रोल्पामा लागूऔषधको ओसारपसारमा महिलाको प्रयोग बढ्दो
रोल्पा : जघन्य र संगठित अपराध मानिने लागुऔषध (अफिम) ओसारपसारमा पछिल्लो समयमा रोल्पामा महिलाहरुको प्रयोग बढेको देखिएको छ । जिल्ला प्रहरी कार्यालय रोल्पाले चालु आर्थिक वर्षको वैशाख १२ गतेसम्म गरेको ‘अफिम अप्रेशन’ मा लागुऔषध ओसारपसारमा संलग्न भएको आरोपमा पाँच महिला पक्राउ परेसँगै यो तथ्य बाहिर आएको हो । यस अवधिमा लागुऔषध ओसारपसारका चार घटनामा पक्राउ परेका १० मध्ये छ महिला नै थिए ।
प्रहरीले २०७७ साल असोज ५ गते रोल्पा थवाङ गाउँपालिका–२ छेर्लोवाङबाट सोही गाउँपालिका–२ ठूलोगाउँकी ४५ वर्षीया मुली झाँक्रीमगर र ३५ वर्षीया विनज्योति रोकामगरलाई पक्राउ गर्यो । चेकजाँचका क्रममा मुली झाँक्रीमगरले बोकेको झोलाबाट चार किलो ९३५ ग्राम र रोकामगरको साथबाट चार किलो ८८५ ग्राम अफिम बरामद गर्यो । पक्राउ परेका उनीहरु २०७७ मङ्सिर १४ को रोल्पा जिल्ला अदालतको आदेशअनुसार पुर्पक्षका लागि कारागार चलान भए ।
विसं २०७७ असोज १७ गते रोल्पा सुनिलस्मृती गाउँपालिका वडा नं २ खुग्रीस्थित प्रहरी चौकीले दाङ जाँदै गरेको एक स्कार्पियो गाडीको जाँच गर्ने क्रममा लागुऔषध (अफिम) फेला पार्यो । वा १५ च ३७७६ नम्वरको गाडीको डिक्कीमा लुकाइएको अवस्थामा चार किलो ३०० ग्राम कालो रङ्को लागुऔषध फेला पारेको हो । सो गाडीमा सवार दाङ गढवा गाउँपालिका वडा नं ६ बस्ने ३० वर्षीया निसा पुन र घोराही उपमहानगरपालिका ६ हापुर वस्ने ४५ वर्षीया दिलप्रभा वुढामगरको मिलोमतोमा सो पदार्थ ल्याइएको प्रहरी अनुसन्धानबाट खुल्यो ।
सोही गाडीमा सवार रुकुमपूर्व भूमे गाउँपालिका वडा नं. ६ की ३७ वर्षीया ज्योती घर्तीमगर पनि सोही घटनामा पक्राउ परिन् । रोल्पा जिल्ला अदालतमा पेश गरेको सो मद्दामा विसं २०७७ मङ्सिर २४ मा भएको अदालतको आदेशमा दिलप्रभा रु १ लाख ५० हजार धरौटीमा छुटे पनि निसा र ज्योती पुर्पक्षका लागि कारागार चलान भएका थिए ।
विसं २०७८ वैशाख १२ गते रोल्पा त्रिवेणी गाउँपालिका– ७ भित्रिखोलाका ४० वर्षीय रतन बुढाको तीन रोपनी जग्गामा लगाएको अफिम खेती प्रहरी चौकी जुँगारबाट खटिई गएको प्रहरी टोलीले नष्ट गर्यो । उक्त खेतीमा संलग्न रहेको आरोपमा सोही ठाउँका ३५ वर्षीया मनकुमारी वुढा पक्राउ परिन् । वुढाकोे मुद्दा जारी रहेको प्रहरीको भनाई छ ।
'महिलाले अरुको विश्वास छिट्टै गर्ने गरेका कारण पनि यस्ता अपराधमा उनीहरुको संलग्नता रहेको देखिन्छ र उनीहरु समातिएका पनि छन्', जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायव उपरीक्षक नरेशराज सुवेदीले भने,'लागुऔषध संगठित अपराध भएकाले यसमा धेरै जनाको संलग्नता हुन्छ र त्यसमा बढी मात्रामा महिला प्रयोग गरेको पाइएको छ ।'
प्रहरीका अनुसार रोल्पाबाट वसाइँसराई गरी दाङ, नेपालगञ्ज, बुटवल जस्ता शहरी क्षेत्रमा वसोवास गरेकाहरुले समेत संलग्न भई उत्पादन र ओसारपसारको काम भइरहेको छ । रोल्पाको भूगोल, रहनसहन तथा चालचलन थाहा पाएका उनीहरू आएर ग्रामीण क्षेत्रका सोझा महिलाहरु प्रयोग गरेको प्रहरीको दावी छ । 'गरिब तथा विपन्न परिवारलाई छोटो समयमा धनी बन्न सकिने लोभलालचामा फसाएर यस्तो अपराधमा संलग्न गराएको देखिन्छ', प्रहरी नायव उपरीक्षक सुवेदीले भने ।