बागमतीमा ६ लाख ८५ हजारले दोस्रो चरणको खोप लगाउन बाँकी
हेटौंडाः बागमती प्रदेशमा ६ लाख ८५ हजार ८२० जनाले कोभिड–१९ विरुद्धको दोस्रो चरणको खोप लगाउन बाँकीे छ । प्रदेशमा कोभिड–१९ विरुद्ध पहिलो चरण खोप (कोभिशिल्ड) ३ लाख २८ हजार ८ सय ६८ जनाले लगाएका छन् ।
यस्तै कोभिड–१९ विरुद्ध पहिलो चरणको खोप (भेरोसेल) २ लाख ८९ हजार ३ सय ८१ जनाले लगाएका थिए । पहिलो चरणको खोप (कोभिशिल्ड) लगाएका मध्ये एक लाख २६ हजार १ सय ३३ जनाले मात्रै दोस्रो चरणको खोप लगाइसकेको प्रदेश स्वास्थ्य निर्देशनालय बागमती प्रदेशको निर्देशक रमेश अधिकारीले बताए ।
यही बैशाख ७ गतेदेखि उनीहरूलाई दोस्रो चरणको खोप लगाइएको थियो । आउँदो जेठ २ गतेबाट कोभिड–१९ विरुद्ध दोस्रो चरणको खोप (भेरोसेल) काठमाडौंमा लगाइदैछ । अझै बागमती प्रदेशमा दुई लाख ७० हजारले कोभिड–१९ विरुद्धको दोस्रो चरणको खोप (कोभिशिल्ड) लगाउन बाँकी छ । प्रदेशमा पहिलो चरणको खोप (कोभिशिल्ड) झन्डै ४ लाखले लगाएका थिए ।
‘अझै खोप लगाउने तयारी थियो कोभिडले उग्ररुप लिइहाल्यो’ निर्देशक अधिकारीले भने, ‘हामीसँग पर्याप्त खोप छैन दोस्रा चरणको लगाउन । सरकारले खोप नपठाएसम्म कहिलेबाट खोप लगाइन्छ भन्न सकिने अवस्था पनि छैन । प्रदेश स्वास्थ्य आपूर्ति तथा व्यवस्थापन केन्द्रसँग पर्याप्त खोप (कोभिशिल्ड) छैन ।’ अहिले प्रदेश स्वास्थ्य आपूर्ति तथा व्यवस्थापन केन्द्रसँग ६५१ भाइल कोभिशिल्ड खोप छ । जसले ६ हजार ५ सय १६ जनालाई मात्र लगाउन पुग्छ ।
बागमती प्रदेशमा पहिलो चरणमा गत माघ १४ गतेदेखि ३० गतेसम्म ६७ हजार ५ सय ७१ जनालाई पहिलो चरणको खोप (कोभिशिल्ड) लगाइएको थियो । ७८ हजार ८ सय ३७ जनालाई खोप लगाउने लक्ष्य लिए पनि लक्ष्यको ८५ प्रतिशतलाई मात्र खोप लगाएको उनले बताए । यस्तै फागुन २ गतेदेखि १७ गतेसम्म पहिलो चरणमा ७२ हजार ९ सय ४८ जनालाई लगाइयो । दोस्रो चरणमा फागुन २३ गतेदेखि २ लाख ५५ हजार ९ सय २० जनालाई पहिलो चरणको खोप लगाइएको निर्देशक अधिकारीले बताए ।