जुम्लाको तिलामा भीषण आगलागी, ३५ घर गोठ जलेर नष्ट

इकागज | चैत २२, २०७७

जुम्ला : जुम्ला तिला गाउँपालिका-९ ढिपुगाउँको मुल्लीमा आगलागी हुँदा ३५ घर जलेर नष्ट भएका छन् । पचहत्तर घर भएको मुल्लीमा ३५ घर जलेर नष्ट भइसकेको वडाध्यक्ष शेरबहादुर बोहोराले जानकारी दिए । उनका अनुसार आगो नियन्त्रण बाहिर छ । 

पर्याप्त पानी नभएका कारण आगो निभाउन सकिएको छैन । घरको छाना निकाल्ने र माटो हालेर आगो निभाउने लिने प्रयास भइरहेको उनले बताए । वडाध्यक्ष बोहोराले भने, “आगो नियन्त्रण बाहिर छ । निभाउनका लागि पानी छैन, घरमा जलेको आगो हेरेर बस्नुको विकल्प छैन ।” 

पैँतीस घरभित्रको अन्नबाली सबै सखाप भइसकेको छ । आगो कसरी लागेको हो भन्ने विषयमा जानकारी लिने प्रयास भइरहेको छ । आगलागीका कारण मान्छे बेहोस छन् । आगलागीबाट क्षतिको यकिन विवरण आउन बाँकी छ । 

तिला-९ ढिपुगाउँ वर्षायाममा छ महिना बस्ने बस्ती हो । यस समयमा हिमपात हुने र अत्यधिक चिसो हुने भएकाले सबै ढिपुगाउँमा बसेका छन् । मुल्लीमा वर्षायाममा भण्डारण गरिराखेको अन्नपात सबै जलेको हो ।

वडाध्यक्ष बोहोराले भने, “स्याउला सङ्कलनका लागि एक/दुई दिनभित्र गाउँले नै त्यो बस्तीमा जाने भनेका थिए । आगोले बस्ती खरानी बनाइसक्यो ।” उनले उद्धार र राहतका कार्यमा साथ दिन सबै सरोकारवालालाई आग्रह गरेका छन् । 

जुम्लाका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले आगलागी भएको खबर पाउनेबित्तिकै तत्काल उद्धारका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली आगलागी भएको घटनास्थलतिर पठाइसकेको बताए । 

कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले तिला–९ ढिपुको मुल्लीमा आगलागी भई ३५ घर नष्ट भएको प्रारम्भिक खबरले दुखित तुल्याएको बताए । “उद्धारका लागि घटनास्थलतर्फ सुरक्षाकर्मी परिचालित भइसकेको अवस्था छ”, उनले भने, “उद्धार, राहत तथा पुनःस्थापना कार्यमा सहयोग गर्न सम्बद्ध पक्षलाई अनुरोध गर्दछु ।”

यसअघि तिला-७ पोखरीगाउँको गोठीमा आगलागी हुँदा ३१ घर जलेर नष्ट भएको थियो । यससँगै जुम्ला आगलागीको उच्च जोखिम क्षेत्र बनेको छ । सदरमुकामस्थित ढाण थपला सामुदायिक वन र कार्तिक स्वामी सामुदायिक वनमा आगलागी भएको थियो । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले आगो निभाउन सफल भएको प्रमुख जिल्ला अधिकारी थापाले जानकारी दिए । रासस

एमाले संसदीय दलको बैठक आज, जोगिएला त कर्णालीका मुख्यमन्त्रीको पद ?

लक्ष्मी भण्डारी | चैत २२, २०७७

सुर्खेत : कर्णालीमा नेकपा एमालेले आफ्नो नेतृत्वमा सरकार गठन गर्ने तयारी गरेको छ । जसको लागि आज (आइतबार...

कर्णाली प्रदेश प्रमुखको कार्यप्रति माओवादी केन्द्रको ध्यानाकर्षण

लक्ष्मी भण्डारी | चैत २१, २०७७

सुर्खेत : नेकपा एमाले संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिएको विषयमा प्रदेश प्रमुख गोविन्...