सम्पादकीय
प्रजातन्त्रको सात दशक : अपहरणकारीविरुद्ध लड्नुपर्यो-लड्नैपर्छ बीच-बीचमा
जहानियाँ एकतन्त्रीय, क्रुर, निरंकुश राणाहरूबाट ‘पञ्जापत्र’ खोसेको दिन । आजभन्दा ७० वर्षअघि सशस्त्र क्रान्ति गरी नागरिकले स्वतन्त्रताको सास फेर्न पाएको दिन ।
अर्थात् आज ७० औं राष्ट्रिय प्रजातन्त्र दिवस । नागरिक पहिलोपटक ‘स्वतन्त्र’ भएको यो दिन । यही दिनले कोरेको प्रजातन्त्रबाट आज मुलुक संघीय गणतन्त्रसम्म आइपुग्न सफलता मिलेको हो ।
स्वतन्त्रताको सास र प्रजातन्त्रका लागि धेरै नेपाली जेल पुगे । यौवन गुमाए । भूमिगत भए । सहिद भए । त्यही पृष्ठभूमिमा ‘प्रजातन्त्रको स्वाद’ मनमोहन हुन्छ भन्ने स्वैरकल्पनामा सँधैभरि नागरिक रहे । दुर्भाग्य, नेताहरू चाहिँ अनुत्तरदायी, अयोग्य, अधिक भ्रष्टऔस्वार्थी हुँदै राणाहरूकै शैलीमा ‘हुकुमी पदचाप’मै छन्, प्रजातन्त्रकाल होस् या लोकतन्त्र ।
शासकीय भ्रष्ट र निरंकुश चरित्रमा कुनै फेरबदल छैन । तिनीहरू नागरिकलाई सुन्न चाहँदैनन् भने दुःख-पीडाका कुरा निकै परका सवाल हुन् । सधैँभरि निषेध-नियन्त्रण र निरंकुशतन्त्रका अस्त्र उद्याइरहेका हुन्छन् । शासकीय कुर्सीमा पुगेपछि तिनीहरू बिर्सन्छन् कि हिजो राणाहरू पनि शक्तिको दुरुपयोग, दम्भ, तुजुक र फुटकै कारण पतन भएका हुन् ।
यतिखेर चन्द्रशमशेर निर्मित सिंहदरबारका शासक केपी शर्मा ओली मोहनशमशेर शैलीकै तुजुक र दम्भले भुलुक्क उम्लिएका छन् । नत्र आफ्नै कुण्ठा, घमण्ड र स्वार्थले प्रतिनिधि सभाको हठात् विघटन गर्न उद्यत हुने थिएनन्, संविधानमै कतै नलेखिएको अधिकार प्रयोग गर्दै । प्रतिनिधि सभा विघटनपछि पूर्णतः नागरिक ‘वैधता’ गुमाइसकेपछि राणाकालीन दम्भी स्वर सुनिनु चाहिँ आश्चर्यजनक नै छ ।
तिनले बुझ्नुपर्छ कि आफूलाई हिटलर-मुसोलिनीभन्दा शक्तिशाली ठान्ने राणाहरूलाई नेपाली नागरिकले पन्छाएका हुन् । फेरि पनि त्यस्तो तुजुक प्रदर्शन गर्ने जो कोहीलाई बाँकी राख्ने छैनन्, जतिसुकै शक्तिशाली भए पनि ।
२००७ मा प्रजातन्त्र नआएको भए आज ओलीहरू यसरी शक्तिमा विराजमान हुन पाउँदैनथे । आजको संघीय लोकतान्त्रिक गणतन्त्रको ‘भर्याङ’ २००७ सालको प्रजातन्त्रकै योगदान हो । विडम्बना नै भन्नुपर्छ, प्रजातन्त्रको त्यो ‘भर्याङ’ बिर्साउन सरकारले यो ऐतिहासिक दिनलाई अवमूल्यन गरेको छ, औपचारिक कार्यक्रम नगरेर र सार्वजनिक बिदा नदिएर ।
निरंकुश शासन क्षणिक हुन्छ । भलै, हिजो सात सालअघि जनतामा चेतना कम थियो । उनीहरू शासित थिए, प्रजा थिए । तर २१ औं शताब्दीको दुई दशक कटिसकेको नेपाली जनतामा त्यो सात सालको चेत होइन, अग्रगामी सोच र विचार छ । विश्वका जस्तासुकै तानाशाह पनि ढलेका छन्, तिनको अथाह सम्पत्ति क्षणभरमा नष्ट भएका छन् । उन्मादी शासकको हालत कस्तो हुन्छ भन्ने २०६१ माघ १९ पछिका शाहीकालीन दृश्य ताजै हुनुपर्छ, राणाकाल बिर्से पनि । नागरिकसँग जोरी खोज्ने शासकहरू क्षणिक हुन्छन् ।
नेपालमा लोकतन्त्रलाई कहिले पनि दिगो हुन दिइएन । कहिले राजाले, कहिले दलहरूको आफ्नै झगडा र विवादले । २०१५ सालमा जननिर्वाचित सरकारलाई अपदस्थ गरी महेन्द्रले त्यतिबेलाको प्रजातन्त्रलाई घाँटी निमोठे ।
२०४६ सालको जनआन्दोलनपछि गठित ‘प्रजातान्त्रिक’ सरकारमा बसेका नेताहरूले पनि संसदीय व्यवस्थाको धज्जी उडाए । आफ्ना व्यक्तिगत स्वार्थ र कुण्ठाका लागि पटक-पटक संसद् विघटन गरे । दलहरू आन्तरिक किचलोमा अल्झरहँदा हिजो राजा ज्ञानेन्द्रले खेल्ने ठाउँ पाए । र, अन्ततः उनले प्रजातन्त्र सिध्याएर शाहीतन्त्र चलाए ।
शाहीतन्त्रलाई पनि परास्त गरेर नेपाली जनताले लोकतन्त्र मात्र ल्याएनन्, गणतन्त्र नै ल्याए । जनआन्दोलन २०६२÷६३ मा धेरै नेपालीले वीरगति प्राप्त गरे । रगतको खोलो बगाएर ल्याएको लोकतन्त्रलाई यिनै नेताहरूले एक थान संविधान दिन दस वर्ष लगाए । बल्लबल्ल बनेको संविधान, जनताले पहिलोपटक बनाएको संविधान, यति धेरै नेपालीलाई बलि दिएर ल्याएको संविधानलाई ओलीले कुल्चने दुष्कर्म गरे, त्यो अक्षम्य छ ।
सत्तामा बसेर ओलीले विरोधीहरूलाई सिध्याउने रणनीति र योजना बनाउन सक्लान्, तर लोकतन्त्रका लागि आफूलाई बलिदानी दिने अदम्य साहस भएका नेपाली जनतासँग उनले प्रतिकार गर्न सक्लान् ? अवश्य सक्दैनन् । क्रुर राणा शासक फालेका जनताको शक्ति आँकलन गर्न नसक्नु ओलीको महाभूल हो ।
कुनै पनि समृद्ध राष्ट्रको इतिहास हुन्छ । त्यो इतिहास नै वर्तमानका लागि धरोहर हुन्छ । इतिहासमा जनताले गरेको त्याग र बलिदानीलाई ओलीले अपमान गरेका छन् । सहिद दिवस र प्रजातन्त्र दिवसमा औपचारिक राष्ट्रिय कार्यक्रम नगरेर र सार्वजनिक बिदा नदिएर । तर, यस अवसरमा अपराधकर्ममा कैद सजाय पाएकाहरुलाई भने उनले भटाभट छुट दिइरहेका छन् । प्रजातन्त्र दिवसलाई उत्सवका रुपमा मनाउन अस्वीकार गर्ने तर अपराधीहरु छोड्ने सरकारको रवैया बुझिनसक्नु छ ।
राष्ट्रलाई एकीकरण गर्ने व्यक्ति पृथ्वीनारायण शाहलाई अपमान गर्ने, सार्वजनिक बिदा नदिने, राष्ट्रले उनको योगदानलाई अंगीकार नगर्ने ओली प्रवृत्तिले राष्ट्रिय एकता, अखण्डता र सहिष्णुतालाई कायम राख्न सक्दैनन् । तसर्थ सबै नेपालीले प्रजातन्त्र दिवसलाई आत्मसात् गरौँ, मन र व्यवहारबाटै ।