चार वर्षमा पनि बनेन तीन किलोमिटर सडक
भरतपुर- नारायणगढको सहिद चोकबाट बैकुण्ठ चोक, धर्म चोक हुँदै कचपचे चोक पुग्ने सडक निर्माण अधुरै छ । ठेकेदार कम्पनीले विभिन्न बहाना बनाउँदै निर्माणमा ढिलाइ गरेका कारण सडक निर्माण हुन सकेको छैन ।
सडक निर्माणका लागि चार वर्षमा तीनपटक म्याद थप गरिएको छ । यो अवधिमा सडक निर्माणको ७५ प्रतिशत मात्र काम भएको छ । सडक निर्माणको बाँकी काम कात्तिक महिनाभित्र सक्ने निर्माण कम्पनी रमण शिवशक्ति जेभीका प्रबन्ध निर्देशक रञ्जन ठाकुरले बताए । उनले भने, 'नाला र सबबेसको काम सकियो अब कालोपत्र हुन्छ । एक–दुई हप्ताको काम हो, कात्तिक महिनाभर सकिन्छ ।'
ठाकुरका अनुसार अब चार सय ८० मिटर सडक बनाउन बाँकी छ । तीन किलोमिटर सडक निर्माणका लागि २०७५ सालमा निर्माण सम्झौता भएको थियो । सघन सहरी तथा भवन निर्माण आयोजना चितवनले रमण शिवशक्ति जेभीसँग सम्झौता गरेको थियो । सम्झौताअनुसार २०७७ असार मसान्तसम्म निर्माण सक्नुपर्ने थियो ।
दश मिटर चौडाइको सडक निमार्णका लागि दुवैतर्फ छदेखि सात फिट गहिरो ढल खनिएको छ । सघन सहरी विकास कार्यक्रमअन्तर्गत कालोपत्र सडक तथा ढल निर्माण प्याकेज नं २ अन्तर्गतको सात योजनामध्ये यो एउटा हो । यसका लागि ६८ करोड २३ लाख रुपैयाँमा सम्झौता भएको थियो ।
सहिद चोकबाट बैकुण्ठ चोक, धर्म चोक र कचपचे चोकसम्मको बाटोको ठेक्का रकम भने ७१ करोड ३८ लाख रुपैयाँ रहेको सहरी विकास कार्यालयका इञ्जिनियर पुजन न्यौपानेले बताए । कार्यालयले अब २१ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी छ । रासस