फुटबल

मेस्सीले किन लिलाम गरे विश्वकपमा लगाएका जर्सीहरू ?

इकागज |
मंसिर २९, २०८० शुक्रबार ११:५१ बजे

काठमाडौँ- सन् २०२२ मा कतारमा सम्पन्न फिफा विश्वकप फुटबलको उपाधि अर्जेन्टिनाले जित्दा उसका कप्तान लियोनल मेस्सीले लगाएकामध्ये ६ वटा जर्सी बिक्री गरिएको छ ।

अमेरिकाको न्यूयोर्कको सोथेबी अक्सनमा मेस्सीका जर्सीहरू ७.८ मिलियन अमेरिकी डलरमा बिक्री भएको बीबीसीले जनाएको छ ।


अर्जेन्टिनाले फ्रान्सलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै मेस्सीको कप्तानीमा अर्जेन्टिनाले विश्वकपको उपाधि जितेको थियो ।

फाइनलको पहिलो हाफ, सेमिफाइनल, क्वार्टरफाइनल, प्रि-क्वार्टरफाइनल र समूह चरणका दुई खेलमा लगाइएका जर्सीहरू लिलामीबाट बिक्री गरिएका हुन् ।

८ पटक बालोन डी'ओर जितेका मेस्सीले एकै संस्करणको विश्वकपको समूह चरण, प्रि-क्वार्टरफाइनल, क्वार्टरफाइनल, सेमिफाइनल र फाइनलमा गोल गर्ने पहिलो खेलाडी बन्ने कीर्तिमान कायम गरेका थिए ।

अर्जेन्टिनाले विश्वकपको उपाधि जित्दा मेस्सीले सात वटै खेल खेलेका थिए ।

सोथेबीले जनाएअनुसार लिलामीबाट प्राप्त रकमको एक भाग लियो मेस्सी फाउन्डेशनको सहयोगमा सान्ट जोन डे डेउ बार्सिलोना बाल अस्पतालको नेतृत्वमा युनिकास परियोजनालाई दान गरिनेछ, जसले दुर्लभ रोगबाट पीडित बालबालिकाको आवश्यकताहरू पूरा गर्नेछ ।

 


Author

थप समाचार
x