फुटबल

बुन्डेसलिगाः प्रशिक्षक गुमाएको बायर्नको भेट होफेनहाइमसँग

इकागज |
कात्तिक ६, २०७८ शनिबार १७:१३ बजे

काठमाडौँ- जर्मन बुन्डेसलिगामा च्याम्पियन बायर्न म्युनिखले शनिबार साँझ होफेनहाइमको सामना गर्दैछ । संयोगवश होफेनहाइम युलियान नागल्सम्यानको पूर्वक्लब हो । नागल्सम्यान हाल बायर्नका प्रशिक्षक छन् । तर शनिबारको खेलमा नागल्सम्यान मैदानमा उपस्थित हुने छैनन् । गत बुधबार च्याम्पियन्स लिगको खेल दौरान पनि उनी बायर्नको बेन्चमा थिएनन् । 

कोभिड–१९ को संक्रमणमा परेका कारण नागल्सम्यान च्याम्पियन्स लिगमा बेनफिकाविरुद्धको खेलमा नदेखिएका हुन् । यही कारण उनले शनिबारको खेल पनि गुमाउँदै छन् । खेलस्थल आलियान्ज एरिनामा नहुने भएपनि उनले टेलिफोन वा अन्य माध्यमबाट टिमका लागि निर्देशन पठाउने अनुमान गरिएको छ । 


बुन्डेसलिगामा हाल दोस्रो स्थानमा रहेको बोरुसिया डर्टमन्डले पनि शनिबार नै आफ्नो नऔँ खेल खेल्दैछ । डर्टमन्डले अंक तालिकामा पुच्छारबाट दोस्रो स्थानमा रहेको अर्मिनिया बेलेफेल्डको भ्रमण गर्दैछ । उता आरबी लाइपजिगको भेट ग्रुथर फर्थसँग हुँदैछ । यसै सिजन बुन्डेसलिगामा बढुवा भएको टिमसँग भिड्दा लाइपजिग अनिवार्य जितको खोजीमा हुनेछ । च्याम्पियन्स लिगमा पेरिस सेन्ट जर्मेनसँग हार बेहोरेको लाइपजिगको लय सन्तोषजनक छैन । उसले यसपाली लिगमा आठ खेलमध्ये तीनमा मात्रै जित हासिल गरेको छ । 

जर्मन लिगकै अन्य खेलमा उल्फ्सबर्गले फ्राइबर्गको सामना गर्दैछ । फ्राइबर्गविरुद्धका पछिल्ला सात खेलमा उल्फ्सबर्गले जित निकाल्न सकेको छैन । यसकारण शनिबारको खेल उल्फ्सबर्गका लागि जितविहिन लयलाई टुंगाउने मौका बन्न सक्छ । अर्को खेलमा हेर्था बर्लिन र बोरुसिया मन्चुनग्लाडबागको भडिन्त हुनेछ । 


Author

थप समाचार
x