गठबन्धनको सरकार बने तेब्बर बजेट
मकवानपुर- मकवानपुर क्षेत्र नम्बर २ प्रदेश सभा क’ की उम्मेदवार कुमारी मोक्तानले गठबन्धनको सरकार बनेमा तेब्बर बजेट ल्याउने बताएकी छिन् । नेकपा माओवादी केन्द्रकी मकवानपुर इन्चार्ज मोक्तानले भीमफेदी गाउँपालिकाको चुनावी कार्यक्रममा गठबन्धनले बोलेको पुरा गरेर विकास गर्नेमा मतदातालाई ढुक्क हुन आग्रह समेत गरिन् ।
‘हामी (प्रदेश सरकार)ले यो गाउँपालिकामा २ अर्ब ८८ करोड बजेट हालेका छौ,’ बागमती प्रदेशकी सामाजिक विकास मन्त्री समेत रहेकी उनले भनिन्, ‘अब फेरि हाम्रो गठबन्धनको प्रदेश सरकार बन्यो भने डबल हैन, तेब्बर बजेट गाउँपालिकामा आउने छ ।’ लोकतान्त्रिक वाम गठबन्धनका प्रतिनिधिलाई अविश्वास गर्नुपर्ने कुनै ठाउँ नभएको भन्दै गठबन्धन सरकारले आमनागरिकको समस्या समाधानमा पहल गरेको उनको दाबी छ ।
केपी ओलीले गणतन्त्र नचाहेको र संविधानको समेत विरोध गरेका कारण माओवादी–काँग्रेस एकजुट भएको समेत मोक्तानले बताइन । ‘हामी अहिले गणतन्त्रलाई संस्थागत विकास गर्नेमा छौं, केपी ओली तोड्नेमा छन्, त्यसैले जनताले गठबन्धनलाई जिताउनुपर्छ,’ मोक्तानले भनिन् । गठबन्धनमा आबद्ध भएकाले एक पार्टीले अर्को पार्टीलाई भोट हाल्नु पर्ने भन्दै यो बेला पार्टी र चुनाव चिन्ह भन्दा गणतन्त्र र संविधान जोगाउन सबै गम्भीर बन्नुपर्नेमा उनले जोड दिइन् ।
कार्यक्रममा नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सदस्य मुनु सिग्देलले गठबन्धनको सबै प्रतिनिधिले जनतालाई विश्वासघात नगर्ने भन्दै ढुक्क भएर गठबन्धनलाई मतदान गर्न आग्रह गरिन् । ‘हाम्रो गठबन्धनका उम्मेदवारले विश्वासघात गर्नुहुन्न, तपाईंहरू ढुक्कले गठबन्धनलाई भोट हाल्नुहोस्,’ उनले भनिन् ।
मकवानपुरकै मुख्यमन्त्री भएर पनि एमालेका डोरमणि पौडेलले ३ वर्षमा आफ्नै वडा हेटौंडा ११ मा एउटा पुलबाहेक कतै बजेट नहालेको भन्दै उनले लोकतान्त्रिक वाम गठबन्धनले जितेमा विकास र आर्थिक सम्बृद्धिका लागि भूमिका खेल्ने दाबी गरिन् ।