संसद्

'महामारी रोक्न आवश्यक सुविधासहितका संरचना तयार गर्न सुझाव'

इकागज | चैत ११, २०७७

काठमाडौँ : कोभिड-१९ सम्बन्धमा सरकारले गरेका काम कारबाहीको अनुगमन गर्न गठित संसदीय उपसमितिले १८ बुँदे सुझावसहितको प्रतिवेदन शिक्षा तथा स्वास्थ्य समितिमा पेस गरेको छ । प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिको बुधबार बसेको बैठकमा उपसमिति संयोजक जीवनराम श्रेष्ठले समिति सभापति जयपुरी घर्तीलाई प्रतिवेदन बुझाएका हुन् ।

उपसमितिले कोभिडसँग सम्बन्धित देशभरका अस्पताल, प्रयोगशाला र क्‍वारेन्टाइनहरूको स्थलगत अनुगमन गरी १८ बुँदे सुझाव सहितको प्रतिवेदन तयार पारेको संयोजक श्रेष्ठले बताए । उपसमितिले कोभिडजस्ता संक्रामक महामारी भविश्यमा पनि आउन सक्ने सम्भावनालाई ध्यानमा राखी उपचार र नियन्त्रणको लागि सबै प्रदेश र केन्द्रमा आवश्यक सुविधासहितको संरचना तयार गर्नुपर्ने सुझाव दिएको छ । 

देशभरका प्रत्येक अस्पतालमा संक्रामक रोग सम्बन्धी निश्‍चित शैयाको युनिट व्यवस्था गर्नुपर्ने, अस्पतालहरूमा अक्सिजन प्लान्ट राख्नुपर्ने, चिकित्सकको अभाव हुन नदिन चिकित्सक बढुवा प्रणालीमा नीति परिवर्तन र सुधार गर्नुपर्ने, अस्पतालहरुमा दरबन्दी अनुसार जनशक्ति व्यवस्थापन गर्नुपर्ने, खुला बोर्डर भएका ठाउँहरुमा स्थायी स्वास्थ्य परीक्षण केन्द्रको व्यवस्था गर्नुपर्ने सुझाव उपसमितिको छ । 

प्रादेशिक अस्पतालहरू प्रदेशले नै सञ्‍चालन गर्ने व्यवस्था गर्नुपर्ने, केन्द्र, प्रदेश र स्थानीय तहअन्तर्गतका सबै अस्पताल र स्वास्थ्य केन्द्रहरूलाई सञ्‍चालन गर्न स्पष्ट नीति ल्याउनुपर्ने, प्रादेशिक र जिल्ला अस्पतालहरूलाई भेन्टिलेटरसहितको आइसीयू लगायतका सेवाहरू प्रदान गर्नेगरी सुविधा सम्पन्‍न बनाउनुपर्ने, कारागारमा संक्रामक रोगको उपचारका लागि छुट्टै बजेट व्यवस्था गर्नुपर्ने, निजी अस्पतालहरुमा स्वास्थ्य उपचारमा समरुपता कायम गरी दररेटसम्बन्धी नीति निर्माण गरी लागू गर्नुपर्ने, महामारी र विपदमा स्थानीय तहको भूमिकालाई बढाउन क्षमता अभिवृद्धि गर्नुपर्ने, संक्रामक रोगको उपचार, रोकथाम र नियन्त्रणका लागि विद्यमान कानूनहरू अपुग हुने भएकाले तीनै तहका राज्य संरचनालाई ध्यान दिई छुट्टै ऐन ल्याउनुपर्ने, कोभिड-१९ खोप वितरण कार्यक्रम सरल र प्रभावकारी बनाइनुपर्ने र छिमेकी देशहरुमा कोभिडको लहर बढ्दो क्रममा देखिएकोले नेपाल सरकारले पनि सतर्कता अपनाउन थप कदम चाल्नुपर्ने लागयतका सुझाव पनि प्रतिवेदनमा समावेश गरिएको संयोजक श्रेष्ठले बताए । 

शिक्षा तथा स्वास्थ्य समितिले गत भदौ ९ गते कोभिड-१९ को सम्बन्धमा सरकारले गरेका काम कारबाहीको अनुगमन गर्न सांसद जीवनराम श्रेष्ठको संयोजकत्वमा सात सदस्यीय उपसमिति गठन गरेको थियो । उपसमितिमा अञ्‍जना विशंखे, एकवाल मियाँ, तिलबहादुर महत क्षेत्री, नमिताकुमारी चौधरी, सन्तकुमार थारु र सरिता न्यौपाने सदस्य थिए ।  

जतिदिन यो सरकार रहन्छ, संसद्को अपमान र उपेक्षा गर्ने काम बढ्दै जान्छ : गगन थापा

इकागज | चैत १०, २०७७

काठमाडौँ : नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको अपमान गरेको ब...

विकास समितिले गठन गर्‍यो फास्ट ट्रयाकको अध्ययन गर्न उपसमिति

इकागज | चैत ९, २०७७

काठमाडौँ : प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिले फास्ट ट्र्याकको विस्तृत अध्ययन गर्न उपसमिति गठ...

प्रधानमन्त्रीलाई पम्फा भुसालको प्रश्न : अहिले पनि जिताहा शासक जस्तो गरेर हिड्ने ?

इकागज | चैत ६, २०७७

काठमाडौँ  : नेकपा माओवादी केन्द्रकी सांसद पम्फा भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैल...