फुटबल

च्याम्पियन्स लिग

प्रतिष्ठाको भिडन्तमा म्यानचेस्टर सिटी र पीएसजी, रियललाई सेरिफको डर

इकागज |
मंसिर ८, २०७८ बुधबार २०:३० बजे

काठमाडौँ- युरोपियन क्लब फुटबलको सर्वोच्च प्रतियोगिता च्याम्पियन्स लिगका खेलहरू बुधबार राति पनि जारी रहनेछन् । यस्तोमा म्यानचेस्टर सिटी र पेरिस सेन्ट जर्मेन (पीएसजी) बीचको खेल सबैभन्दा रोचक हुने अनुमान गरिएको छ । यी दुई टिममध्ये सिटी समूह 'ए' को शीर्षस्थानमा छ । सिटीको तीन खेलबाट नौ अंक छ । दोस्रो स्थानमा रहेको पीएसजीको खातामा सिटीको भन्दा एक अंक कम छ । 

यो समूह मा क्लब ब्रग र आरबी लाइपजिग पनि छन् । ब्रगले हालसम्म चार अंक बटुलेको छ । जर्मन क्लब लाइपजिगसँग चार खेलबाट एक अंक छ । यी दुई क्लबले च्याम्पियन्स लिगको अर्को चरणमा स्थान बनाउने सम्भावना छैन । त्यसैले समूह विजेता र उप–विजेता बनेर अन्तिम १६ मा पुग्ने दौडमा सिटी र पीएसजी छन् । यदि लाइपजिगले बुधबार राति ब्रगलाई हराउने हो भने सिटी र पीएसजीले प्रि–क्वार्टरफाइनलमा स्थान पक्का गर्नेछन् । समूह विजेता बन्नका लागि भने सिटीले पीएसजीलाई पराजित गर्नै पर्नेछ । 


सिटी र पीएसजीबीचको पछिल्लो भेटमा फ्रेन्च टिमले बाजी मारेको थियो । त्यो खेलमा लियोनल मेस्सीले पनि गोल गरेका थिए । तसर्थ इतिहादमा हुने दोस्रो लेगमा भने सिटीलाई जित्नै पर्ने दबाब छ । यद्यपि सिटीका लागि यस्तो नतिजा निकाल्न सहज भने हुने छैन । किनभने सिटीका महत्वपूर्ण खेलाडी केभिन डे ब्रुएना कोभिड–१९ संक्रमणका कारण खेलमा अनुपस्थित हुनेछन् । उता माउरियो पोचेटिनोका सामु आफूलाई प्रमाणित गर्नुपर्ने चुनौती पनि छ । म्यानचेस्टर युनाइटेडको प्रशिक्षक बन्ने हल्ला चलिरहँदा पोचेटिनोको ध्येय सिटीलाई हराएर आफू ओले गनर सोल्स्यारको स्थान लिन उपयुक्त प्रशिक्षक भएको सन्देश दिनमा छ । 

बुधबार राति नै लिभरपुल र एफसी पोर्टोको भेट हुँदैछ । अन्तिम १६ का लागि पहिल्यै छनौट भइसकेको लिभरपुलका लागि एनफिल्डमा हुने खेल आफ्ना युवा खेलाडीहरूलाई खेलाउने मौका हो । यो समूहमा लिभरपुलले पहिलो स्थान कब्जा जमाइसकेकाले अन्य टिमबीचको लडाइँ दोस्रो स्थानका लागि हो । हाल पोर्चुगिज क्लब पोर्टो दोस्रो स्थानमा छ । उसको खातामा चार खेलबाट पाँच अंक छ । तेस्रो र चौथो स्थानमा एट्लेटिको म्याड्रिड र एसी मिलान छन् । यी दुई टिम पनि बुधबार राति नै आमनेसामने हुँदैछन् । 

वान्डा मेट्रिपोलिटानोमा हुने खेलमा दुवै टिमले जित्नै पर्ने आवश्यकता छ । पोर्टो पराजित भए अनि एट्लेटिकोले जित हात पारे, स्पेनिस टिमले दोस्रो स्थानमाथि कब्जा जमाउनेछ । मिलान विजयी भएमा चाहिँ उसको र एट्लेटिकोको अंक बराबरी हुनेछ । याे खेलको नतिजा मुख्यगरी दुई खेलाडीको प्रदर्शनमा निर्भर रहन सक्छ । यी खेलाडी हुन्, एन्टोइन ग्रिजमन र ज्लाटन इब्राहिमोभिच । 

समूह सीमा पनि मुख्य प्रतिस्पर्धा दोस्रो स्थानका लागि हो । किनभने पहिलो स्थानको आयाक्स र अन्य तीन टिमबीचको दूरी लामो छ । दोस्रो र तेस्रो स्थानमा रहेको बोरुसिया डर्टमन्ड र स्पोर्टिङ लिस्बनको ६–६ अंक रहेकाले यी दुवै टिमको नजर दोस्रो स्थानमाथि छ । 

समूह डी मा भने पहिलो स्थानकै लागि प्रतिस्पर्धा जारी छ । यो समूहमा हाल रियल म्याड्रिड नौ अंकसहित पहिलो स्थानमा छ । रियललाई इन्टर मिलानलाई पछ्याइरहेको छ । इटालियन च्याम्पियनको खातामा सात अंक छ । उसकोभन्दा एक अंक कम एफसी सेरिफको छ । माल्डोभाको यो क्लबले चार खेलबाट ६ अंक बटुलेको छ । बुधबार राति सेरिफले रियललाई स्वागत गर्दैछ । यो अवे खेलमा जित हासिल गरे रियल समूह विजेता बन्दै अन्तिम १६ मा पुग्नेछ । पहिलो लेगमा रियलले आफ्नै मैदानमा युरोपियन क्लब फुटबलमा कम परिचित सेरिफसँग अप्रत्याशित पराजय भोगेको थियो । यसकारण पनि दोस्रो लेगका लागि कार्लो एनसिलोट्टी संयमित छन् । यही समूहको अर्को खेलमा इन्टर र शाख्तर डोनेस्कबीच भिडन्त हुँदैछ । जितले इन्टरलाई कमसेकम समूह उप–विजेता बनाउनेछ । 


Author

थप समाचार
x