सरकारले मिडिया चलाउने नीतिको विपक्षमा छु : मुख्यमन्त्री पाण्डे
सौराहा - बागती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले आफ्नो सरकार सञ्चारमैत्री भएर अघि बढ्ने प्रतिबद्धता जनाएका छन् । शनिबार चितवनको सौराहामा नेपाल पत्रकार महासंघ बागती प्रदेशको प्रथम प्रादेशिक सम्मेलन उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
सरकारकै नेतृत्वमा सञ्चारमाध्यम खोल्ने अघिल्लो प्रदेश सरकारले नीति ल्याएको भए पनि आफू त्यसको पक्षमा नरहेको उनले स्पष्ट पारे । ‘मिडिया राज्यले सञ्चालन गर्न जरुरी छैन । छुट्टयाएको बजेट ठिक ढंगले ठिक काममा लगाउने हो,’ उनले भने । सञ्चारमाध्यम र सञ्चारकर्मी राजनीतिक स्थिरताको पक्षमा उभिनुपर्ने भन्दै मुख्यमन्त्री पाण्डेले देशको परिवर्तनमा सञ्चार माध्यम र सञ्चारकर्मीको अतुलनीय योगदान रहेको उल्लेख गरे ।
प्रदेश सरकार संविधान, लोकतन्त्र, संसद्, संघीयता र समावेशी लोकतन्त्रको पक्षामा रहेको भन्दै उनले यसमा वकालत गर्न सञ्चारकर्मीलाई आग्रह गरे । ‘संविधान, संघीयता र लोकतन्त्रको पक्षमा उभिने सञ्चारमाध्यम र सञ्चारकर्मीकै पक्षमा म छु । मेरो कार्यकालमा कुनै पनि सञ्चारमाध्यमलाई पक्षपात हुँदैन,’ मुख्यमन्त्री पाण्डेले भने । कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले महासंघ प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध रहेको बताए । उनले प्रदेश सरकार र स्थानीय पालिकाले सञ्चार नीति बनाउँदा प्रेसलाई नियन्त्रण गर्न खोजेको भन्दै सबै चनाखो भएर लाग्न आग्रह गरे ।