दल

माओवादी केन्द्रले प्रदेश २ मा दुई सय ७१ सदस्यीय कार्यसमिति बनाउने

सुभाष कर्ण |
पुस ४, २०७८ आइतबार १७:५३ बजे

जनकपुरधाम- नेकपा माओवादी केन्द्र प्रदेश २ को प्रथम अधिवेशनले २ सय ७१ सदस्यीय कार्यसमिति बनाउने निर्णय गरेकाे छ । आइतबार सर्लाहीको लालबन्दीमा सम्पन्न बन्द सत्रमा प्रत्येक जिल्लाबाट साधारण सदस्यको संख्याको आधारमा १७ देखि २२ सदस्य चयन गरि २ सय ७१ सदस्यीय कार्यसमिति गठन गर्ने निर्णय गरेकाे केन्द्रीय सदस्य जगत यादवले जानकारी दिए  ।

उनले भने, 'पदाधिकारी चयनमा विवाद बढदै जाँदा हाललाई २ सय ७१ सदस्य चयन गर्ने र सोको जिम्मेवारी जिल्ला अध्यक्षहरुलाई नै दिने गरी निर्णय गरिएको छ । सुरुमा २ सय ४१ सदस्यीय कार्यसमिति चयन गर्ने निर्णय गरिएको थियो ।'


तर जिल्लाहरुबाट अत्यधिक प्रतिनिधि आएका शनिबार हुने भनिएको बन्दसत्र स्थगित गरिएकाे थियो । त्यसपछि सर्वसम्मत रुपमा पदाधिकारी तथा सदस्य पछि चयन गर्ने गरी २ सय ७१ सदस्यीय बनाउने र सोको जिम्मेवारी जिल्ला अध्यक्षहरुलाई नै दिने सहमति गरिएको हो ।

उनका अनुसार जिल्लाबाट सर्वसम्मतिले सदस्य नामावली आइसकेपछि पुस २० गते पार्टी अध्यक्ष पुष्पकमल दाहालको आतिथ्यमा हुने घोषणा सभाबाट पदाधिकारी चयन सहितको नामावली सार्वजनिक गरिनेछ ।

प्रादेशिक समिति नेतृत्वका लागि आधा दर्जनभन्दा बढी आकांक्षी देखिएपछि विवाद उत्पन्न भएको थियो  । श्रोतका अनुसार रामकुमार शर्मा, श्रवण साह, अशोक साह, अजय शंकर नायक र दिलिप साहलगायतका नेताहरुले नेतृत्वका लागि दाबी गरेका थिए ।

प्रदेश २ मा मातृका यादव र नारायणकाजी श्रेष्ठ गरी दुई समूह आ-आफ्नो दाबी गरेका छन् । दुईवटै समूहले आ-आफ्नो तर्फबाट दाबीहरु प्रस्तुत गरेको कारण विवाद उत्पन्न भएको थियो । सहमति हुन नसक्दा कार्यसमिति सदस्य संख्या तोकेर बन्द सत्र सकिएको हो । केन्द्रबाट अध्यक्ष दाहालले ११ गतेअघि नै सहमति गर्न निर्देशन दिएका थिए ।
 


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x