दल

माओवादीको महाधिवेशन : न बहस, न केन्द्रीय समितिको पूर्णता

इकागज |
पुस १८, २०७८ आइतबार २१:४३ बजे

काठमाडौं - उद्घाटन हुनु भन्दा केही घण्टा अघिमात्र सत्तारुढ नेकपा माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण गरेको थियो । कार्यक्रमस्थलदेखि कतिपय चोकमा राष्ट्रिय सम्मेलन लेखिएका बोर्ड फेर्न आयोजकलाई हैरानी भएको थियो । 

पहिलाको राष्ट्रिय सम्मेलन र पछि महाधिवेशनको उद्घाटन हुनु अघिको पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता कृष्णबहादुर महराले माओवादी पार्टी सदस्य संख्या ७ लाख ६ हजार ५०० पुगेको र यो संख्या ८ लाख पुग्ने अनुमान गरिएको बताएका थिए । 


७ लाख बढी सदस्य रहेको दाबी गरिएको र संसदको तेस्रो ठूलो दल नेकपा माओवादीले राष्ट्रिय सम्मेलन कि महाधिवेशन भनेरनै निर्णय गर्न नसकेको र केही घण्टामा नै फेरिने चरित्र देखाएको भन्दै सामाजिक सञ्जालमा आलोचना  भएको थियो । त्यसमा पनि अध्यक्ष प्रचण्डलाई 'महाधिवेशन पो गरौं कि क्या हो?' भन्ने लागेपछि एकाएक राष्ट्रिय सम्मेलनबाट महाधिवेशनमा रुपान्तरण भएको भन्दै कटाक्षसमेत भएका थिए। 

जे होस् माओवादीले ८ औं महाधिवेशन सम्पन्न गरेको छ। प्रचण्डमाथि महाधिवेशन गर्ने सोच हुँदा हुँदै पनि सुरुमा राष्ट्रिय सम्मेलन भनेर नेता कार्यकर्ता अलमलमा पारेको आरोप पनि नलागेको भने होइन । 

विचारको बहस!
माओवादीका नेताहरुले आफूहरुको पार्टी अन्य संसदवादी दलहरुजस्तो पदका लागि मात्र कुद्ने र महाधिवेशन भनेको नेतृत्व चयनमा मात्र केन्द्रीत नहुने भन्दै बहसलाई प्राथमिकता दिएको बताएका थिए । विचारको बहसका लागि आफूले राजनीतिक प्रस्ताव तयार गरेको र माओवादीको दस्तावेजले देशमा 'हलचल' नै ल्याउने खालको अभिव्यक्ति प्रचण्डले दिएका थिए । त्यसमा मनथन गरेर देश विकासको खाका अघि बढाउने र पार्टीलाई पनि उर्जावान बनाउने घोषणा उनले गरेका थिए । तर, उनले बन्दसत्रमा पेस गरेको राजनीतिक प्रस्तावमा त्यस्तै कुनै 'महानतम' चिज भएको चर्चा सुनिएको छैन ।

महाधिवेनमा आएका प्रतिनिधिले २५ समूह बनाएर दुई दिन छलफल गरे र अब  यो प्रतिवेदनपछि पार्टी सुध्रिन्छ वा रुपान्तरण हुन्छ भन्ने भन्दा पनि प्रचण्ड तर्फनै बढी औंला सोझ्याए । उनको जीवनशैली र घरभेटीबारे बारम्बार प्रश्न गरे । नेताहरुको जीवनशैलीबारे चर्को आलोचना भयो । यसअर्थ प्रचण्ड र माओवादी शीर्ष नेतृत्वले भने जस्तो महाधिवेशन विचारको बहस गर्ने थलो त बन्यो तर चर्चा गरिएजस्तो विचारको बहस हुन सकेको देखिएन । 

प्रचण्डको राजनीतिक प्रस्तावमाथि उठेका विभिन्न प्रश्नबारे जवाफ दिँदै उनले फरक मत र पुरक प्रस्तावलाई समेटेर प्रतिवेदन तयार गर्ने भन्दै बन्दसत्रमा भाषण गरे। तर त्यस अनुसार उनले संशोधन गरेनन् । बरु उनले आफ्नो प्रतिवेदन मान्य रहेको भन्दै हलबाट पारित गराए ।  उक्त प्रतिवेदनमा समूहगत छलफलमा उठेका विषय अब प्रचण्डले समावेश गर्छन् वा झारा टार्ने हिसावमा मात्र विषयलाई समेट्छन् ? महाधिवेशन सकिएको घोषणा भएपछि प्रस्तावमा सामान्य रुपमा समेटिने विषयले माओवादी कार्यकर्तालाई कति प्रभाव पार्ला ?

सकियो कि सकिएन दोधारमा प्रतिनिधि
११ देखि १८ सम्म आठ दिन देशभरबाट आएका एक हजार ६ सय ३१ प्रतिनिधिले महाधिवेशनमा सहभागिता जनाए । दुई दिन प्रचण्डको प्रतिवेदनमाथि र दुई दिन टोली नेताको प्रस्तुतिलाई सुनेका उनीहरुले आइतबार साँझ प्रचण्डले केन्द्रीय सदस्यहरुको घोषणा गरेको हलभित्र बसेर सुने । 

त्यसअघि माओवादीमा पनि केन्द्रीय पदाधिकारी र सदस्यका लागि चुनाव हुन लागेको भन्दै धेरै आश्चर्यमा परेका थिए । ओवादीले लोकतान्त्रिक पद्दतीबाट भन्दा पनि टिके प्रथाबाट केन्द्रीय सदस्य चयन गर्दै आएको यसअघिको परम्परालाई तोड्न लागेको हो? भन्ने चासो रहेको थियो । तर निर्वाचनमा जान शीर्ष नेतृत्व तयार थिएन । जसका कारण विभिन्न समूहगत रुपमा मिलाएर २९९ मध्ये २३६ केन्द्रीय सदस्यको घोषणा प्रचण्डले गरे । आठ दिनसम्मको महाधिवेशन उत्सवमा पनि प्रचण्डले ६३ जना को चयन गर्न सकेनन् । पदाधिकारी चयन पनि आजै गरिने आशा नेता कार्यकर्तामा थियो। तर प्रचण्डले सहमति नजिक पुगेको भन्दै भोलि टुंगो लाग्ने भन्दै यसलाई पनि पन्छाइदिए । 

महाधिवेशन आयोजना स्थलबाट माओवादीले व्यानर लगायतका सामाग्री हटाइसकेको छ र औपचारिक रुपमा महाधिवेशन सकिएको प्रेस विज्ञप्ति जारी भइसकेको छ। महाधिवेशन सकिएको हो र? भन्दै प्रतिनिधिहरु भने प्रश्न गरिरहे्का छन् । किनकी महाधिवेशनबाट कमिटीले नै पूर्णता पाउन सकेन । समग्रमा भन्दा माओवादीको महाधिवेशनबाट प्रतिनिधि र माओवादी कार्यकर्ताले न वैचारिक स्पष्टता पाए र केन्द्रीय समिति, पदाधिकारी पाउन सके । चुनाव नजिकै आउँदा महाधिवेशनपछि नेता कार्यकर्तामा जुन खालको उत्साहको सञ्चार हुने अनुमान गरिएको थियो त्यस अनुसार माओवादी महाधिवेशन सफल हुन सक्यो वा सकेन भन्ने आगामी दिनमा देखिनेनै छ। 


Author

थप समाचार
x