सुनसान पदमार्ग, चिन्तित पर्यटन व्यवसायी
लमजुङ : कोभिड-१९सङ्क्रमणको जोखिम बढ्न थालेसँगै विश्व पर्यटन क्षेत्रमध्ये एक चक्रिय अन्नपूर्ण पदमार्ग सुनसान बनेको छ । गत वर्ष कोरोना सङ्क्रमणको केही जोखिम कम भएसँगै विस्तारै केही पर्यटक आउन थालेपनि यतिबेला कोरोनाको दोस्रो लहरको उच्च जोखिम र निषेधाज्ञाले जारी भएपछि पदमार्ग झन् सुनसान बन्न पुगेको हो ।
कोभिड सङ्क्रमणको पहिलो लहर कम हुँदै गएपछि दैनिकजसो दुइदेखि १० जनासम्म पर्यटक आउने गरेकामा कोरोना सङ्क्रमणको दोस्रो लहरको जोखिम बढ्न थालेपछि यतिबेला पर्यटक आगमन ठप्प भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच केन्द्र धारापानीले जनाएको छ । यस कार्यालयका पर्यटन सहायक क्षेत्रबहादुर गुरुङले भने,'कोरोना सङ्क्रमणको जोखिम बढेपछि आउन थालेका पर्यटक नआएपछि पर्यटक आउने अपेक्षामा बसेको पर्यटन व्यवसायीहरू हेरेको हेरै भएका छन् ।'
पर्यटकको चाप बढ्ने यस पदमार्गमा कोरोनाले प्रभावित हुँदा सन् २०२१ को हालसम्म ४७० जना मात्र पर्यटक आएको उक्त केन्द्रका पर्यटन सहायक गुरुङले जानकारी दिए । विगतमा अप्रिल महिनामा मात्र पाँच हजार पर्यटक आउने पदमार्गमा यतिबेला पर्यटक देखिन छोडेको उहाँको भनाइ छ । मस्र्याङ्दी गाउँपालिका ४ का पर्यटन व्यवसायी मेखबहादुर गुरुङले भने,'पर्यटक नआउँदा होटल व्यवसायीहरु मर्कामा पर्दै आएकामा दुई÷चार महिनाबाट मात्र केही पर्यटक आउन थालेपछि पर्यटकको चाप बढ्ने र आम्दानी पनि राम्रो होला भन्ने अपेक्षामा थियौँ, तर पुनः कोरोना सङ्क्रमणको दोस्रो लहरको जोखिम बढेपछि चिन्ताले सताएको छ ।'
यस क्षेत्रका होटल व्यवसायीको आम्दानीकै मुख्य स्रोत भनेकै पदमार्गमा आउने पर्यटक हो । पर्यटक नै नआएपछि व्यवसाय धान्ने त परकै कुरा, परिवारको जीवन धान्नलाई समेत समस्या पर्न थालेको उनको भनाइ छ । यस पदमार्गमा पर्ने सोही स्थानका पञ्चबहादुर गुरुङले भने,'अलिअलि पर्यटक पर्यटक आएपनि दुई/चार हजार रुपैयाँको मुख देख्न पाइरहेको थियो, तर अहिले त एक रुपैयाँ देख्न पनि रहर हुन थालेको छ ।'