दल

'सार्वजनिक कार्यालय कब्जा गर्ने र त्यसको दुरुपयोग गर्ने कुराको हामी कल्पनासमेत गर्न सक्दैनौँ'

इकागज |
पुस ४, २०८० बुधबार १५:२१ बजे

काठमाडौँ- नेपाली कांग्रेस पाल्पा जिल्ला सम्मेलनको उद्घाटन सत्रका विषयमा सामाजिक सञ्जाल र केही सञ्चार माध्यममा आएका चासो र टिप्पणीप्रति नेपाली कांग्रेस पाल्पाको गम्भीर ध्यानाकर्षण भएको छ ।

गत आइतबार जिल्ला सभापति हिमाल दत्त श्रेष्ठद्वारा जारी विज्ञप्तीमा साेबारे गम्भीर ध्यानाकर्षण भएको जनाइएकाे हाे ।


विज्ञप्तीमा भनिएकाे छ, 'जिल्ला सम्मेलनका निम्ति तानसेन नगरपालिकाको सभा हल भाडामा लिएको र हलमा उपस्थिति संख्या हाम्रो अनुमानभन्दा धेरै भई कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाको सम्बोधन बाहिरबाट सुन्न पाउनुपर्छ भन्ने दबाब आएपछि आकस्मिक रूपमा महामन्त्रीको सम्बोधन नगरपालिकाको बरण्डाबाट भएको बेहोरा हामी स्पष्ट गर्न चाहन्छौं ।'

कुनै सरकारी वा सार्वजनिक सम्पत्ति वा कार्यालय कब्जा गर्ने र त्यसको दुरुपयोग गर्ने कुराको कल्पनासमेत गर्न नसक्ने विज्ञप्तीमा भनिएकाे छ ।

'कुनै सरकारी वा सार्वजनिक सम्पत्ति वा कार्यालय कब्जा गर्ने र त्यसको दुरुपयोग गर्ने कुराको हामी कल्पनासमेत गर्न सक्दैनौँ । आकस्मिक रूपमा भएका कतिपय निर्णयहरू त्रुटिपूर्ण हुनसक्छन् त्यसबाट सिक्नु र सच्याउनु पनि लोकतन्त्रको मर्म हो । कसैको मानमर्दन गर्नु र कसैलाई विवादमा पार्नु पनि हाम्रो ध्येय हुनै सक्दैन । कार्यक्रममा भएको त्रुटीप्रति क्षमायाचना गर्दै आगामी दिनमा यस्ता गतिविधिमा निकै सचेत रहने प्रतिबद्धता जाहेर गर्दछौँ,' उल्लेख छ ।

नेपाली कांग्रेसको पाल्पा जिल्ला सम्मेलन गत मंसिर ३० गते तानसेन नगरपालिकाको भवनमा भएको थियो । नगरपालिकाको मुल ब्यानर छोपेर नेपाली कांग्रेसको ब्यानर राखिएको थियो । नगरपालिकाकाे भवनभरी नै कांग्रेसको झण्डा र ब्यानर टाँगेर कार्यक्रम गरिएपछि आलोचना भएको थियो ।


Author

थप समाचार
x