अर्थ समितिलाई नेप्सेका सीइओको लिखित जवाफ
'सञ्चालकलाई संस्थापक सेयर किन्न आचारसंहिताले रोक्दैन'
काठमाडौँ - नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को सञ्चालक आचारसंहिताले सञ्चालकलाई दोस्रो बजारमा बाहेक कम्पनीको संस्थापक सेयर कारोबार गर्न नरोकेको नेप्सेका प्रमुख कार्यकारी अधिकृत (सीइओ) चन्द्रसिंह साउदले दाबी गरेका छन् । साउदले संसद्को अर्थ समितिलाई
लिखित जवाफ पेस गर्दै आचारसंहिताले आफूलाई बाधा नपुगेको बताएका हुन् ।
उनले नेप्सेको कर्मचारी सेवा शर्त सम्बन्धी विनियमावली, सञ्चालक आचार संहिता र धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ मा सञ्चालकलाई यस्तो कारोबार गर्न रोकतोक नभएको तर्क गरेका छन् ।
यस्तो छ नेप्सेका सीइओले अर्थ समितिलाई दिएको लिखित जवाफ :
नेप्सेको कर्मचारी सेवा शर्त सम्बन्धी विनियमावलीको विनियम ६९ (ग) मा "नेप्सेलाई पूर्व जानकारी नदिई आफ्ना वा आफ्नो परिवारको नाममा रहेको सूचीकृत संगठित संस्थाको सेयर विक्री गर्न रोक लगाएको भए पनि नेप्सेमा नियुक्ती प्राप्त गर्नु अघि दोस्रो बजार र प्राथमिक निष्काशन मार्फत खरिद गरेको शेयरमा प्राप्त हकप्रद बोनस लगायत अन्य तवरले बढे बढाएको शेयर पूर्व जानकारी दिई प्राथमिक निष्काशनमा खरिद गरे सरह विक्री गर्न सकिने छ" भन्ने व्यवस्था रहेको छ । कर्मचारी विनियमावलीको यो व्यवस्थाले सूचीकृत नभएको सेयर खरिद गर्न रोक लगाएको देखिदैन ।
यसैगरी मिति २०७३/ ०५ /१५ को संचालक समितिको बैठकबाट स्वीकृत संचालक आचार संहिताको बुदा नं (च) को ३ मा नियमित दोश्रो बजारबाट बाहेक कुनै कम्पनीको संस्थापक शेयर खरिद गर्न बाधा पर्ने छैन भन्ने व्यवस्था रहेको छ ।
धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को नियम ४७ मा सेयर जारी गर्ने कम्पनीले नियमावली बमोजिम तयार गर्नुपर्ने विवरणपत्र, बिक्री प्रस्ताव तथा विवरण पुस्तिकाको एक प्रति स्वीकृतिको लागि बोर्डमा पेश गर्दा सोको एकप्रति सम्बन्धित धितोपत्र बजारमा समेत पेश गर्नुपर्नेछ भन्ने व्यवस्था रहेकोमा सर्वोत्तम सिमेन्ट सो प्रक्रियामा समेत आइनसकेकोले उक्त कम्पनीको संस्थापक सेयर खरिद गर्दा भित्री सूचना प्राप्त हुने अवस्था देखिदैन ।
धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को नियम ३८ मा संस्थापक शेयर प्राथमिक निष्काशन भएको ३ वर्षसम्म दोस्रो बजारमा बिक्री गर्न नपाइने हुँदा तत्कालको सूचनाका आधारमा खरिद गरी दोस्रो बजारबाट लाभ लिने अवस्था पनि विद्यमान छैन । साथै प्राथमिक बजारमा सेयर निष्काशन गर्ने प्रक्रियामा नेप्सेको कुनै भूमिका हुदैन ।
नेप्से धितोपत्रहरुको दोस्रो बजार कारोबारका लागि कारोबारस्थल उपलब्ध गराउने निकाय भएको हुँदा यसले नीति नियम तर्जुमा गर्ने नियमनकारी निकायको जस्तो भूमिका समेत निर्वाह नगर्ने हुँदा बजार मूल्यमा अनुचित प्रभाव पार्न सक्ने देखिदैन ।
यसैगरी कम्पनी ऐनको दफा ४२ मा देहायको व्यवस्था रहेको शेयर वा डिवेञ्चर बिक्री गर्न वा धितोबन्धक राख्न सकिने १ यस ऐन, प्रबन्धपत्र र नियमावलीका अधीनमा रही कम्पनीको शेयर वा डिवेञ्चर चलसम्पत्तिसरह बिक्री गर्न वा धितोबन्धक राख्न सकिनेछ ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि अन्य कुनै कम्पनीबाट ऋण नलिएको प्राइभेट कम्पनीबाहेक अन्य कम्पनीको संस्थापकले कम्पनीको प्रथम साधारण सभा नभएसम्म र निजको नाममा जारी भएको शेयरको माग रकम पूरा चुक्ता नगरेसम्म आफूले लिएको शेयर बिक्री गर्न वा धितोबन्धक राख्न पाउने छैन ।