भेरी अस्पतालका स्वास्थ्यकर्मी संक्रमित भए पनि बिरामीको उपचार गर्दै
बुटवल : भेरी अस्पतालमा कार्यरत ७५ जना स्वास्थ्यकर्मीलाई कोभिड १९ संक्रमण पुष्टि भएपछि पनि अस्पतालको दैनिक सेवा प्रभावित भएको छ । अस्पतालसँग नियमित काममा रहेका चार सय कर्मचारीमध्ये बिहीबारसम्ममा ७५ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।
जनशक्तिको अभावका कारण कोभिड-१९ संक्रमण पुष्टि भएर पनि गम्भिर अवस्था नभएका स्वास्थ्यकर्मीहरुलाई स्वास्थ्य सुरक्षा सामाग्री उपलब्ध गराएर काममा लगाईएको छ भने लक्षण देखिएका कर्मचारीहरु आधाआधी होम आइसोलेसन र अस्पतालमा क्वाटरकै कोठामा नै आइसोलेट भएका छन् । अस्पतालका कतिपय कर्मचारीहरुलाई भने भर्ना गरेर उपचार गराईएको छ ।
अस्पतालका स्वास्थ्कर्मीहरुमा नर्सिङतर्फ ३२ जना, मेडिकल अफिसर ८ जना, कार्यालय सहयोगीहरु १६ जना, एचए, अहेव ८ जना, एक्सरे १ जना मेडिकल रेकर्डर १ जना तथा अन्य ९ जना कर्मचारीहरुमा कोभिड पुष्टि भएको अस्पतालकी नर्सिङ अधिकृत ईश्वरी केसीले जानकारी दिईन् ।
यसैपनि जनशक्तिको अभाव भएको अस्पतालमा ठूलो संख्यामा स्वास्थ्यकर्मीहरु संक्रमित भएपछि सेवामा असर परेको अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. प्रकाश थापाले बताए । उनले अत्यन्तै जोखिममा रहेर स्वास्थ्कर्मीहरुले संक्रमितहरुको उपचार गरिरहेको पनि बताए ।
अस्पतालमा जनशक्तिको अभाव भएको भन्दै जनशक्ति माग गरिएकोमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दरबन्दी स्वीकृत दिइसकेको छ । अस्पताल प्रशासनले ७० बढी जनशक्तिको आवश्यकताका लागि विज्ञापन समेत खोलिसकेको छ ।