ओडेसामा रूसको रातभर आक्रमण, ६० हजार टन अन्न नष्ट
किभ, युक्रेन- मस्कोले जानीजानी खाद्यान्न टर्मिनलमा आक्रमण गरेको आरोप किभले बुधबार लगाएको छ । रूसले ओडेसा बन्दरगाह वरपर रातभर गरेको आक्रमणमा निर्यातका लागि राखिएको ६० हजार टन खाद्यान्न नष्ट गरेको किभले दावी गरेको छ ।
रूसले युक्रेनको दक्षिणी ओडेसा क्षेत्रमा लगातार दुई रातसम्म क्षेप्यास्त्र प्रहार गरेको र कार्गो जहाजको सुरक्षित आवागमनका लागि अनुमति दिने खाद्यान्न सम्झौताबाट बाहिरिएपछि ‘ब्ल्याक सी’ को बन्दरगाहमा प्रहार गरेको हो ।
युक्रेनको कृषि मन्त्रालयले ओडेसाबाहिरको चोर्नोमोस्र्क बन्दरगाहमा ‘६० हजार टन खाद्यान्न पनि नष्ट गरिएको’ जनाएको छ ।
उक्त खाद्यान्न ‘६० दिनअघि खाद्यान्न करिडोरमार्फत पठाउन लागिएको’ बताइएको छ ।
“युक्रेनी व्यापारी र (युक्रेनी) कर्नेलहरू र क्यानेडाली भिटेरा र फ्रान्सेली सीएमए सीजीएम समूहजस्ता वाहकहरूको अनाज पूर्वाधारमा सबैभन्दा बढी असर परेको छ,” मन्त्रालयले भनेको छ ।
“विश्वको खाद्य सुरक्षा फेरि एकपटक खतरामा परेको छ,” विज्ञप्तिमा भनिएको छ ।
राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यसअघि रूसले ‘जानाजानी खाद्यान्न सम्झौताको पूर्वाधारलाई निशाना बनाइरहेको’ बताएका थिए ।
रूसले संयुक्त राष्ट्रसङ्घको मध्यस्थतामा भएको खाद्यान्न सम्झौतालाई विस्तार गर्न सोमबार अस्वीकार गरेको थियो ।
सम्झौताबाट बाहिरिएदेखि नै मस्कोले ‘ब्ल्याक सी’ हुँदै खाद्यान्न निर्यातको भविष्यमा ‘जोखिम’ निम्त्याउने चेतावनी दिँदै आएको छ ।
संयुक्त राष्ट्रसङ्घले विश्वका सबैभन्दा गरिब देशहरूले सम्झौताको पतनको ‘मूल्य चुकाउने’ चेतावनी दिएको छ र पश्चिमी देशहरूले मस्कोको बहिर्गमनको निन्दा गरेका छन् । (एएफपी)