सबै निकायमा अपाङ्गता मैत्री प्रविधि, पूर्वाधार र व्यवहारको प्रत्यभूति गराउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री प्रचण्ड
काठमाडौँ–प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सबै निकायमा अपाङ्गता मैत्री प्रविधि, पूर्वाधार र व्यवहारको प्रत्यभूति गराउन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
राष्ट्रिय सभाको शुक्रबारको बैठकमा अपाङ्गता भएका व्यक्तिहरूको अधिकार कार्यन्वयन सम्बन्धी संकल्प प्रस्तावको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्रीले यस्तो बताएका हुन् ।
‘मेरो नेतृत्वमा सरकार गठन भएदेखि स्थानीय तहलाई सवल र सक्षम बनाउँदै जनताको सुख दुखमा सँगै बस्न सक्ने गरी जनउत्तरदायी बनाउन हामी लागिरहेका छौँ,’ उनले भने, ‘सार्वजनिक सेवामा सुशासन कायम राख्दै सेवा प्रदायक सबै निकायमा अपाङगता मैत्री प्रविधि, पूर्वाधार र व्यवहारको प्रत्यभूति मार्फत सामाजिक न्याय काम गर्ने दिशामा यो सरकार प्रतिबद्ध रहेको छ ।’
उनले अगाडि भने, ‘सबै सेवा प्रदायक निकायमा अपाङ्गता सहायता कक्ष स्थापना गर्न आवश्यक व्यवस्था मिलाइँदै छ । अपाङ्गता भएको व्यक्ति सम्बन्धी २०७४ को ऐनले कानुनी रुपमा अपाङ्गता भएका व्यक्तिले पाउने अधिकार र सेवा सम्बन्धी प्रबन्ध गरिएको छ। सो ऐनकोको संशाेधनमार्फत लक्षित कार्यक्रम तय गर्नुपर्ने मैले महशुस गरेको छु ।’
अपाङ्गता वा फरक क्षमता भएका व्यक्तिलाई सामाजिक सुरक्षा भत्ता तथा संरक्षण गर्ने व्यवस्था गरिएको समेत उनले जानकारी दिए ।