कूटनीति

सभापति देउवा र अमेरिकी उपविदेशमन्त्री नुल्यान्डबीच भेट

इकागज |
माघ १६, २०७९ सोमबार १४:१५ बजे

काठमाडौँ - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग संयुक्त राज्य अमेरिकाका राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्डले आज शिष्टाचार भेटवार्ता गरेकी छन् । भेटमा द्विपक्षीय सम्बन्ध, लोकतन्त्र, विकास र सुशासनमा प्राप्त सहयोग अझ सुदृढ बनाउने विषयमा छलफल भएको पूर्वप्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ । भेटमा देउवाले नेपाललाई अमेरिकाबाट निरन्तर प्राप्त सहयोग र समर्थनको उच्च मूल्याङ्कन गर्दै आभार व्यक्त गरेका थिए । 

अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड दुई दिने नेपाल भ्रमणका लागि आइतबार यहाँ आएकी हुन् ।


उनले सन् २०२१ को अप्रिलमा राजनीतिक मामिलासम्बन्धी उपविदेश मन्त्रीका रूपमा शपथ लिएकी थिइन् । त्यसअघि उनी वासिङ्टन डिसीमा अवस्थित विश्वव्यापी रणनीतिक परामर्श तथा वाणिज्य कूटनीति फर्म अल्ब्राइट स्टोनब्रिज ग्रुपमा वरिष्ठ परामर्शदाताका रूपमा कार्यरत छिन् । 

उपविदेश मन्त्री नुल्यान्ड ब्रुकिङ्स इन्स्टिच्युसनमा गैर–आवासीय सिनियर फेलो, येल विश्वविद्यालयमा वृहत् रणनीतिकी विशिष्ट अभ्यासकर्ता र नेसनल इन्डाउमेन्ट फर डेमोक्रेसीको सञ्चालक समितिकी सदस्य पनि रहिसकेकी छन्।

तेत्तीस वर्षयता अमेरिकी कूटनीतिज्ञ रहनुभएकी उनी अमेरिकी राष्ट्रपति ओबामा र विदेश मन्त्री केरी मातहत सन् २०१३ को सेप्टेम्बरदेखि २०१७ को जनवरीसम्म युरोपेली तथा युरेसियन मामिलासम्बन्धी सहायक विदेश मन्त्रीका रूपमा सेवारत थिइन् । उनी अमेरिकी विदेश मन्त्री हिलारी क्लिन्टनको कार्यकालताका विदेश मन्त्रालयकी प्रवक्ता थिइन् भने राष्ट्रपति जर्ज डब्ल्यु बुसको दोस्रो कार्यकालमा सन् २००५ देखि २००८ सम्म नेटोका लागि अमेरिकी राजदूत थिइन् ।

उप-विदेश मन्त्री नुल्यान्डले सन् २०१० देखि २०११ सम्म युरोपमा पारम्परिक हतियार नियन्त्रण सन्धिसम्बन्धी विशेषदूत तथा प्रमुख वार्ताकारका रूपमा र सन् २००३ देखि २००५ सम्म अमेरिकी उपराष्ट्रपति चेनीकी उपराष्ट्रिय सुरक्षा सल्लाहकारका रूपमा सेवा गरेकी छन् । उनले ब्रसेल्सस्थित नेटोमा दुई कार्यकालका साथै अमेरिका बाहिर रसिया, चीन र मङ्गोलियाका साथै वासिङ्टनस्थित विदेश मन्त्रालयमा विभिन्न ओहोदामा रही काम गरिसकेकी छन्। उनले ब्राउन विश्वविद्यालयबाट इतिहास विषयमा स्नातक गरेकी छन् । रासस


Author

थप समाचार
x