युक्रेन युद्ध : आवासीय भवनमा क्षेप्यास्त्र आक्रमण, २३ जना मारिए
डिनिप्रो (युक्रेन)- युक्रेनको दक्षिणपूर्वी शहर डिनिप्रोको एउटा आवासीय भवनमा रुसले गरेको क्षेप्यास्त्र आक्रमणबाट मृत्यु हुनेको सङ्ख्या २३ पुगेको छ ।
क्षेप्यास्त्र आक्रमणबाट भत्केको बहुतले भवनको माथिल्लो भागबाट बचेकाहरूको उद्धार तथा भग्नावशेषमा जीवितहरूको खोजीका निम्ति उद्धारकर्मीहरू कठ्याङ्ग्रिँदो चिसोको परबाह नगरी निरन्तर खटिरहेका थिए । शनिबार भएको घातक आक्रमणलाई विफल पार्न युक्रेनले धेरै प्रयास गरेको थियो । रुसले प्रहार गरेका ३३ वटा क्रुज मिसाइलमध्ये २१ वटालाई युक्रेनले खसालेको थियो ।
दुई साता लामो अघोषि युद्धविराम समाप्त भएसँगै रुसले राजधानी, किएभ र खार्किभको उत्तरपूर्वी सहरलाई पनि निशाना बनाएर आक्रमण गरिरहेको छ । युक्रेनी ऊर्जा केन्द्र र भौतिक पूर्वाधारमाथि मस्कोले व्यापकरूपमा आक्रमण गरिरहेको छ । उसले आफ्नो लक्ष्य हासिल भएको दाबी पनि गरेको छ ।
यसैबीच, डिनिप्रोको सरकारले आइतबार दिउँसो कम्तीमा ७२ जना घाइते भएका तथा ४३ जना बेपत्ता भएका जनाएको छ । हालसम्म ३९ जनाको उद्धार गरिएको पनि बताइएको छ । (एपी)