दल

संसद् अवरोध हामीले होइन्, सरकारले गरिरहेको छ : एमाले सचेतक बर्तौला

इकागज |
साउन १६, २०८० मंगलबार १३:८ बजे

काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद् अवरोध आफूले नभएर सरकारले गरिरहेको बताएको छ । एमालेका सचेतक महेश बर्तौलाले सरकार संसद् चलोस् भन्ने पक्षमा नरहेको बताए ।

इकागजसँगको संक्षिप्त कुराकानीमा बर्तौलाले एमालेका कारण संसद् अवरोध भयो भनिए पनि वास्तविक रूपमा सरकारका कारण भइरहेको प्रष्ट्याए । एमाले केबल सुन तस्करीको छानबिनका लागि उच्च स्तरीय छानबिन समिति गठन गर्नुपर्छ भनिरहेको उनको भनाइ । 


आफूहरू बैठककै लागि संसद् भवन गइरहेको बताउँदै उनले भने, ‘संसद् सरकारले बन्द गराएको छ । हामी यसमा दु:खी छौँ । सरकारले अनावश्यक अडान राखेर एकातिर संसद्‌लाई बिजनेस लिइरहेको छैन अर्कातिर अवरुद्ध पारिरहेको छ । अब के हुन्छ भन्ने कुरा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मात्र थाहा छौँ । हामी त बैठकका लागि संसद् बैठक जाँदैछौँ ।’

सुन तस्करी प्रकरणमा सरकारले तस्करहरूको संरक्षण गरेको उनको आरोप छ । सरकारको मिलेमत्तोमा सुन तस्करी गर्न नपाइने उनले बताए । ‘सरकारले सुन तस्करको संरक्षण गरिरहेको छ । सुन तस्करीको छानबिन गर्न हामीले संसद् बैठकमा माग गरिरहेका छौँ आजको बैठकमा पनि त्यही गर्छौँ,’ उनले भने, ‘तर संसद्‌ अवरोध गर्दैनौँ ।’

सरकारले वार्ताका लागि कुनै पहल नगरेको पनि उनको भनाइ छ । 

आज मंगलबार दिउँसो १ बजेका लागि प्रतिनिधिसभा बैठक बोलाइएको छ । सोमबारको बैठक सत्ता पक्ष र एमालेबीच संसद् अवरोध हटाउने विषयमा सहमति हुन नसकेपछि आजसम्मका लागि स्थगित भएको थियो ।

संसद् खुलाउने विषयमा निकास खोज्न सोमबार बिहान प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको थियो । तर, उक्त भेटवार्ताबाट समाधान निस्कन सकेन ।

यसै विषयमा छलफल गर्न सभामुख देवराज घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । घिमिरेले सत्तापक्ष र प्रतिपक्षी दलका नेताहरूसँग परामर्श गर्दैछन् । 

सुन तस्करी प्रकरणमा उच्च स्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग राख्दै एमालेले साउन १० गतेदेखि संसद् अवरोध गर्दै आएको छ । 
 


Author

थप समाचार
x