राजनीति

गण्डकीमा भागबण्डा पुर्‍याउन मन्त्रालय थपियो

मन्त्रालयको संख्या ११ पुग्यो

अनिष भट्टराई |
जेठ ५, २०७८ बुधबार २०:३३ बजे

पोखरा : गण्डकी प्रेदशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले भागबण्डा पुर्‍याउन मन्त्रालय टुक्रयाएका छन् । उनले अब मन्त्रालयको संख्या ११ पुर्‍याएका छन् । मुख्यमन्त्री गुरुङले भौतिक मन्त्रालय, उद्योग तथा पर्यटन मन्त्रालय र सामाजिक विकास मन्त्रालय विभाजन गरेर ३ मन्त्रालय थपेका हुन् । 

अहिलेलाई मन्त्रालयमा बुधबार नियुक्त मन्त्रीहरूलाई जिम्मा दिए पनि पछि विपक्षी दलहरूलाई सरकारमा सहभागी गराउने मुख्यमन्त्रीको योजना छ । ‘धेरै मन्त्रालय एकै ठाउँमा भएर गज्याङगुजुङ भो, काम गर्न अप्ठेरो पर्‍यो, त्यसैले प्रभावकारी ढंगले काम गर्न मन्त्रालय फुटाउन परेको हो,’ मुख्यमन्त्री गुरुङले भने ।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालय आफ्नो मातहतमा राखेका मुख्यमन्त्री गुरुङले किरण गुरुङलाई अर्थ, भुमि व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मा दिएका छन् । रामशरण बस्‍नेतलाई भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था, ऊर्जा, जलश्रोत तथा खानेपानी, कानून, सञ्‍चार तथा प्रदेश सभा मामिला मन्त्रालयको जिम्मेवारी दिएका छन् । 
 
यसघि सामाजिक विकास मन्त्रालय सम्हालेकी नरदेवी पुनलाई शिक्षा संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालय दिइएको छ । विकास लम्सालले पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति, वन, वातावरण तथा भूसंरक्षण मन्त्रालय पाएका छन् । स्वतन्त्र निर्वाचित सांसद दीपक मनाङे पनि युवा तथा खेलकुद मन्त्री बनेका छन् । 
 
संविधानले प्रदेश सभामा रहेको सांसदको २० प्रतिशतसम्मलाई मन्त्री बनाउन सक्ने व्यवस्था गरेको छ । जस अनुसार गण्डकी प्रदेशमा १२ सम्म मन्त्रालय बनाउने कानुनी व्यवस्था छ ।

आफूले दोस्रो पटक मुख्यमन्त्रीको शपथ लिएका गुरुङले अघिल्लो सरकारमा एमालेबाट सहभागी मन्त्रीलाई नै दोहोर्‍याएका छन् ।   


Author

अनिष भट्टराई

भट्टराई इकागजका संवाददाता हुन् ।


थप समाचार
x