भारतमा कोरोनाविरुध्दको खोप लगाउन सुरु
नयाँदिल्ली : भारतमा कोरोनाविरुध्दको खोप लगाउन शनिबारदेखि सुरु गरिएको छ । भिडियो सम्मेलनमार्फत् प्रधानमन्त्री नरेन्द्र मोदीले खोप अभियानको शनिबार उद्घाटन गरे । यस अभियानलाई विश्वकै सवैभन्दा ठूलो खोप अभियान भनिएको छ ।
अभियानअन्तर्गत सवैभन्दा पहिला कोरोनाविरुध्दको लडाईमा अग्रपक्तिमा खटिएकाहरूलाई खोप लगाउने मापदण्ड बनाइएको छ । अग्रपक्तिका सेवाप्रदायकसहित पहिलो चरणमा झण्डै तीन करोड मानिसलाई खोप लगाउने भारतीय सरकारको तयारी छ । खोप लगाउनका लागि देशभरी तीन हजार ६ ठाउँमा खोप केन्द्रको व्यवस्था गरिएको र ती सवै भर्चुअल माध्यमबाट एक अर्कामा सम्पर्कमा रहने व्यवस्था गरिएको अधिकारीहरूले जनाएका छन् । आज पहिलो दिन हरेक खोप केन्द्रमा सय जनाको दरले खोप लगाउन सक्ने जनाइएको छ ।
खोपका लागि एकिकृत बालविकास सेवाका कर्मचारीसहित सरकारी तथा नीजि क्षेत्रका स्वास्थ्यकर्मीहरूलाई सवैभन्दा पहिलो प्राथमिकतामा राखिएको छ । दैनिक विहान ९ बजेदेखि बेलुका ५ बजेसम्म खोप सेवा उपलब्ध गराइने केन्द्रीय स्वास्थ्य मन्त्री डा. हर्ष बर्धनले जानकारी दिए । उनले कोरोनाविरुध्दको खोप अभियान सुरु हुनुलाई “कोरोनाको अन्त्य नै सुरु भएको” रूपमा लिएका छन् ।
अर्को चरणमा ५० बर्षभन्दा बढी उमेरका व्यक्तिलाई मात्रै खोप दिइने मापदण्ड बनाइएको सरकारी अधिकारीहरूले जनाएका छन् । बृध्दबृध्दहरू कोरोनाभाइरसबाट सङ्क्रमणको उच्च जोखिम हुने र सङ्क्रमित भइसकेपछि जित्न पनि गाह्रो हुनेभएकाले उनीहरूलाई प्राथमिकतामा राखिएको उनीहरुले जनाएका छन् । उमेरले ५० बर्षभन्दा कम भएकाहरू पनि गम्भीर अवस्थाका विरामी छन् भने पनि उनीहरूलाई खोप लगाइने मापदण्डमा उल्लेख छ ।
भारतमा दुई प्रकारका खोप लगाउनका लागि सरकारले अनुमति दिएको छ । यही ३ जनवरीमा खोप लगाउन अनुमति दिने निर्णय सरकारले गरेको थियो । भारत बायोटेकले बनाएको कोभ्याक्सीन र अक्सफोर्ड विश्वविद्यालयसँग एस्ट्राजेनेका कम्पनीले बनाएको कोभिशिल्ड प्रयोग गर्न सरकारले अनुमति दिएको हो ।
खोप अभियानको उद्घाटन गर्दै प्रधानमन्त्री मोदीले कोरोना महामारीविरुध्दको सङक्रमण भारतीयहरू एकताबध्द भएर लडेको बताउँदै खोपका लागि पनि भारतले कडा परिश्रम गरिरहेको बताए । “यती धेरै जनसंख्या भएको भारतमा महामारीका समयमा मानिसहरूले स्वास्थ्य मापदण्ड अपनाउँदा क्षति कम भएको छ । एक करोडभन्दा बढी मानिसहरुले महामारीसँग लडेका छन् र जितेका छन् । अन्य मुलुकभन्दा भारतमा महामारीको प्रभाव निकै न्यून छ” उनले भने । (रासस)