दल

बिनासर्त एउटा संसदीय समितिको नेतृत्व राप्रपाले पाएको हो : लिङ्देन

इकागज |
भदौ १२, २०८० मंगलबार २०:३ बजे

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले बिनासर्त आफ्नो पार्टीले एउटा संसदीय समितिको नेतृत्व गर्ने मौका पाएको बताएका छन् ।

कोशी प्रदेशको सरकारमा सहभागी गराउन सत्तापक्षले राप्रपालाई एउटा संसदीय समितिको नेतृत्व दिएको चर्चा भइरहँदा उनले बिना कुनै लेनदेन आफूहरूले संसदमा आफ्नो सिट संख्याको आधारमा पूर्वाधार विकास समितिको नेतृत्व पाएको स्पष्टीकरण दिएका हुन् ।


मंगलवार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा अध्यक्ष लिङ्देनले एमालेले आफ्नो सिट संख्याको आधारमा तीन वटा समितिको नेतृत्व पाएजस्तै आफूहरूले पनि त्यसैलाई आधार मानेर एउटा समितिको नेतृत्व गर्ने मौका पाएको बताए । उनले सो अवसर उपलब्ध गराएको भन्दै प्रमुख ३ दलप्रति आभार समेत व्यक्त गरे ।

अध्यक्ष लिङ्देनले कोशी प्रदेशको सरकार कांग्रेस र एमाले मिलेर बनाउँदा उपयुक्त हुन्छ भन्ने आफूहरूको अडान कायमै रहेको समेत बताए ।

अध्यक्ष लिङ्देनले कोशी प्रदेशलाई मध्यावधि निर्वाचनमा जान नदिने विभिन्न उपायहरू रहेको उल्लेख गर्दै त्यसमा दलहरूबीच छलफल हुने र निकास निस्कने बताए । 


Author

थप समाचार
x