विश्व

कोभिड खोप सहयोग गर्ने अमेरिकी प्रस्तावलाई उत्तर कोरियाले वास्तै गरेन

इकागज |
जेठ ८, २०७९ आइतबार ८:५१ बजे

प्रतिकात्‍मक तस्‍बिर

सिउल - कोभिड खोप सहयोग गर्ने अमेरिकी प्रस्तावलाई उत्तर कोरियाले कुनै जवाफ दिएको छैन । महामारीको सामना गरिरहेका बेला अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रस्तावलाई उत्तर कोरियाले अस्वीकार गरेको हो । उत्तर कोरियाले भन्दै आएको ‘ज्वरो’ का कारण अहिलेसम्म २५ लाख मानिस बिरामी परेका छन् । 
 
ज्वरोको संक्रमणपछि देशभर लकडाउन घोषणा गरिएको छ । आंशिक रुपमा परीक्षण वा खोपको आपूर्ति गरिएकाले उत्तरमा कोभिडको निकै जोखिम बढेको हुनसक्ने अनुमान गरिएको छ । 

दक्षिण कोरियाको भ्रमणमा रहेका राष्ट्रपति बाइडेनले राजधानी सिउलमा आयोजित पत्रकार सम्मेलनमा भने, ‘हामीले उत्तर कोरियालाई मात्र होइन चीनलाई पनि खोप प्रस्ताव गरेका छौँ । उत्तरको प्रकोप नियन्त्रण गर्न तत्काल खोप प्रदान गर्न तयार छौँ । तर, हामीले कुनै जबाफ नै पाएनौँ ।’


विश्व समुदायबाट नै करिब एक्लो बनेको उत्तर कोरियाले यसअघि कोभ्यासलाई अस्वीकार गरेको थियो । त्यस्तै, दक्षिण कोरियाको खोप प्रस्तावलाई पनि उसले अस्वीकार गरेको थियो । 

यसको सट्टा उसले आफ्नो सिमानाहरू सिल गरेर कोभिडलाई सफलतापूर्वक नियन्त्रण गरेको दाबी गर्‍यो । यद्यपि, त्यहाँ लामो समयदेखि कोभिड प्रकोप रहेको विज्ञहरूको भनाइ छ । कोभिड बढेपछि  हर्ब चिया, अदुवा पानीजस्ता घरेलु उपाय अप्नाएको बताइन्छ ।


Author

थप समाचार
x