घटना-दुर्घटना

सवारी दुर्घटनामा ५ जनाको मृत्यु

इकागज |
पुस १७, २०७८ शनिबार २१:४ बजे

काठमाडौं - सवारी दुर्घटनामा चार ठाउँमा पाँच जनाको ज्यान गएको छ । कतै ट्याक्टर, कतै गाडीको ठक्कर र कतै मोटर साइकल दुर्घटनामा पाँच व्यक्तिको ज्यान गएको हो । काभ्रेपलाञ्चोक बनेपा नगरपालिका–७ पुरानो तरकारी बजार अगाडि नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही नगरपालिका–८ तिनधार बस्ने ६० वर्षीय नुछेलाल मानन्धरको शनिबार बिहान मृत्यु भएको छ । प्रहरीका अनुसार, ठक्करबाट गम्भीर घाइते भएका उनको शीर मेमोरियल अस्पताल बनेपामा उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने मोटरसाइकलको प्रहरीले खोजी गरिरहेको छ । 

नेपाल प्रहरीका अनुसार, पर्साको जिराभवानी गाउँपालिका–५ स्थित भलुवाही खोलामा ना६त ९२५८ नम्बरको ट्याक्टरको ठक्करबाट त्यही ठाउँका लक्ष्मी भैया थारुको शुक्रबार दिउँसो मृत्यु भएको छ । ट्याक्टर ठक्करबाट ४० वर्षीय थारु गम्भीर घाइते भएकी थिइन् । उनको उपचारका लागि नारायणी अस्पताल वीरगंजतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


त्यसरी नै चितवन, इच्छाकामना गाउँपालिका–३ नारायणगढ मुग्लिङ सडकमा ग.१ज. ७१७० नम्बरको सुमो गाडीले प्रदेश ३–०२–००७ प ६३३० नम्बरको मोटरसाइकललाई शुक्रबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक काठमाडौं कपन बस्ने २० वर्षीय प्रवेश ढकाल र त्यही ठाउँका १९ वर्षीय आयुषकुमार खडकाको मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनीहरुको उपचारका लागि भरतपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । सुमो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कास्की, पोखरा महानगरपालिका–६ वडा कार्यालयस्थित सडकमा ग.२ च १११८ नम्बरको गाडीको ठक्करबाट पैदलयात्री पोखरा महानगरपालिका–१७ पाल्पाली बस्ने स्याङजा फेदीखोला–५ मटिखान घर भएका ४० वर्षीय सुनिल गुरुङको गए राति मृत्यु भएको छ । 

ठक्करबाट गम्भीर घाइते भएका उनको मेट्रोसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै गाडीको ठक्करबाट घाइते भएका पोखरा महानगरपालिका–१३ काहुँखोला बस्ने २२ वर्षीया सलिना बरालको सोही अस्पतालमा उपचार भइरहेको छ । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
 


Author

थप समाचार
x