइजन आवरको शपथग्रहण समारोहमा उपस्थित हुन जाँदा उनको साथमा उनकी पत्नी पनि छन् भन्‍ने खबर सार्वजनिक भएको थियो । जनवरीमा अमेरिका पुगेका शंकर फेब्रुअरीमा नेपाल सरकारले पहिलोपटक राष्ट्रिय दिवस घोषणा गरेसँगै अमेरिकामा त्यसको आयोजना गर्न त्यहीँ बसे । मार्च महिना सिकारमा बिताएका शंकर अप्रिलमा टेक्सास, एरिजोना र बाहमसको भ्रमणमा रहँदा टेक्सासको एउटा टेलिभिजनले शंकर आफ्‍ना श्रीमतीहरूसँग आएका छन् भन्‍ने उल्लेख गरेको थियो । त्यसमा नेपालमा बहुविवाह प्रथा रहेकाले नेपालमा बहुपत्नी प्रथा साधारण रहेको समेत उल्लेख गरेको थियो । (डब्ल्यू.बी.ए.पी. टेलिभिजन टेक्सासको स्क्रिप्ट न्युज, १ अप्रिल, १९५३)

सन् १९५५ मा पाकिस्तानका प्रधानमन्त्री मोहम्मद अलीले क्यानडामा जन्मिएकी आफ्नै ३० वर्षे सहयोगीलाई लेबनानमा विवाह गरेका थिए । अमेरिकालगायतका अन्य केही अधिकारकर्मीहरूले त्यस घटनाको चर्को विरोध गर्दै अलीलाई अमेरिका प्रवेश नदिन चेतावनी दिएका थिए । तर अलीलाई उनकी श्रीमतीका साथ अमेरिकाले वासिङ्टनमा स्वागत गर्‍यो । त्यस घटनालाई उल्लेख गर्दै अमेरिकी अखबार टोइल्डो ब्लेडले ७ अप्रिलको आफ्‍नो अंकमा लेखेको छ । मुसलमान धर्मावलम्बीहरूले बहुविवाह गर्ने गर्छन् । तिनमा इन्डोनेसियाका राष्ट्रपति सुकार्नोसमेत पर्छन् जसलाई अमेरिकाले स्वागत गरिसकेको छ । पाकिस्तानसँग अमेरिकाको बलियो सैन्य एवं आर्थिक सम्बन्ध रहेकाले प्रधानमन्त्री अलीलाई समेत स्वागत गर्‍यो । तर गत वर्ष नेपालका राजा उपचारका लागि आफ्‍ना दुईवटी रानीसँग अमेरिका आउन खोज्दा भने उनलाई प्रवेश दिएन भनी उल्लेख गरेको थियो । (टोइल्डो ब्लेड, ७ अप्रिल, १९५५)

जुरिचस्थित अमेरिकी कन्सुलेट जनरल र वासिङ्टनस्थित अमेरिकी विदेश मन्त्रालय (स्टेट डिपार्टमेन्ट) ले समेत आफ्‍ना दुईवटी रानीका साथ राजाले निर्बाध रूपमा अतिथिका रूपमा अमेरिकाको भ्रमण गर्न सक्छन् भनेको भए पनि उनको भ्रमण भने हुन सकेन । उपलब्ध दस्तावेजका आधारमा करिब सात दशकपछि आज यसलाई दुईवटा दृष्टिकोणबाट हेर्न सकिन्‍छ ।

आफू अमेरिका जानूपूर्व धेरै चर्चा र विवादको विषय बनिसकेको अमेरिकाको भ्रमण गर्न राजापछि आफैँ इच्छुक भएनन् कि भन्‍ने जस्तो पनि देखिन्‍छ । त्यस्तै अमेरिकाको भ्रमण गर्ने राजालाई उपयुक्त अवसर नै पो मिलेन कि भन्‍ने समेत देखिन्‍छ । राजा फ्रान्सको निस पुगेपछि उनको अमेरिका भ्रमणबारे थप चर्चा भएको भने देखिँदैन ।

सन् १९३७ मा राजा त्रिभुवन राजा भएको २५ बर्ष पुगेको उपलक्ष्यमा आयोजना गरिएको रजत जयन्ती समारोहमा जङ्गी पोशाकमा खिचिएको तस्वीर ।

नेपालबाट उनी पहिले सीधै जुरिच पुगे, त्यहाँ पुग्दा उनको स्वास्थ्य अवस्था अत्यन्तै कमजोर रहेका कारण पहिले दुई हप्तासम्म निरन्तर उपचार चलिरह्यो । त्यसपछि अर्को चरणमा पुनः जुरिचमा नै तीन हप्तासम्म उपचार चलिरहेकाले अमेरिकाले उनको भ्रमणमा अवरोध नहुने जानकारी गराएको समय डिसेम्बर पहिलो हप्ता उनी जान सकेनन् । २८ डिसेम्बरमा जुरिचको अस्पतालबाट डिस्चार्ज भएर आराम गर्न राजा फ्रान्सको निस पुगे । त्यहाँ पुगेको एक महिनाभित्र जनवरी अन्त्यमा उनलाई फेरि हृदयाघात भएकाले जान सकेनन् कि भन्‍ने देखिन्‍छ । हृदयाघातपछि उनी सत्ता हस्तान्तरणमा व्यस्त भए र त्यसको केही दिनमा नै उनको निधन भएको थियो ।
समग्रमा भन्दा आफ्नै गम्भीर स्वास्थ्य अवस्था, त्यस्तै भ्रमणबारे पहिलेदेखिकै विवादका कारण उनको अमेरिका भ्रमण हुन नसकेको हो कि भन्‍ने देखिन्‍छ । अमेरिकाले औपचारिक रूपमा नै राजाको भ्रमणलाई उक्त ऐनले कुनै असर नगर्ने भन्‍ने स्पष्ट पारेकाले भिसा दिन अस्वीकार गर्‍यो भन्‍ने देखिँदैन ।

फ्रान्सको निसमा रहिरहेको समयमा ३१ जनवरी, १९५५ मा राजालाई पुनः हृदयाघात भयो । २ र ३ फेब्रुअरीमा निस पुगेर क्यान्टन्स अस्पताल निर्देशक प्राध्यापक डा.विल्हेम लोफ्लरले राजालाई जाँच गरे । साथै उनले दुई अन्य विशेषज्ञहरू लन्डनका प्रा. पार्किनसन र भियनाका प्रा. लउडेरको सहयोग लिएका थिए । त्यो हृदयाघातपछि राजालाई अब आफूलाई पूर्ण रूपमा निको हुने र फेरि नेपाल फर्किएर सक्रिय हुने आकांक्षा थिएन् । उनलाई अब आफू छिट्टै मर्छु भन्‍ने आभास भइसकेको देखिन्‍छ । त्यसपछि राजाले युवराजलाई शासनसत्ताको अख्तियारनामा सुम्पनेबारे परामर्श गर्न थालेका थिए । यता नेपालमा समेत मातृकाप्रसाद कोइराला नेतृत्वको सरकार एकातिर सल्लाहकारसभा त्यस्तै अर्कोतिर राजकीय परिषद् त्यस्तै सरकारमा आन्तरिक आपसी मतभेदका कारण चल्न सकेको थिएन । त्यसै क्रममा प्रधानमन्त्री कोइरालाले राजकीय परिषद्समक्ष आफ्‍नो राजीनामा चढाएका थिए  । तर त्यतिबेला त्यसलाई स्वीकार गर्ने अधिकार राजा त्रिभुवनबाहेक अरूमा नभएकाले नेपालमा अनिश्चयको स्थिति थियो । फेब्रुअरीको दोस्रो साता भारतका प्रधानमन्त्री नेहरु लन्डन भ्रमणमा थिए । त्यतिबेला नेहरुले आफ्‍ना सहयोगी पीएन. हस्करलाई राजा त्रिभुवनसँग कुरा गर्न फ्रान्सको निस पठाएका थिए । नेहरुले राजालाई उनी अझै थप समय युरोपमा बस्नुपर्ने भएकाले शासनसत्ताको भारबाट अलग भएर स्वतन्त्रपूर्वक आराम गरी स्वास्थ्य लाभ लिन सुझाएका थिए । साथै नेहरुले राजालाई राजाको अनुपस्थितिमा उनले गर्ने सबै कामजस्तो प्रधानमन्त्री र मन्त्रीहरू नियुक्त गर्ने र हटाउने अधिकारसमेत आफ्‍ना उत्तराधिकारी युवराज महेन्द्रलाई हस्तान्तरण गर्न सुझाएका थिए । (सेलेक्टेड वर्कस् अफ जवाहरलाल नेहरु, दोस्रो संस्करणको २८औं खण्ड)

राजा त्रिभुवनका दुई रानीहरु अगाडीकि जेठी रानी कान्तिराज्य लक्ष्मीदेवी र पछाडीकि कान्छी रानी इश्वरीराज्य लक्ष्मीदेवी सन् १९५१ दिल्लीमा ।

राजा त्रिभुवनले शासनसत्ताको अख्तियारनामा युवराजलाई प्रदान गर्न उनलाई फ्रान्स बोलाएका थिए । त्यतिबेला प्रधानमन्त्री कोइरालाले राजीनामा दिएपछि उत्पन्‍न भएको राजनीतिक संकटबारे छलफल गर्न युवराजले भ्रमण गर्न लागेको जानकारी प्रेसलाई दिइएको थियो । ९ फेब्रुअरीका दिन युवराज महेन्द्र फ्रान्स जान काठमाडौंबाट कलकत्तातर्फ प्रस्थान गरे । ११ फेबु्रअरीका दिन उनी फ्रान्सको निस पुगेर आफ्‍ना बुवा महाराजाधिराजसँग भेट गरे । त्यहीँबाट राजा त्रिभुवनले आफूले प्रयोग गर्दै आएको शाही शासनको सम्पूर्ण अधिकार आफ्‍नो अनुपस्थितिमा राजगद्दीका उत्तराधिकारी आफ्‍ना ज्येष्ठ सुपुत्र युवराज महेन्द्रलाई हस्तान्तरण गरे । यसरी उनी १५ फेब्रुअरीमा फ्रान्सबाट कलकत्ता ओर्लिएर सोही दिन अपराह्न नै काठमाडौं फर्किए । राजा त्रिभुवनले युवराज महेन्द्रलाई सुम्पेको शाही अख्तियारनामा बारे सोही १८ फेब्रुअरी १९५५ को राष्ट्रिय दिवसमा एउटा शाही घोषणाद्वारा नेपालमा सार्वजनिक गरियो । (दी इन्डियन एक्सप्रेस, १०, १२, १६ र १९ फेब्रुअरी १९५५)

राजा त्रिभुवनको निधन, शवयात्रा र अन्तिम संस्कार 
राजा त्रिभुवन जनवरीदेखि ८ मार्चसम्म दुई महिनाभन्दा केही बढी फ्रान्सको निसमा नै रहे । ८ मार्चतिर पुनः उनको स्वास्थ्यमा समस्या देखियो । गम्भीर स्वास्थ्य अवस्थाका कारण राजालाई रेलबाट जुरिच लैजान असमर्थ भएपछि विशेष एम्बुलेन्सबाट ९ मार्चमा जुरिच पुर्‍याइयो । जुरिच पुर्‍याएपछि उनको उपचार चलिरहेको थियो । जुरिच पुगेको चार दिनपछि उपचारकै क्रममा सन् १९५५ मार्च १३ का दिन अपराह्न ३ बजेर १५ मिनेटमा ४९ वर्षको उमेरमा राजा त्रिभुवनको निधन भयो । क्यान्टन्स अस्पतालको शय्यामा हृदघातका कारण यति छिटो अचानक उनको निधन भयो कि उनको साथमा रहेका उनका दुवै रानी राजाको शय्यासम्म पनि पुग्न पाएनन् । साथै भएर पनि राजाको निधन हुँदा उनको शय्यासम्म पुग्न नपाउँदा रानीहरूले साह्रै पश्चाताप महसुस गरेका थिए । (इभिनिङ स्टार, १५ मार्च, १९५५)

अर्को दिन १४ मार्चको बिहानै नेपाली राजदूतावास नयाँ दिल्लीले जुरिचमा उपचारका क्रममा राजा त्रिभुवनको निधन भएको पुष्टि गर्‍यो । साथै नेपालमा उनका उत्तराधिकारी युवराज महेन्द्रलाई नयाँ राजा घोषणा गरिसकेको र सोही दिन अपराह्नसम्म विधिपूर्वक नयाँ राजाको राज्यारोहण हुने जानकारी दियो । त्यस्तै जुरिचमा रहेको दिवंगत राजा त्रिभुवनको पार्थिव शरीरलाई चाँडोभन्दा चाँडो नेपाल ल्याएर हिन्दु धर्म संस्कारबमोजिम नेपालमा अन्त्येष्टि गरिनेसमेत जानकारी गरायो । (दी सिड्‍नी मोर्निङ हेराल्ड, १४ मार्च, १९५५)

१४ मार्चको अपराह्न नयाँ राजा महेन्द्रलाई नेपाली सेनाले १०१ तोपको सलामी अर्पण गरेको थियो । त्यस्तै सोही दिन ४ बजेर १५ मिनेटमा नयाँ राजा हनुमानढोका राजदरबार पुगे र ४ बजेर २१ मिनेटमा नयाँ राजा महेन्द्र राजगद्दीमा बसे । विदेशका विभिन्‍न मुलुकका प्रतिनिधिहरू निम्त्याएर राजा महेन्द्रको औपचारिक राज्याभिषेक समारोह भने अर्को वर्ष ९:५६ मा मात्र भयो । (समाज दैनिक, १४ मार्च, १९५५)

सन् १९५५ को मार्च १७ मा पशुपति आर्यघाटमा राजा त्रिभुवनको अन्त्येष्टिको तस्वीर ।

निधन भएको तीन दिनपछि १६ मार्चको बिहान ७ः११५ मा दिवंगत राजा त्रिभुवनको पार्थिव शरीरलाई क्यान्टन्स अस्पतालबाट सीधै जुरिचको क्यानटोनल विमानस्थलमा पुर्‍याइएको थियो । नेपालको राष्ट्रिय झन्डामा बेरिएको उनको पार्थिव शरीरलाई सेनाका जवानहरूले विमानस्थलको धावनमार्गमा खडा भएको विमानसम्म बोकेर ल्याउँदा स्विस सेनाको टुकुडीले शोक धुनका साथ राष्ट्रिय सलामी अर्पण गरेको थियो । जसमा स्विस अधिकारीसमेत उपस्थित थिए । स्विस एअरलाइन्सको डगलस डीसी ४ विमानले उनको पार्थिव शरीरलाई जुरिचबाट नयाँ दिल्लीको पालम हवाईअड्डामा ल्याइपुर्‍याएको थियो । (स्विस अखबार ‘फ्रेबर्गर’, १८ मार्च, १९५५)

अर्को दिन बिहान दिल्लीमा भारत सरकारले राष्ट्रिय सम्मानसाथ उनलाई अन्तिम श्रध्दाञ्जली अर्पण गरेको थियो । सोही क्रममा भारतीय प्रधानमन्त्री नेहरुले त्रिभुवनको पार्थिव शरीरमा भारतीय राष्ट्रिय झन्डा ओढाएका थिए । दिल्लीबाट भारतीय वायुसेनाको विशेष विमानले उनको शवलाई १७ मार्चको अपराह्न १२ बजेर २५ मिनेटमा नेपालको गौचर हवाईअड्डामा ओरालेको थियो । सोही दिन बेलुकी हजारौं हजार नेपाली जनताहरूको उपस्थितिमा पशुपति आर्यघाटमा राजाको अन्तिम संस्कार गरिएको थियो । (दी लिडर पोस्ट, १८ मार्च, १९५५) (तस्बिर : विभिन्‍न स्रोतबाट सन्तोष खडेरीको संकलन ।)

खडेरीका यसअघिका लेख
- पृथ्वी : अपराधभन्दा अभियोग धेरै


Author

सन्तोष खडेरी

इकागजका अबुधाबीस्थित टिप्पणीकार खडेरी नेपालसम्बन्धी दुर्लभ दस्तावेज संकलन र विश्लेषणका लागि परिचित छन् ।


थप समाचार
x