दल

सत्तारूढ गठबन्धन भत्किनेप्रति केपी ओलीको आशंका

इकागज |
फागुन २, २०७९ मंगलबार १८:१९ बजे

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारूढ गठबन्धन भत्किनेप्रति आशंका व्यक्त गरेका छन् ।

मंगलबार अनेरास्ववियुको २३ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले वर्तमान सत्तारूढ गठबन्धन भत्किनेप्रति आशंका व्यक्त गरेका हुन् । उनले संसद्को बनावट अस्थिरताको कारक हुनेखालको रहेको भन्दै गठबन्धन भत्किनेप्रति शंका व्यक्त गरे । उनले देशभित्रका र बाहिरका शक्तिहरू देशलाई बर्बाद पार्न लागेका बताए ।


एमाले देशलाई बर्बाद पार्नबाट रोक्ने गेटपाले भएको भन्दै उनले सबैभन्दा पहिले एमालेलाई प्रहार हुनसक्ने आशंका व्यक्त गरे । उनले देशमा स्थिरता र स्थायित्व हुन नदिका लागि अनेक प्रकारका षड्यन्त्रहरू भइरहेका बताए ।

अध्यक्ष ओलीले विगतमा नेपालको शिक्षालाई बुर्जुवा शिक्षा भनेर प्रचार गरिनु गलत भएको उल्लेख गरे । कसैले पनि संस्थागत रूपमा शिक्षालाई बुर्जुवा शिक्षाको उपमा दिएर बहिष्कार गर्न नभनेको भएपनि कुनै व्यक्तिको लहडको भरमा त्यसो भनिएको उनकाे तर्क छ । उनले अनेरास्ववियुमा आबद्ध विद्यार्थीहरू राम्रोसँग पढेर राम्रो नतिजा ल्याउनेखालको हुनुपर्ने बताए ।

कुनै पनि बहानामा आफ्नो पढ्ने काम नछोड्न उनले विद्यार्थीहरूलाई आग्रह गरे ।

अध्यक्ष ओलीले अनेरास्ववियुको नेतृत्वका लागि सहमतिको प्रयास गर्न आग्रह गरे । उनले अनेरास्ववियु उद्देश्य बोक्ने संस्था भएको भन्दै महत्वाकांक्षा बोक्नु नहुने बताए ।


Author

थप समाचार
x