सर्वोत्तम सिमेन्ट सेयर खरिद प्रकरण
नेप्सेका सीइओको जवाफ: ‘मैले सेयर किन्न नपाउने ?’
काठमाडौं – भित्री सूचनाका आधारमा सर्वोत्तम सिमेन्टको सेयर खरिद गरेको विषयमा संसद्को अर्थ समितिले नेप्सेका प्रमुख कार्यकारी अधिकृत (सीइओ) चन्द्रसिंह साउदसँग आज सोमबार सवाल-जवाफ गरेको छ । सर्वोत्तम सिमेन्ट सेयर खरिद प्रकरणमा नेप्सेका सीइओ साउदले अर्थ समितिको बैठकमा भने, ‘म पनि नागरिक हुँ, लगानी गर्ने अधिकार मलाई पनि छ ।’
उनले आफूले शेयर खरिद गरेको कम्पनीको प्रमोटोर सेयर (प्रवर्द्धक) भएको र उक्त शेयर प्राथमिक बजारमा सूचिकृत पनि नभएकाले सेयर खरिदमा कुनै समस्या नरहेको पनि बताए । ‘त्यो कम्पनी (सर्वोत्तम सिमेन्ट) प्राथमिक बजारमै प्रवेश नगरेको कम्पनी हो,’ साउदले भने ।
सिंहले सूचिकृत कम्पनी मात्रै ‘रेगुलेटेड सेकेण्डरी मार्केट’ (नियन्त्रित सहायक बजार) भएको कारणले गर्दा नेप्सेसँग आबद्ध भएको संस्था रहेको उल्लेख गरे । ‘न सूचिकृत भएको संस्था हो । नेप्से भनेको प्लेट फर्म उपलब्ध गराउने निकाय मात्र हो । यसले कुनै नीति, नियम कानुन बनाउँदैन,’ उनको भनाइ थियो, शुद्ध रूपमा दोस्रो बजारको प्लेट फर्म उपलब्ध गराउने निकाय हो ।’
नेप्सेको सञ्चालक समितिको आचार संहिताले रेगुलेटेड सेकेण्डरी मार्केट बाहेक अन्य कुनै पनि संस्थाको संस्थापक शेयर किन्न कुनै बाधा पर्ने छैन भनेर लेखेको पनि साउदले उल्लेख गरे । ‘म पनि नागरिक मैले पनि लगानी गर्न पाउनु परो नि,’ उनले भने, ‘नियमानुसार नै त्यो शेयरको कारोबार भएको हो । नियम मिचेर होइन ।’आफूले लिएको सेयर प्रमोटर सेयर (प्रवद्र्धकको लगानी) भएकाले तीन वर्षसम्म लकिङ अवधिमा खरिद बिक्री गर्न नपाइने नियम रहेकाले भित्री कारोबार नभएको पनि उनले बताए ।
समिति सदस्य तथा सांसद रामकुमारी झाक्रीले यो अनैतिक अभ्यास रहेको बताइन् । ‘बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर साना लगानीकर्ता लगानीका लागि झुम्मिरहेछन् । तपाईंहरुको यो कार्यले कस्तो सन्देश दिइरहेको होला ?’उनले भनिन् ।