रुसले युरोपविरुद्ध ‘ग्यास युद्ध’ सुरु गरेको युक्रेनी राष्ट्रपतिको आरोप
काठमाडौँ – युक्रेनले रुसमाथि युरोपविरुद्ध ‘ग्यास युद्ध’ सुरु गरेको तथा यसले मानिसलाई आतंक फैलाउन आपूर्ति कटौती गरेको आरोप लगाएको छ ।
रुसी उर्जा फर्म ग्याजप्रोमले नोर्ड स्ट्रिम १ पाइपलाइनको टर्बाइनमा काम गर्नका लागि जर्मनीमा ग्यास आपूर्ति घटाउने घोषणा गरेको छ । तर युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसको यो कदम युरोप विरुद्ध ‘ग्यास ब्ल्याकमेल’ मात्र भएको दाबो गरेको बीबीसीले जनाएको छ ।
समाचार जनाइएअनुसार यता ग्याजप्रोमले सोमबार मर्मत कार्य गर्नको लागि हालको स्तरको लगभग आधा ग्यास आपूर्ति कटौती गर्न आवश्यक रहेको जनाएपनि जर्मन सरकारले आपूर्ति सीमित गर्ने कुनै प्राविधिक कारण नभएको दाबी गरेको छ ।
नोर्ड स्ट्रिम १ पाइपलाइनले बाल्टिक सागर मुनि हुँदै रूसबाट जर्मनीसम्म ग्यास आपूर्ति गर्छ । तर पछिल्ला हप्ताहरुमा यसबाट क्षमता भन्दा कम ग्यास प्रवाह भइरहेको छ र यसै महिनाको सुरुमा १० दिन मर्मतका लागि पूर्ण रूपमा बन्द गरिएको थियो ।
रुसले गत वर्ष युरोपेली संघलाई ४० प्रतिशत ग्यास उपलब्ध गराएको थियो र तर ईयूका अनुसार रुसले ऊर्जालाई हतियारको रूपमा प्रयोग गरिरहेको छ ।
यता जेलेन्स्कीले युरोपेली जनताको जीवनलाई तहसनहस बनाउन रुसले यो कदम चालेको आरोप लगाएका छन् । रुसले जानीजानी ग्यास आपूर्ति कम गरेको आरोप लगाएका हुन् ।