संसद्

राजनीतिको अपराधीकरण र अपराधको राजनीतिकरण कांग्रेसलाई स्वीकार्य छैन : गगन थापा

इकागज |
भदौ १२, २०८० मंगलबार १५:४ बजे

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राजनीतिको अपराधीकरण र अपराधको राजनीतिकरण नेपाली कांग्रेसलाई स्वीकार्य नभएको बताएका छन् ।

सोमबार प्रतिनिधि सभा बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८० माथिको सामान्य छलफलमा भाग लिँदै सांसद थापाले सो विधेयकमार्फत जघन्य अपराधीलाई जोगाउने प्रावधान ल्याइएको भन्दै त्यसको विरोध गरेका हुन् । उनले कांग्रेसलाई राजनीतिक अपराधीकरण र अपराधको राजनीतिकरण स्वीकार्य नभएको भन्दै यो विधेयकको भारी नबोक्न कानुनमन्त्रीलाई आग्रह गरे ।


सांसद थापाले बहुमतको आधारमा सरकारले संसदलाई हेप्ने गरेको भन्दै आफूहरू हेपिने कि नहेपिने यसपटक देखाउनुपर्ने बताए ।

उनले भने, ‘यो विधेयकमा मुलुकी फौजदारी संहिताको संशोधनमार्फत जघन्य अपराधमा जोगाउने गरी जुन प्रावधान ल्याएको छ, नेपाली कांग्रेसको तर्फबाट म प्रष्ट भन्न चाहन्छु, राजनीतिक अपराधीकरण र अपराधको राजनीतिकरणको व्यवस्था हामीलाई स्वीकार्य छैन । माननीय कानुनमन्त्रीलाई मेरो आग्रह पनि छ, २०७४ पछि बनेको सरकारले लेखेको ड्राफ्ट हो यो । यसको भारी नबोक्नुस् । यसलाई बिसाउनुस् । यसलाई हटाउनुस् ।’

उनले वातावरण संरक्षण ऐनमा मन्त्रालयले स्वीकृत गर्ने इआइएको प्रावधान मन्त्रालयले स्वीकृत भए पनि अहिले विभागबाट गर्ने भनेर ल्याइएको प्रति पनि विरोध जनाए ।


Author

थप समाचार
x